नुन नपाउँदा ढुंगामुढा

जुम्ला — पालोमा नुन नपाएको भन्दै सेवाग्राहीहरूले जुम्लास्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालयमा ढुंगामुढा गरेका छन् । चाहिए जति नुन नपाइने र भविष्यमा समेत नुनको अभाव हुनसक्ने हल्ला फैलिएपछि आइतबार नुन लिन आउनेहरूको भिड नै लागेको थियो ।

चन्दननाथ–१० की झुम्का सार्की नुन लिन जाँदा भएको ढुंगामुढाले ज्यानै जोखिममा पर्ने गरेको बताइन् । ‘नुन लिन लाइनमै बसेको थिएँ, लाइनमा रहेको भिड अनियन्त्रित भएपछि हुलदंगा नै भयो । बल्लबल्ल फुत्किएर ज्यान जोगाउन सफल भएँ,’ उनले भनिन् ।

चन्दननाथ–१ तलिचौरमा पुष्कर देवकोटाले धेरै मानिस नुन पाउने आशमा लाइनमा बसे पनि नपाएको बताए । ‘धेरैले नुन पाएनन बरु धकेलाधकेलमा परे । कतिलाई चोट लाग्यो । नुन पाउन सहज नबनेपछि आक्रोश बढ्यो,’ उनले भने, ‘परिस्थिति सम्हाल्नै नसक्ने बन्यो ।’

स्थानीय दोभान शान्ति युवा क्लबले स्वयंसेवक खटाएर भिड नियन्त्रण गर्ने कोसिस गरिरहेको थियो । त्यसले दुई घण्टा जति व्यवस्थापन पनि गर्‍यो । त्यसपछि भने सानो शक्तिले भिड नियन्त्रण गर्ने स्थिति बनेन । नुन लिन गएका अधिकांशले पर्खालबाट मान्छे पस्न थालेपछि आक्रोश व्यक्त गरेका थिए । पालो मिचेर नुन दिन खोज्दा भिड अनियन्त्रित बनेको थियो ।

सुरक्षाको लागि भन्दै सशस्त्र प्रहरी नै साल्ट टेड्रिङको कार्यालयमा पुगेको थियो । प्रहरी पुगेपछि भिड नै आक्रोशित भएर कार्यालय र गोदामका ढोका तोडफोडसमेत भएको थियो ।

अभाव हुने र आफूले चाहे जति नपाउने भएपछि धेरैजसो स्थानीय नुन वितरण गर्ने दिन लाइन लाग्न जाने गर्छन् । तर नुनको अभाव नभएको साल्ट ट्रेडिङ कर्पोरेसन जुम्लाका प्रमुख खगेन्द्र मल्ल बताउँछन् । ‘अलि अगाडि हामीसँग नुनको मौज्दात कमै मात्रामा थियो । प्रतिव्यक्ति ३ किलो मात्रै नुन वितरण गरिरहेका छौं,’ उनले भने, ‘तर असार ३१ पछि प्रतिव्यक्ति पाँच किलो नुन दिने निर्णय गरेका थियौं । त्यही दिनै लफडा भयो ।’

जुम्लाका तिला, तातोपानी, चन्दननाथ, गुठीचौर र पातरासी पाँचवटा पालिकाको लागि जुम्ला विमानस्थल नजिकको डिपोबाट नुन वितरण हुँदै आएको छ । जसका लागि वार्षिक ६ हजार क्विन्टल नुन चाहिन्छ । तर अघिल्लो आर्थिक वर्षमा २५ सय क्विन्टलमात्रै हुँदा चाहिएजति नुन दिन नसकिएको प्रमुख मल्लले बताए ।

‘अहिले भर्खरै २ हजार ८० क्विन्टल नुन थपिएपछि अभाव छैन । म हिजो सिञ्जा नुन झार्न गएको थिएँ,’ उनले भने, ‘आगामी आर्थिक वर्षका लागि पनि ३ हजार क्विन्टलका लागि टेन्डर भइसकेको छ । नुनको अभाव छैन ।’





error: Content is protected !!