समस्यारहित बनोस् नववर्ष

गत आर्थिक वर्षमा अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको समस्या यो वर्षको आठ महिनामा आउँदा पुरानै लयमा फर्किएको छ । नेपालको अर्थतन्त्रको आकार सानो छ । यही कारण ससाना समस्याले प्रभाव पार्ने र सुधार पनि चाँडै हुने चरित्रको छ हाम्रो अर्थतन्त्र । गत वर्ष उच्च आयात भयो । आयातित वस्तुको भुक्तानी दिन वैदेशिक मुद्राको सबैभन्दा ठूलो स्रोत बनेको रेमिटेन्स पर्याप्त आएन । फलस्वरूप विदेशी विनिमय सञ्चिति घट्दै गयो । विनिमय पर्याप्त नभएपछि अन्य सूचकहरूमा पनि प्रभाव प¥यो ।

तर, यो वर्षका आठ महिनामा उच्च दरले रेमिटेन्स आएको र आयात पनि खस्केका कारण अर्थतन्त्रको बाह्य क्षेत्र पुरानै लयमा फर्किएको हो । दुई वर्षअघि हामीसँग जति मात्रामा विदेशी विनिमय सञ्चिति थियो, अहिले त्यही मात्रामा छ । समस्या आउनुअघि सञ्चिति १४ खर्बबराबर थियो । एकै वर्षमा गिरावट आएर गत असारमा १२ खर्ब १५ अर्बमा झरेको सञ्चिति फेरि १४ खर्ब पुगेको छ । सञ्चिति बढेपछि यससम्बन्धी अन्य क्षेत्रका सूचकमा पनि सुधार देखिएको छ ।

यस अर्थमा बाह्य क्षेत्रको समस्याबाट एकै वर्षमा पार पाएको अवस्था छ । अघिल्लो वर्ष यो बेला मुलुक श्रीलंका बन्दै छ भन्ने बहस भइरहेको थियो । त्यो अवस्थालाई हेर्दा अहिलेको सुधार सुखद सन्देश हो । मुलुकको केन्द्रीय बैंकले मंगलबार प्रकाशित गरेको यस वर्षको फागुनसम्मको तथ्यांकले अर्थतन्त्रको बाह्य पाटोमा पर्याप्त सुधार देखिएको छ । फागुनसम्ममा १ अर्ब १५ करोड अमेरिकी डलर सञ्चिति बढेको देखिएको छ । अहिले हामीसम्म १० अर्ब ६९ करोड अमेरिकी डलर सञ्चिति छ ।

हाम्रो जस्तो सानो आकार भएको अर्थतन्त्रका लागि यो पर्याप्त सञ्चिति हो । यो सञ्चितिले अहिलेसम्मको आयातको दरलाई आधार मान्दा १०।९ महिनाको वस्तु आयात र १०।४ महिनाबराबर वस्तु तथा सेवा आयातको भुक्तानी दिन पैसा पुग्छ । यो वर्ष अमेरिकी डलर सञ्चिति बढ्नुमा मुख्य गरी दुईवटा कारण देखिएका छन् । पहिलो हो, आयात कम हुनु । यो वर्ष फागुनसम्म १९।१ प्रतिशतले आयात घटेको छ । अहिलेसम्म १० खर्ब ४ अर्बका मात्र सामान आएका छन् ।

अघिल्लो वर्ष यो बेला आयात करिब ८३ प्रतिशतले बढेको थियो । आयातमा आएको गिरावटका कारण स्वभावैले डलर खर्च धेरै भएको छैन । गत वर्षजस्तै आयात उच्च भएको भए सञ्चितिमा यति धेरै सुधार आउने सम्भावना थिएन । प्रत्येक महिना रेमिटेन्स आय बढिरहनु सञ्चितिमा सुधार आउनुको दोस्रो कारण हो । यो वर्षको फागुनसम्ममा रेमिटेन्स २५।३ प्रतिशतले बढेको छ । अहिलेसम्म ८ खर्बभन्दा बढी रेमिटेन्स आएको छ । पछिल्ला महिनाहरूमा १ खर्बभन्दा बढी रेमिटेन्स आइरहेको छ ।

आयातित सामानको भुक्तानी दिन रेमिटेन्सले सबैभन्दा ठूलो सहयोग गरेको छ । यसबाहेक सेवा क्षेत्रबाट पनि वैदेशिक मुद्रा आर्जनमा सुधार हुँदै आएको छ । पर्यटकको संख्या कोभिडअगाडिको अवस्थामा पुगिसकेको छ । गत वर्षको जस्तो नभए पनि कुल निर्यात १ खर्बभन्दा माथि पुगेको छ । सरकारले खर्च गर्न नसकेका कारण वैदेशिक सहयोग ९ऋण र अनुदान० आउन सकेको छैन ।

यस्तै प्रत्यक्ष वैदेशिक लगानीको अवस्था पनि नाजुक छ । यी सबैमा गत वर्षभन्दा बढी सुधार आएको भए अवस्था धेरै राम्रो हुने थियो । विनिमय सञ्चितिमा आएको सुधारका कारण अर्थतन्त्रका अन्य पाटाहरूमा सकारात्मक प्रभाव परेको छ । फागुनसम्ममा शोधनान्तर स्थिति १ सय ४८ अर्बले बचतमा पुगेको छ । तर, चालू खाता भने अझै ४४ अर्बले घाटामा छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आउँदा आन्तरिक क्षेत्र भने निकै कमजोर अवस्थामा पुगेको छ ।

गत वर्ष सञ्चितिमा लगातार आएको गिरावटले जुन स्तरमा सरकार अत्तालिएको थियो र केही नीतिगत निर्णयहरू गरिएका थिए, अहिले आन्तरिक पाटोमा समस्या आउँदा सरकार त्यति बढी संवेदनशील भएको देखिँदैन । जबकि अहिलेको समस्या पनि गत वर्षको भन्दा कम होइन । राजस्वमा आएको संकुचन र निजी क्षेत्रमा देखिएको नैरास्यताले भोलिका दिनमा ठूलो समस्या ल्याउन सक्छ । अहिले नै सरकार ऋण लिएर चालू खर्च धान्नुपर्ने अवस्थामा पुगेको छ । सरकार आफैंले पुँजीगत खर्च बढाउन सकेको छैन ।

निर्माण व्यवसायीले गरेको कामको भुक्तानी दिन सकिएको छैन । सरकार आफैंले खर्च बढी गरेर अर्थतन्त्रलाई माथि लैजानुपर्नेमा खर्च घटाउने काम गरिरहेको छ । निजी क्षेत्र सुतेको छ भन्दा फरक पर्ने अवस्था छैन । उत्पादनका कतिपय क्षेत्र बन्द छन् भने कतिपय आधा क्षमतामा चलेका छन् । समग्रमा अर्थतन्त्र शिथिल अवस्थामा पुगेर सरकार र निजी क्षेत्र दुवैलाई असर पर्दा पनि सरकार जति तात्नुपर्ने हो त्यति तातेको देखिँदैन ।

चालू आर्थिक वर्ष सकिन पनि अझै तीन महिना छ । त्यसैले सरकारले केही नीतिगत विषयमा हस्तक्षेप गरेर भए पनि अर्थतन्त्रलाई थप गतिशील बनाउनुपर्छ । गत वर्षको समस्या यो वर्ष समाधान भएको छ । अब यो वर्षको समस्या आगामी वर्षका सुरुकै महिनामा समाधान हुने गरी सरकारले कदम चालोस् । त्यो हुन सकेमात्र नववर्ष २०८० को सही शुभकामना हुनेछ ।





error: Content is protected !!