शिवालयको तरकारी बाहिर पठाउन सडक निर्माण हुँदै

हेमन्त केसी
जाजरकोट , १७ फागुन ः शिवालय गाउँपालिका–२ नेपामा उत्पादन गरिएको तरकारी बाहिर जिल्लामा पठाउनका लागि सडकको पहुँच विस्तार गर्न लागिएको छ ।
पालिकाको प्रशासकीय केन्द्र सिमाबाट तरकारी उत्पादन भइरहेको नेपा सम्म सडक जोडनका लागि काम जारी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिनुभयो । पालिका र कृषि क्षेत्र विकास कार्यक्रको संयूक्त रुपमा २ करोड २० लाख लागतमा सडक निर्माण कार्य जारी रहेको छ ।

सडकको पहुँच नहुँदा नेपामा उत्पादन भएको तरकारी बाली खेर गएर कृषक मर्कामा परेको भन्दै सडकको पहुँच बिस्तार गर्न लागिएको अधिकृत बाँढाले बताउनुभयो । पालिकाका अन्य ठाउँमा समेत उत्पादन भएको कृषि जन्य बस्तुहरु निर्यात गर्नका लागि पालिकाले काम थालेको गाउँपालिकाका उपाध्यक्ष गिता शाहीले बताउनुभयो ।
असार मशान्त सम्म सडक निर्माण कार्य पुरा हुने उपाध्यक्ष शाहीले बताउनुभयो । आर्थिक रुपमा बलियो बनाई शिवालय गाउँपालिकाको कृषि क्षेत्रलाई भारी रुपमा उन्नत बनाउनका लागि कामहरु भइरहेको बताएको छ ।
गाउँपालिकाको वडा नम्वर ३ मा घोडेछाल, वडा नम्वर ५ को काउला , वडा नम्वर ७ को भिउसमा दात्ते ओखरको पकेट क्षेत्र बनाएर काम भइरहेको कृषि शाखाका प्रमुख विश्वमित्र शर्माले जानकारी दिनुभयो ।
त्यस्तै गाउँपालिकाको वडा नम्वर १ को सिस्ने , वडा नम्वर ५ को मन्देराटोल र वडा नम्वर ८ को लिसपानीमा भटमासको पकेट क्षेत्र बनाई भटमास उत्पादनलाई जोड दिइएको छ । यहाँ उत्पादित भटमासको बजारीकरणको काम समेत पालिकाले गरेको उहाँले बताउनुभयो ।
केही वर्ष अघि बाहिरी जिल्लाबाट बिउ आयत गरेर मकै रोप्ने यहाँका कृषकहरुलाई अहिले तीन वर्ष देखि कृषि शाखाकै पहलमा गाउँपालिकाको वडा नम्वर ३ स्थित सिमामा मकैको मूल बिउँ उत्पादन गरि मूल बिउँबाट उन्नत बिउ उत्पादनको काम सुरु गरिएको छ । यहाँ उत्पादित उन्तत बिउ बाहिरी जिल्लाबाट माग आएपछि बिक्री समेत गर्न सुरु भएको छ ।
मौसमी र वेमौसमी तरकारी बाली उत्पादन गर्नका लागि गाउँपालिकाको वडा नम्वर २ मा लगानी गर्नुका साथै अगानी अनुसारको प्रतिफल समेत आएको उहाँको भनाई छ । बर्ष आलु उत्पादनका शत प्रतिशत अनुदानमा शिवालय गाउँपालिका– ३ घोडेछालमा बीउ बितरण गरिएको छ । त्यस्तै वडा नम्वर ७ को जुङ्गा थापाचौरमा कन्ये च्याउ उत्पादन समेत सुरु गरिएको छ ।
गाउँपालिका भरी खाद्यान्न उत्पादनको हिसावले राम्रो मानिएको ठाउँमा कृषक समुहको मागमा आधारित हात्ते ट्याक्टर बितरण समेत भएको छ । खनजोत गर्न सजिलो होस भनि यो काम गरिएको हो । त्यस्तै कृषि शाखाकै पहलमा बेमौसमी तरकारी बालीको बिउँ समेत वितरण कार्य हुँदै आएको छ ।










