जुम्लामा विस्फोटक पदार्थबाट जोगिने उपाय सिकाउँदै सेना

जुम्ला ः यही कात्तिक १२ गते कालिकोटको तिलागुफा नगरपालिका १० मा बम विस्फोटबाट दुई जना बालिकाले ज्यान गुमाएसँगै जुम्लामा उच्च सतर्कता अपनाउन थालिएको छ । नेपाली सेनाको नन्दबक्स गणले उपसेनानी सन्तोष केसी नेतृत्वको टोली खटाएर विद्यालय, ग्रामीण बस्तीदेखि सार्वजनिक सरोकार राख्ने निकायसम्म पुगेर बमबाट जोगिने उपायबारे कक्ष सञ्चालन गर्न थालेको हो ।

पहिलो चरणमा जिल्लाको गुठीचौर गाउॅपालिकामा युवायुवती, सर्वसाधारण नागरिक, बालबालिकादेखि तिनका अभिभावकलाई भेला गराएर बमबाट बच्न अपनाउनुपर्ने उपायबारे सहजीकरण गरेको थियो । नन्दाबक्स गणका गणपति रविन थापाले जुम्लामा बमलगायत शंकास्पद बस्तुदेखि बच्न सबैले होसियारी अपनाउनुपर्नेमा जोड दिए ।

उनले भने,‘जुम्लासँगै जोडिएको कालिकोटको तिला गुफामा बम विस्फोटबाट दुई बालिकाको ज्यान गयो । तीन जना घाइते छन् । जुम्लामा पनि त्यस्तै घटना नहोला भन्न सकिँदैन । त्यही भएर घटना हुन नदिन सेनाको टोली जिल्लाभर खटिएको छ । सन्देशमूलक कार्यक्रम लिएर दौडधुपमा छ । जिल्ला सुरक्षित हुन सकेमा मात्र हरेक नागरिकले सुरक्षाको अनुभूति गर्न पाउँछन् । ’

उनले हरेक निर्वाचन केन्द्रमा खटिने म्यादी प्रहरी, नेपाल प्रहरीलाई समेत बमबाट जोगिन अपनाउनुपर्ने उपायका विषयमा कक्ष प्रदान गरिएको बताए । ‘अहिलेसम्म कुल १ हजार ३ सय जनासम्म सचेतना फैलाउने काम भएको छ । अब हरेक पालिकामा बमलगायतका विस्फोटक पदार्थबाट जोगिन गर्नुपर्ने सतर्कताबारे सन्देश छर्न थालेका छौं, कुनै पनि नागरिक विस्फोटक पदार्थबाट प्रताडित नहुन् भन्ने हेतुले सेनाले अभियानात्मक हिसाबले अघि बढेको छ ।’

निर्वाचनताका शंकास्पद बस्तु फेला पर्ने उच्च संभावना हुन्छ । उतिबेला जथाभावी फ्याँकेर, खेलाँची गरेर, जथाभावी छोएर संभव हुँदैन । जसले निकै ठूलो क्षतिको सामना गर्नुपर्ने हुन सक्छ, उनले भने,‘त्यसैले गाउॅबस्तीसम्म पुगेर धमाधम सचेतना फैलाउन थालिएको छ । यसले नागरिक सैनिक सम्बन्ध बलियो बनाउॅछ ।’

कालिकोटमा भएको घटना जुम्लामा नदोहोरियोस् भन्ने चाहना छ । यदि भेटिएमा जानकारी दिने, शंकास्पद कुरा भए नछुने, नचलाउने नेपाली सेनाको युनिटमा खबर गर्ने, सकेट, प्रेस कुकर वा तार तानेको अवस्थामा तत्काल जानकारी गराउन भनेका छौं,ु उनले भने ।

शंकास्पद बस्तु छुँदा अनाहकमा ज्यान जान सक्ने भएकोले यस्तो अवस्थामा बालबालिकाले अभिभावकलाई तत्काल सूचना दिनुपर्ने उनको सुझाव छ । अभिभावकले नजिकैको प्रहरीचौकी या नेपाली सेनाका खबर गरिदिएमा जोखिमबाट जोगिन मद्दत पुग्ने गणपति थापाको विश्वास छ । उनका अनुसार विद्यालय, सार्वजनिक स्थान र सार्वजनिक सरोकार राख्ने हरेक स्थानमा यो कार्यक्रम हुनेछन् ।





error: Content is protected !!