दसौँ राष्ट्रिय खेलकुद ः चुनौतीका चाङमाथि आयोजना गर्नुपर्ने बाध्यतामा कर्णाली

सुर्खेत ः २०८१ मंसिर २ देखि ९ सम्म हुने दसौँ राष्ट्रिय खेलकुद आयोजनाको पूर्व तयारीमा कर्णाली जुटिरहेको छ । यद्यपि उक्त बृहत् आयोजनालाई सफल पार्न कर्णालीमाथि चुनौतीका चाङ छन् ।

केन्द्र सरकार तथा आयोजक संस्था राष्ट्रिय खेलकुद परिषद्को बेवास्ताका कारण १० औँ राष्ट्रिय खेलकुद आयोजनाबारे यावत् प्रश्न उठ्न थालेका छन् ।

सुर्खेत वीरेन्द्रनगरमा निर्माणाधीन रंगशालाबाहेक प्रदेशका अन्य जिल्लामा खेलकुद पूर्वाधारको अभाव छ भने स्वयम् कर्णालीलाई खेलकुद प्रतियोगिता लक्षित पूर्व तयारीको लागि समेत बजेट अभाव छ ।

१० औँ राष्ट्रिय खेलकुद आयोजनाको बारेमा गतिविधि बुझ्न यतिबेला अन्य प्रदेशका खेलकुद परिषद् सदस्य सचिवहरु कर्णालीमा छन् । भौतिक संरचनाको अनुगमनपश्चात आइतबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरियो ।

सम्मेलनमा उनीहरुले चुनौतीका चाङमाथि पनि आयोजना सम्पन्न गर्न सकिने अवसर रहेको बताउँदै संघीय सरकार र राष्ट्रिय खेलकुद परिषद्ले विशेष ध्यान दिनुपर्ने बताए ।

अब १० औँ खेलकुद प्रतियोगिता हुन करिब डेढ वर्ष मात्र बाँकी छ । तर, अहिले बन्दै गरेको रंगशालाको हाल ६० प्रतिशत मात्र भौतिक प्रगति भएको छ भने अन्य जिल्लाहरुमा संरचनाको अभाव छ ।

‘१० औँ राष्ट्रिय खेलकुद कर्णालीमा हुने भएपछि सबैको चासो अहिले यहाँ छ,’ कोशी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव हंशराज वाग्ले भन्छन्, ‘सुर्खेतमा निर्माणाधीन रंगशालामा ३३ मध्ये २१र२२ वटासम्म खेल खेलाउन सकिन्छ, त्यस बाहेकका खेलहरु कहाँ खेलाउने भन्ने विषय यथावत् छ ।’

उनले अगाडि भने,‘बाँडेर अन्य जिल्लामा पनि खेल खेलाउने हो भने कतै पूर्वाधार छैन । बसोबास लगायतका यावत् समस्या छन् । त्यसैले, सुर्खेतमै सबै खेल खेलाउन गाह्रो होला भन्ने हो ।’

वाग्लेले सकेसम्म अन्तर्राष्ट्रिय स्तरमा जाने खेलहरुलाई प्राथमिकता दिनुपर्ने बताए । ‘व्यवस्थापनको पाटोमा धेरै ध्यान दिनुपर्छ,’ उनले भने,‘ यसअघि व्यवस्थापनको जिम्मेवारी आफैँले राख्दा थुप्रै कमजोरीहरु भएका छन् । स्वयम् प्रदेशलाई त्यसको जिम्मेवारी दिनुपर्छ ।’ राखेपले कर्णालीमा लगानी गर्नुपर्ने धारणा पनि उनको छ ।

यद्यपि अहिलेसम्म राखेपले कर्णालीबारे कुनै ध्यान नदिएको कर्णाली प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

‘केन्द्र सरकारसँग पनि पटक–पटक बजेटको माग गर्दा पनि सहयोग भएन,’ कर्णाली खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले भने,‘१० वटै जिल्लाको भौतिक संरचनाको विषयमा पनि हामीले छलफल गरेका छौँ । जुन जिल्लामा बसाइँको सहज व्यवस्थापन हुन्छ, त्यहाँ खेल खेलाउने भन्ने कुरा छ । बरु संरचना निर्माण रातारात भएपनि बनाउनुपर्छ भन्ने कुरा हामीले राखेका छौँ ।’

उता बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रदेश रंगशालामा भइरहेको प्रगतिको प्रशंसा गरे । ‘हामी यहाँ अवलोकन गर्न आएका हौँ, यति छिटो गरी रंगशाला निर्माणको प्रगति निकै प्रशंसनीय छ,’ उनले भने,‘उक्त रंगशालाभित्रै २२ वटासम्म खेल खेलाउन सकिन्छ । प्रदेश सरकार आफैँले ८५ करोड बजेट छुट्याएको रहेछ । यद्यपि पूर्वाधारमा केही समस्या हुने देखिन्छ ।’

अवलोकनपछि सदस्य सचिवहरुले कर्णालीमा बन्न लागिरहेको रंगशाला जस्तो अन्त नभएको प्रतिक्रिया दिए ।

‘सहभागितामा मात्र सीमित नहोस्’

पत्रकार सम्मेलनमार्फत् सदस्य सचिवहरुले १० औँ राष्ट्रिय खेलकुद आयोजनालाई सफल बनाउने संयुक्त रुपमा प्रतिबद्धता जनाएका छन् भने संघीय सरकारको बेवास्ताप्रति ध्यानाकर्षण पत्र बुझाउने बताएका छन् ।

कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद सहभागितामा मात्र सीमित नहोस् भन्नेमा चिन्तित हुनुपर्ने उनीहरुको भनाइ छ ।

चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा १० औँ राष्ट्रिय खेलकुद नसमेटिएकोले यथाशीघ्र प्रदेश सरकारसँग समन्वय गरी आवश्यक थप बजेट व्यवस्थापन गर्न युवा तथा खेलकुद मन्त्रालय र राखेपलाई अनुरोध गरिने पत्रकार सम्मेलनमार्फत् सार्वजनिक पत्रमा उल्लेख छ ।

साथै, पत्रमा अगाडि भनिएको छ,‘देश संघीय संरचनामा अगाडि बढेको अवस्थामा विगतका खेलकुद सञ्चालनमा देखिएका कमी कमजोरीलाई १० औँ राष्ट्रिय खेलकुदमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ । तत्काल कानुनमा आवाश्यक संशोधन गरी कर्णाली खेलकुद परिषद्लाई व्यवस्थापकीय पक्षमा पूर्ण जिम्मेवार बनाउन सम्बन्धित निकायलाई आग्रह गर्दछौँ ।’




सम्बन्धित समाचार


error: Content is protected !!