स्वास्थ्यकर्मीले बोकेर अस्पताल पुर्‍याए रेफ्रिजेरेटर

हुम्ला ः खार्पुनाथ गाउँपालिकाका स्वास्थ्यकर्मी मिलेर आफैले बोकेर रेफ्रिजेरेटर अस्पताल पुर्‍याएका छन् । निर्माण भएको सडक सञ्चालनमा नआएपछि सामुदायिक अस्पतालका लागि अति आवश्यक पर्ने सो मेशिन स्वास्थ्यकर्मीले बोकेर अस्पताल पुर्‍याएका हुन् ।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बलिराज शाहीले अस्पतालका लागि आवश्यक पर्ने आइसलाइन रेफ्रिजेरेटर अस्पतालसम्म ढुवानी गर्ने अन्य विकल्प नभएपछि शाखामा कार्यरत स्वास्थ्यकर्मी मिलेर बोकेर अस्पताल पुर्‍याएको बताउनुभयो ।

सदरमुकाम सिमकोटसम्म हवाईमार्गमा ढुवानी भएर आएको सो मेशिन सिमकोटबाट खार्पुसम्म गाडीमा ढुवानी गरिएको थियो । सङ्घीय सरकारको कार्यक्रमबाट आएको मेशिन तथा उपकरण खरिद कार्यक्रमबाट गाउँपालिकाले सो मेशिन खरिद गरेको जनाएको छ ।

खार्पुबाट गाउँपालिका केन्द्र याङ्चु बजारसम्म सडक निर्माण भएको भए पनि दोजाम कर्णालीमा पुनः निर्माण नभएका कारण मानिसले बोकेर लैजानुको अन्य विकल्प थिएन उहाँले भन्नुभयो । भरिया लगाएर बोकाउनुभन्दा पनि गाउँपालिकाका स्वास्थ्यकर्मी मिलेर बोक्ने निष्कर्ष भएअनुसार उपलब्ध सबै स्वास्थ्यकर्मी मिलेर पालो हालेर बोक्दै अस्पताल पुर्‍याएको उहाँले बताउनुभयो ।

भरिया प्रयोग गरेको भए कम्तीमा बीस हजार रुपियाँ गाउँपालिकाले ढुवानी खर्च गर्नुपर्ने हुन्थ्यो । यसबाट गाउँपालिकालाई आर्थिक व्ययभार समेत स्वास्थ्यकर्मीले जोगाइ दिनुभयो उहाँको भनाइ छ ।

करिब डेढ घण्टा समय लगाएर स्वास्थ्यकर्मीले मेशिन अस्पताल पुर्‍याएको उहाँले बताउनुभयो । मेशिनको वजन १०२ केजी रहेको छ । मेशिन अस्पताल पुगेपछि अस्पतालले भ्याक्सिन तथा प्रसूति गृहमा सुत्केरी गराउने भ्याक्सिन भण्डारण गर्न सहज हुने अस्पतालको बुझाइ छ ।

ब्गतजयच
गोरखापत्र अनलाइन





error: Content is protected !!