पोल गाडेको पाँच वर्ष बित्यो, बलेन बत्ती


जाजरकोट ः पोल गाडेको पाँच वर्षसम्म जाजरकोटको कुशे गाउँपालिकाका अधिकांश गाउँमा विद्युत पुगेको छैन। विद्युत् प्राधिकरणले कुशेमा ३३ केभी प्रसारण लाइन पुर्‍याउन पाँच वर्षअघि काम सुरु गरेको थियो।

कुशे–५ पाँचकाटियाबाट खुर्पासम्म पोल गाड्ने काम भए पनि त्यहाँ अहिलेसम्म बिजुली बलेको छैन। आर्थिक वर्ष २०७५/७६ मा नेपाली कांग्रेसका सचिब तेजविक्रम शाहको साईबाबा एण्ड तारा कन्टक्सन खलंगा–२ ले कुशे गाउँपालिकको पाँचकाटियादेखि खुर्पा समकोटसम्म प्रसारण लाइन निर्माणको जिम्मेवारी पाएको थियो।

कुशे गाउँपालिकामा विद्युत् दुई ठाउँबाट ल्याउने भनिएको थियो। छेडागाड नगरपालिकाको थलहबाट कुशे गाउँपालिका र भेरी नगरपालिका हुँदै कुशेको पाँचकाटिया जोडेर पालिका ल्याउने पहल गरिएको थियो। अहिले यहाँ गाडिएका पोल र तार भद्रगोल अवस्थामा छन्। पोल ढलेका छन् भने तार जथाभावी फालिएका अवस्थामा छन्।

विद्युतको काम गर्ने जिम्मेवारी लिएका ठेकेदार कांग्रेसकै भएका कारण गाउँपालिकाका अध्यक्षले दबाब दिन नसकेको स्थानीयवासीको आरोप छ। कुशे गाउँपालिकाको बाटुले बजारदेखि साधि बिसौनासम्म तार ठाउँ–ठाउँमा थुपारेर फाँकिएको अवस्थामा भेटिने कुशे गाउँपालिका–५ का जनक चन्दले बताए। यसमा गाउँपालिकाले समेत चासो नदेखाएको उनको आरोप छ। ​​

विद्युतको काम अघि नबढ्दा गाउँपालिकाको कामसमेत सोलार सिस्टमबाट काम हुँदै आएको छ। गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले पनि काम अघि बढाउन नसकेको स्वीकार गरे। अन्य दलको प्रतिनिधि आरोप–प्रत्यारोपमा लागेर असहयोग गरेका कारण विद्युतीकरणको काम अघि नबढेको उनको भनाइ छ।





error: Content is protected !!