जनयुद्धको बेलाभन्दा मन्त्री बन्दा भयो बढी पीडा

सुर्खेत ः ‘म मन्त्री बन्ने क्रम फलामको चिउरा चपाउनु सरह भयो । यस्तो पीडा त जनयुद्धको संघर्षका बेला पनि भएन । बढी नै पीडा भयो । त्यसैले, पाएको जिम्मेवारी कुराले भन्दा काम गरेर देखाउनुपर्छ भनेर सोचिरहेको छु ।’
शनिबार अपराह्न पत्रकारसँगको भेटघाटका क्रममा प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले निराश हुँदै सुनाएका शब्द हुन् यी ।

उनले मन्त्री भएपछि पहिलो पटक पत्रकारसँग परिचयात्मक कार्यक्रमसँगै आगामी बजेट, नीति तथा कार्यक्रमबारे सुझाव माग्ने कार्यक्रम पनि थियो । यद्यपि पत्रकार सम्मेलनमा पत्रकारको न्यून उपस्थित रह्यो । उनले कार्यक्रममा अधिकांश समय मन्त्री बन्ने बेला आफूले भोगेका पीडा नै सुनाइन् ।

डोल्पाबाट समानुपातिक कोटाबाट सांसद बनेकी विश्वकर्मा गत माघ ११ गते भौतिक पूर्वाधार ऊर्जा तथा जलस्रोत राज्यमन्त्री भएकी थिइन् ।

राष्ट्रिय समीकरणअनुसार काँग्रेस–माओवादी मिलेर अघि बढ्नुपर्ने भएपछि ८ वटै मन्त्रालय कायम गर्नुपर्ने भयो । सोहीअनुसार भौतिकमा गाभेको ऊर्जालाई पुनः मन्त्रालयकै रूपमा कायम गरेपछि विश्वकर्मालाई नै फुल मन्त्रीको रूपमा जिम्मेवारी दिइएको थियो ।

उनी यो बीचमा आफुले गर्नुपरेको संघर्षका कारण निराश छिन् । मन्त्री विश्वकर्माले अहिलेको दुनियाँ शक्तिको पुजारी रहेको टिप्पणी गरिन् । ‘पावर, मनी, पोलिटिक्स र पहुँचको कुरा जुन छ, सबै थोक यही रहेछ,’ उनले अगाडि थपिन्,‘मान्छेको मन भावनात्मक पनि हुन्छ । सबैलाई एउटै भड्खालोमा हाल्दा अलि अफ्ठेरो हुँदो रहेछ ।’

कुरा गर्दै जाँदा उनले पार्टीबाट निकै थिचोमिचो भइरहेको सङ्केत गरिरहेकी थिइन् । आफूले संघर्ष गरिरहे पनि श्रीमान्को कारण मन्त्री बनाइएको सुन्नु पर्दा दुःखी छिन् उनी ।

उनले स्मरण सुनाइन्, ‘जनार्दन शर्मा दाइको उपस्थितिमा केही दिन अघि पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, जीवनबहादुर शाही, वर्तमान मुख्यमन्त्री, मन्त्री लगायतको बीचमा बैठक थियो । उहाँहरूले मन्त्रीको जिम्मेवारी पाएपछि के कस्तो लाग्यो भन्नुस् त भनेर सोध्नुभयो । धेरै कुरा अनुभव गर्दैछु भनेँ । जिम्मेवारी पाउनु ठुलो कुरा होइन, कार्यसम्पादन गर्नु ठुलो कुरा थियो भनेँ । तर, त्यहाँ हाँसोको विषय भयो ।’

‘नचिनेको मान्छेका फोन आउँछ । उठाउँदा ‘चिन्यौ ? ’ भनेर सोध्नुहुन्छ । चिनिन त भनेर भन्दा आलोचना हुन्छ । यस्तै कुराहरू गर्दा ।।हा।हा।।गरेर हाँस्नुभयो, नेताहरू ।’ सायद यस्तै यस्तै कुराहरूले उनको मन पिरोलिएको हुनुपर्छ ।

मन्त्री विश्वकर्माका अनुसार सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका पूर्व मन्त्रीहरूले समेत अहिले हाम्रो फाइल खै ? भनेर सोध्ने गर्दछन् रे । उनी भन्छिन्,‘हिजोको दिनमा जे गरे–गरे, आजको दिनमा नमस्कार ? गरेर पठाउनुबाहेक विकल्प छैन । किनकि बजेटको नै समस्या छ ।’

कमरेड सुरक्षा’को ‘नाफाको जिन्दगी

उसो त जनयुद्धका क्रममा विश्वकर्माले भोग्नु परेको संघर्षशील कहानी निकै दर्दनाक छ । यहाँसम्म आउँदा सारा जिन्दगी सकाएर आएको बताउँदै उनले आफू जिउँदो सहिद भएको बताउँछिन् ।

युद्धकालमा उनी ुकमरेड सुरक्षा’का नामले परिचित थिइन् । अहिले पनि धेरैजसोले सुरक्षा भनेर नै चिन्ने गर्छन् रे । नाफाको जिन्दगी जिइरहेको बताउँदै विश्वकर्माले आफ्नो शरीर छिया छिया भएको बताइन् ।

पश्चिम रुकुममा जन्मिएकी उनले २०५१ सालमा डोल्पाका रामलाल विश्वकर्मासँग बिहे गरिन् । रामलाल स्थायी शिक्षक थिए । बिहेपछि उनी कक्षा ८ मा भर्ना भइन् र त्यही बेलादेखि माओवादी निकट विद्यार्थी संगठनमा आबद्ध भइन् ।

बिहे भएको २ वर्षपछि छोरी र त्यसको २ वर्षको अन्तरालमा छोरा जन्मिए । यद्यपि उनका श्रीमान् रामलाल भने गर्भवती श्रीमती छाडेर पूर्णकालीन रूपमा जनयुद्धमा होमिएका थिए ।

शिक्षक भए पनि रामलालले पहिलादेखि नै माओवादीभित्र काम गरिरहेका थिए । उनी सम्झिन्छन्,‘त्यो बेला निकै कठिन परिस्थिति थियो । श्रीमान् माओवादीमा गएका कारण मलाई त्यो बेलाको राज्यसत्ताबाट निकै यातना दिइन्थ्यो । तँलाई मार्दा पनि केही छैन भन्थे । कति दिन मैले पनि जेलमा बस्नु प¥यो ।’

०५६ मा माओवादीको पार्टी सदस्यता लिएकी उनी पनि नाबालक छोरासँगै युद्धमा होमिइन् । उनका अनुसार डोल्पाको सदरमुकाम दुनैमा ९ असोज ०५७ मा माओवादीले आक्रमण ग¥यो । त्यो लडाइँमा आफ्नो परिवारको ठुलो भूमिका रहेको उनको भनाई छ ।

पछि डोल्पामा ‘नयाँ छलाङ’ अभियान थालियो । कमान्डरको रूपमा दैलेखबाट नारायण शर्मा गएका थिए भने उर्मिलाले महिला तर्फको अध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् ।

छलाङ अभियानको स्मरण सुनाउँदै उनले भनिन्,‘एकदिन मुसलधारे पानी परिरहेको थियो । बिहान ४ बजेको घटना हो । त्यो बेला थुप्रै नेपाली सेनाले सि आकारमा घेरेको हामीलाई पत्तै भएन । त्यो घटनामा हामीले ठुलो क्षति व्यहोर्नुपरेको थियो । ८ जनाको ज्यान गयो । त्यसमा रामलालको श्रीमती खै रु म¥यो कि मरेन भन्थे । मेरो अनुहार देखेनन् । म घाइते भएकी थिएँ । सुरुमै नेपाली सेनाले हानेको गोली मेरो खुट्टामा लाग्यो तर मलाई थाहै भएन ।’

उनलाई त्यो घटनापछि ठाडो उठेर हिँड्ने स्थिति नभएपछि सर्पजस्तो घिस्रेर हिँड्नु परेको आजै जस्तो लाग्छ । एक पटक त खोलाको छहराभित्रको ओडारमा गएरसमेत बाँचेको स्मरण गर्छिन् ।

‘साथमा बाबु थियो, बाबुलाई पनि त्यहीँ राखेर तीन रात त्यहीँ बसे । अचम्मै भोक लाग्यो । ओडारबाट निस्केर गाउँतर्फ निस्कने प्रयास गरेँ,’ उनले भनिन्,‘तर, गाउँमा सेना रहेछ । त्यसपछि गाउँमा एक जना ससुरा नाता पर्नेले खाजा दिए र त्यहाँबाट पनि भागेर केही अग्लो ठाउँमा पुगेँ, चौरीकोट । तर, त्यहाँका मान्छेले तपाईं यहाँ बस्नुभयो भने हामी पनि असुरक्षित हुन्छौँ भनेर त्यहाँबाट पनि भाग्नुपर्‍यो ।’ यसरी नबालक सँगको संघर्ष कम कठिन रहेन उनका लागि ।

उनी भन्छिन्,‘म आफै दलित भएका नाताले नि कैयौँ साथीहरू घरभित्र गएर रोटी खाने कुरामा जनवादका कुरा गरिरहन्थे । के कसैको घरभित्र गएर मान्छेको चित्त दुखाएर जनवाद आउने हो त रु म सोच्थेँ । यद्यपि एउटा क्रान्ति थियो, रोकिने कुरा थिएन । एउटा परिवर्तन हुनु थियो भयो ।’

उर्मिलाका श्रीमान् रामलाल जनयुद्धमा थुप्रै मोर्चामा लडाइँ लडेका छन् । मंगलसेन घटनाका बेलामा लागेका गोलीका छर्राहरू अझै उनका शरीरभरि छन् । तर अहिले आफू मन्त्री बनेको देख्दा नसहनेहरूको वचन रुपी छर्राले झन् दुखाउँछ उनलाई ।





error: Content is protected !!