लाली, गोप्कामा मौसमी फ्लूका बिरामी बढे

हुम्ला — खार्पुनाथ गाउँपालिका–१ मा रहेका लाली रगोप्का गाउँमा मौसमी फ्लूका बिरामीहरु बढेका छन् । गाउँका ७० जना भन्दा बढी बिरामी भएका छन् ।

खार्पुनाथ १ लालीका प्राय घरमा बिरामी रहेको खार्पुनाथ १ लालीका वडाअध्यक्ष जयबहादुर शाहीले बताए । ६ वटा बस्ती रहेको प्रत्येक गाउँमा २०, २५ जना बिरामी परेका छन् । एक सातायता फैलिएको संक्रमणले अधिकांश घरपरिवार बिरामीले थला परेका छन् । प्राय घरैपिच्छे बिरामी भए पछि स्वास्थ्यकर्मी पुगी औषधि गर्दा पनि निको नभएको वडा अध्यक्ष शाहीले बताए ।

बिरामीमा घाँटी दुख्ने र पाक्ने, ओठ सुनिने र पाक्ने, टाउको दुख्ने , ज्वरो आउने, रिँगटा लाग्ने, हातखुट्टा,जोर्नी दुख्ने र बान्ता हुने जस्ता लक्षण देखिएका छन् । मौसमी फ्लूले बालबालिका र वृद्धवृद्धामा बढी समस्या देखिएको छ । वडा अध्यक्ष शाहीका अनुसार बिरामीसँगै बसेर कुरा गरेको केही समयपछि स्वस्थ्य व्यक्तिलाई पनि उक्त लक्षण देखा पर्ने र बिरामी हुने बताए । एकै घरका ५ जनासम्म बिरामी भएको उनले बताए ।

गर्मी बढेसँगै सिजनल फ्लूका बिरामीको संख्या बढेको र पर्याप्त औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरी गाउँ गाउँमा उपचार भइरहेको छ । पालिकाभरि नै सिजनल फ्लूका बिरामी बढेकाले अन्य ठाउँ नियन्त्रण भइसकेको र लालीमा अलि बढी भएकाले पर्याप्त औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरी सकिएको हुँदा केही दिनमै नियन्त्रणमा आउने खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बलिराज शाहीले बताए ।

खार्पुनाथमा मात्र नभएर जिल्लाभरि यसको संक्रमण देखिएकाले जिल्लामा फैलिएको लम्पी स्किनका कारण मरेका पशुको उचित व्यवस्थापन नगरी जथाभावी फालेकाले संक्रमण बढेको आशंका समेत गर्न थालिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!