यस्ता छन् कर्णाली प्रदेशसभा सदस्यका योजनाहरु

सुर्खेतः कर्णाली प्रदेशसभा सदस्य उर्मिला विकले पद तथा गोपनीयताको शपथ लिदै पहिलो अनुभव भएको भन्दै लक्षित वर्गका सवालमा प्रदेशसभामा आवाज बुलन्द गर्ने बताउँछिन् । प्रदेशसभामा मेरो भूमिका जनताको अपेक्षा र प्रदेशको आवश्यकता पूरा गर्नेतर्फ केन्द्रित मात्र होइन, त्यसका लागि कतिपय विषयमा आफ्नै ज्ञानको दायरा पनि फराकिलो बनाउने बताइन् । आफूले सिक्दै जनताको हितका सवालमा काम गर्ने बताइन् ।
कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक्ली प्रदेशसभा सदस्य सन्तोषी शाहीले सपथ लिदै भनिन , पार्टी राजनीतिमा सक्रिय शाहीको प्रदेशसभामा पहिलो अनुभव हो । आफ्नो दलका राजनीतिक एजेन्डालाई स्थापित गर्नेगरी प्रदेशसभामा सशक्त भूमिका खेल्ने उनले बताइन् । शाहीको पार्टीले प्रदेश संरचना खारेजी र हिन्दु राष्ट्रको माग गर्दै आएको छ ।
कर्णाली प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) पार्टीकी एक्ली सांसद हुन, कल्याणी खड्का । प्रदेशसभामा उनको पनि पहिलो यात्रा हो । समानुपातिक सांसदमा चयन भएकी उनले जनताका आवाज बोकेर आएकोले जनताले काम गर्न प्रदेशसभामा पठाउनु भएको छ भनिन । प्रदेशसभाको यात्रामा आफूलाई आशा र उत्साह दुवै रहेको खड्काले बताइन् । सदनमा जनजीविकाका सवाल, महिलाका मुद्दा, लैङ्गिक विभेद र कुप्रथाजस्ता कुरितीको अन्त्यका लागि काम गर्ने उनले सुनाइन् ।
हुम्लाबाट कर्णाली प्रदेशसभामा समानुपातिक सांसद बनेकी नेकपा (माओवादी केन्द्र) की जुम्कित लामाले जनताले जुन अपेक्षा र आशाले आफूलाई संसद्सम्म पु¥याएका छन् सोहीअनुरूप काम गर्ने बताउँछिन् । जनजाति समुदायको प्रतिनिधित्व गर्दै प्रदेशसभामा आएकीले जनताका अपेक्षाअनुसार काम गर्नेछु, मेरो भूमिकाबाट कसैले निराश हुनुपर्ने छैन भनिन । हुम्लाजस्तो विकट ठाउँबाट आफूलाई पार्टी र जनताले विश्वासका साथ पठाएकाले जिम्मेवारीपूर्वक काम गर्ने लामाले बताइन् ।
जाजरकोट प्रदेशसभा ‘ख’ बाट निर्वाचित कांग्रेसका राजीवविक्रम शाह भने संसद्का अनुभवी हुन् । यसअघि संविधानसभाका सभासद भइसकेका शाह यसपटक प्रदेशमा झरेका छन् । उनले कर्णालीका बासिन्दाको हितमा काम गर्ने संकल्पसहित प्रदेश सांसद बनेको बताए । पहिलो पटक प्रदेशसभा प्रवेश गरेका सुर्खेत क्षेत्र नं. १ प्रदेशसभा ‘ख’ बाट निर्वाचित कृष्णबहादुर जिसीले जनताको आशालाई मर्न नदिने बताए ।
जुम्ला प्रदेशसभा ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित नेकपा (एमाले) का टेकराज पछाईंले प्रदेशसभामा रहेर जनताको आवश्यकताअनुसार कानुन निर्माणमा जोड दिने जनाए । आफूले निकै उत्साहका साथ संसद्को यात्रा तय गरेको भन्दै उनले कर्णालीको विकासका लागि योगदान गर्ने बताए ।
४० सदस्यीय प्रदेशसभामा पाँच दलको प्रतिनिधित्व रहेको छ । कर्णालीको संसद्मा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी तथा स्वतन्त्रबाट एक÷एक जना सांसद छन् ।









