हेलिकोप्टरमार्फत सुत्केरी र बच्चाको उद्धार

रुकुमपूर्व ः अत्यधिक रक्तस्राव भएकी रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–५ हुकामकी ४० वर्षीया सुत्केरी महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारका लागि आज दिउँसो सुर्खेत पठाइएको छ ।
गएराति रुकुमपूर्व अस्पताल रुकुमकोटमा छाई पुन सुत्केरी हुनुभएको थियो । सुत्केरीपछि पुनलाई रक्तस्राव बढेको अस्पतालले जनाएको छ । रक्तस्राव नरोकिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको पहलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा राष्ट्रपति महिला उत्थान (निःशुल्क हवाई उद्धार सेवा) कार्यक्रममार्फत हेलिकोप्टर झिकाएर सुत्केरी र शिशुलाई सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।
शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । बुधबार दिउँसोदेखि महिलालाई सुत्केरी व्यथा लागेको थियो । सुत्केरी महिलाको परिवारका सदस्यको भनाइ उद्धृत गर्दै पुथाउत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाले भन्नुभयो, “व्यथा लागेलगत्तै स्वास्थ्य चौकी हुकाम भर्ना गरिएको थियो ।”
लामो समयदेखि सुत्केरी महिलालाई रक्तनली समस्याको बिरामी रहेकाले स्वास्थ्य चौकी हुकामले रुकुमपूर्व अस्पतालमा पठाएको थियो । सुत्केरीपश्चात् रक्तस्राव भएपछि जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा हेलिकोप्टरमार्फत सुत्केरी र शिशुको उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको उपाध्यक्ष बुढाले बताउनुभयो ।








