लिमीमा चौँरीको संख्या छ गुणाले बृद्धि

हुम्ला ः नाम्खा गाउँपालिका –६ हिमालपारीको गाउँ लिमीमा चौँरी गाईको संख्या बृद्धि भएको छ । चौरी स्रोत केन्द्र स्थापना भएपछि पशुपालक किसानमा पनि चौँरी पाल्ने आकर्षण बढेकाले संख्यामा बृद्धि भएको हो ।

दुुई वर्ष अगाडिसम्म लिमीमा पचास वटा चौरी गाई थिए । यो पेशा बढी दुःख हुने भन्दै किसानले अन्य ब्यापार गर्न थालेपछि चौरी पालन लोप हुने अबस्थामा पुुगेको थियो । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले दुुई वर्ष यता चौँरीको संख्या ३९० पुगेको बताउनुभयो । लिमीवासीले बिस्तारै चौँरीपालन छा्ड्दै गएकाबेला चौरी स्रोत केन्द्र स्थापना भएपछि स्थानीयमा चौरी पाल्ने आकर्षण बढेको उहाँको भनाइ छ ।

हाल स्थानीयसँग डेढ सय चौँरी रहेको र स्रोत केन्द्रमा २४० भन्दा बढी चौँरी पुगेको उहाँले बताउनुुभयो । उहाँका अनुसार लिमीमा दुुई वर्षको अन्तरमा छ गुणाले चौरीको सङ्ख्या बृद्धि भएको छ । लिमीका तीन गाउँ चौँरी पालनका लागि बढी सम्भावना भएको गाउँ हो । बिशेषगरी कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा स्रोत केन्द्र स्थापना हुँदा स्थानीय पुनः चौँरी पालनमा फर्कन थालेको उहाँको भनाइ छ ।

पहिले एउटै घरमा चालीसदेखि पचास वटा चौँरी रहेको स्मरण गर्दै वडा अध्यक्ष तामाङले चरन समस्या, दुुख बढी, अन्य ब्यापारबाट फाईदा देखेपछि लिमीमा चौरी पालन घटेको भए पनि अहिले सङ्ख्या बढेको बताउनुभयो । चौरी पालनमा सकारात्मक आशा पलाएको उहाँले बताउनुभयो । चौरी पालन बढ्न थालेपछि घ्यु, छुर्पी, चीज, नौनी उत्पादनमा समेत बृद्धि भएको उहाँको भनाइ छ ।





error: Content is protected !!