हाँस आए, कुखुरा हराए

किसान भन्छन्– ‘हिमाली क्षेत्रमा पालेको हाासको मासु मीठो हुने भएकाले बजारको समस्या छैन’
मुगु — सोरु गाउँपालिका–७ सीपगाउँका कम्मर विष्टले रैथाने कुखुरा छाडेर हाँस पाल्न थालेको झन्डै ३ वर्ष पुग्यो । कुखुराबाट मासु उत्पादन पनि खासै नहुने र रोग लागेर मर्ने क्रम बढेपछि उनले खोरमा हाँस भित्र्याए । अहिले उनीकहाँ १५ वटा हाँस छन् । ‘पाल्न सजिलो, बजारको समस्या पनि छैन,’ उनले भने, ‘४र५ महिनाका हाँस २ हजार रुपैयाँ गोटामा घरैबाट बिक्री भइरहेका छन् ।’ छिमेकी गोविन्द विष्टले २० वटा हाँस पालेका छन् ।
मुगु सोरु गाउँपालिकाको सीपगाउँमा पालिएका हाँस ।
तराई र पहाडमा मात्र पालिने हाँसप्रति हिमाली जिल्लामा मुगुमा आकर्षण बढ्नुको कारण बस्ती नजिक खोला भएर पनि हो । सीपगाउँमा मात्रै झन्डै ४५ परिवारले हाँस पालेका छन् । करिब २५ सयदेखि २७ सय मिटर उचाइमा रहेको गाउँनजिक सीपखोला छ । हाँसलाई पानी चाहिन्छ, बस्ती नजिकै खोला भएकाले पाल्न सजिलो भएको हो ।
कुखुरा पाल्दै आएको बस्तीमा गाडी पुगेसँगै नेपालगन्जबाट हाँसका चल्ला भित्रिन थालेका हुन् । पाल्न सजिलो लाग्न थालेपछि अधिकांशले कुखुरा छाडेर हाँसपालन गरिरहेका हुन् । ‘हाँसबाट राम्रो आम्दानी गरिरहेका छौं,’ स्थानीय सुर्जा बिष्टले भनिन्, ‘३ महिनामै २र२ हजारका दरले हाँस बेच्दा ४० हजार आम्दानी भयो ।’ ३ महिनाअघि १० वटा हाँस पालेर व्यवसाय सुरु गरेकी उनले यो बीचमा २० वटा हाँस बिक्री गरिन् भने अहिले ३० वटा पालेकी छन् ।
अहिले सीपगाउँका बासिन्दामध्ये धेरैजना दैनिक हाँस बोकेर सदरमुकाम गमगढी जाने र फर्किंदा नुनतेल र चामल किनेर आउने गरेका छन् । तारापानी, बुम्च, कच्चे, कालै, जिमालगायत बस्तीका बासिन्दाले पनि कुखुरा छाडेर हाँस पाल्न थालेका छन् । ‘लोकल कुखुरा ६ महिनामा पनि एक किलो नपुग्ने, ३ महिना हाँस पाल्दा कम्तीमा ३ किलो हुन्छ,’ स्थानीय पवित्रा बिष्टले भनिन्, ‘हिमाली क्षेत्रमा पालेको हाँसको मासु मीठो हुने भएकाले पनि बजार र भाउको समस्या छैन ।’
हुम्लाको सर्केगार्ड र अदानचुली गाउँपालिकाको तुम्च, गल्फागार्डलगायत बस्तीका स्थानीय पनि हाँसप्रति आकर्षित भएका छन् । सीपगाउँमा मात्रै झन्डै ३ हजार हाँस पालिएको पशु प्राविधिक सुरज कार्कीले बताए । उनका अनुसार हाँस पाल्नका लागि घरघरमा काठका खोर बनाइएको छ । उनका अनुसार पोथी हाँसले एकपल्टमा १६ वटासम्म अण्डा पार्ने गरेको छ । ओथारो बसेको करिब २८ दिनपछि हाँसले चल्ला कोरल्ने उनले बताए । ‘हाँसहरू आहारा खोज्न खोलाछेउ र खेतबारीमा जाने गरेका छन्,’ उनले भने, ‘तर स्याल र चिलबाट भने हाँस जोगाउन किसानलाई कठिन हुने गरेको छ ।’ हाँससँगै सहरबाट ब्रोइलर कुखुराका चल्ला ल्याएर पाल्न थालिएपछि रैथाने कुखुरा हराउन थालेको उनले बताए ।
सोरु गाउँपालिकाले यस वर्ष झन्डै १२ सय ब्रोइलर कुखुरा र हाँसका चल्ला स्थानीयलाई वितरण गरेको छ । तराईका हाँस र ब्रोइलर कुखुराहरू पाल्न हिमाली गाउँका किसान उत्साही हुँदै गएको गाउँपालिकाका पशु शाखा प्रमुख पूर्ण सेजुवालले बताए । ‘३ वर्षअघिसम्म यहाँका गाउँबस्तीमा हाँस देखिँदैनथिए,’ उनले भने, ‘अहिले नौला पशुपन्छी पाल्न गाउँलेमा चासो बढ्दै छ ।’
नयाँ जातमा किसानको आकर्षण बढ्दै गएपछि रैथाने कुखुरासहित पशुबस्तुदेखि अन्नबाली संरक्षणमा चुनौती बन्दै गएको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । ‘पशुपन्छी र बालीमा रैथाने प्रजाति संरक्षणमा विशेष पहल थालेका छौं,’ उनले भने, ‘आगामी वर्षदेखि यसलाई अभियानकै रूपमा लैजान २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।’



