व्यावसायिक पशुपालन गर्ने सल्यानका ७ किसान र २ सहकारी पुरस्कृत

सल्यान — व्यावसायिक पशुपालन गर्दै आएका जिल्लाका ७ जना किसान र २ सहकारी मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका छन् । व्यावसायिक पशुपालनमा उत्कृष्ट काम गरेर वार्षिक लाखाभन्दा बढी आम्दानी गर्दै आएका किसान तथा सहकारी पुरस्कृत भएका हुन् ।
मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट पुरस्कृत हुनेमा बिएम कृषि तथा पशुपन्छी फर्म कपुरकोट गाउँपालिका १ की मनकुमारी घर्ती, कर्णाली वाइल्ड लाइफ पन्छी फर्म शारदा नगरपालिका १५ का लक्ष्मण बुढाथोकी, बुढाथोकी मत्स्य एण्ड कृषि फर्म कालीमाटी गाउँपालिकाका केशरसिंह बुढाथोकी, केसी कृषि तथा पशुपन्छी फर्म दार्मा गाउँपालिका ५ की सरिता केसी, जनजागरण गाई फर्म तथा दूध संकलन केन्द्र बाग्चौर नगरपालिका ५ का प्रेमबहादुर भण्डारी, दुरा पशुपन्छी फर्म शारदा नगरपालिका २ की निर्मला दुरा, नविन बाख्रापालन फर्म बन्गाड कुपिण्डे नगरपालिकाकी आशा बुढा मगर रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्दबहादुर महतले बताए ।
यस्तै सहकारी तर्फ पुरस्कृत हुनेमा त्रिबेणी गाउँपालिका १ काभ्रामा रहेको दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारी संस्था र शारदा नगरपालिका ८ मार्केमा रहेको हरियाली भैंसीपालन कृषक समूह छन् । महतका अनुसार पुरस्कृत भएका सबैलाई एक कार्यक्रम गरी सम्मान गरिएको छ । पुरस्कृत भएका सबैलाई सल्यान प्रदेश २ का सांसद सुरेश अधिकारीले दोसल्ला ओढाइ सम्मान गरेका थिए ।



