खडेरीले अन्नबाली सुक्न थाल्यो

मुगु — जिल्लामा खडेरीले अन्नबाली सुक्न थालेपछि किसान चिन्तित भएका छन् । लामो समयदेखि पानी नपरेपछि पाखो र खेतबारीमा रोपेको कोदो, कागुनो, धानको बीऊ, खुर्सानी, गोलभेंडा सुक्न थालेको छ ।

खडेरीले अन्नबाली सुक्न थालेको सोरु गाउँपालिका–७ का स्थानीयले बताए । पानी नपर्दा धान रोप्न नपाएको उनीहरुको भनाइ छ ।

गत फागुनदेखि राम्रोसँग वर्षा नहुँदा किसानले कात्तिके बाली रोप्न पाएका छैनन् । पानी पर्ला कि भनेर कुर्दाकुर्दै कात्तिकमा पाक्ने बाली लगाउन ढिलो भइसक्यो सोरु गाउँपालिका ४ का स्थानीयले भने ।

लामो खडेरीले पानीको मूल पनि सुक्दै जान थालेपछि स्थानीय चिन्तित छन् । खडेरीले गर्दा वनपाखामा घाँस सुकेपछि चौपायलाई घाँस पुर्‍याउन गाह्रो भएको स्थानीयको भनाइ छ ।

गत वर्ष भन्दा जिल्लामा यो वर्ष अधिक गर्मी महसुस गरिएको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, झाडापखालाका बिरामीको संख्या बृद्धि भएको चिकित्सकको भनाइ छ ।





error: Content is protected !!