सल्यानमा एमालेका गुलाबजङ्गलाई गठबन्धनका अधिकारीको चुनौती

सल्यान ः नेकपा एमालेका कर्णाली प्रदेश सहइञ्चार्ज गुलाबजङ्ग शाह दोस्रो पटक प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । ०७४ मा सल्यान (क) बाट चुनाव जितेका उनले यो पटक त्यहाँ आफूलाई सुरक्षित नठानेपछि (ख) बाट उम्मेदवारी दिएका हुन् ।उनले २०७४ को प्रदेशसभा निर्वाचनमा १९ हजार ६५८ मत ल्याएर नेपाली कांग्रेसका एकराज डाँगीलाई पराजित गरेका थिए । तर त्यतिबेला उनले नेकपा माओवादी केन्द्रको समेत मत प्राप्त गरेका थिए ।

एमाले विभाजनको असर र अर्कोतर्फ सत्तारुढ गठबन्धन हुँदा शाहलाई अहिले त्यति सहज देखिएको छैन । शाहको प्रतिस्पर्धीको रूपमा गठबन्धनका तर्फबाट कांग्रेसका सुरेश अधिकारी चुनावी मैदानमा छन् । अधिकारी यसअघि शारदा नगरपालिकाको प्रमुख थिए । उनी कांग्रेसका सोही क्षेत्रका क्षेत्रीय सभापति पनि हुन् ।

७९ हजार ३३ मतदाता रहेको यस क्षेत्र अन्तर्गत शारदा नगरपालिकाको वडा नम्बर ५ देखि १५ सम्म, वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ देखि १२ पर्दछन् । यस्तै कालिमाटी, त्रिवेणी, छत्रेश्वरी, कपुरकोट गाउँपालिका पनि यही क्षेत्रमा पर्दछन् ।

गत वैशाख ३० को स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतअनुसार यो क्षेत्रमा एमालेको १६ हजार २२३ मत छ । यस्तै, कांग्रेसको १६ हजार १२७, माओवादी केन्द्रको ११ हजार ३२९ र एकीकृत समाजवादीको ५ हजार १७६ मत छ ।

सत्तारुढ गठबन्धनका तीन दलको मत जोड्दा ३२ हजार ६३२ हुन्छ । यो आधारमा एमालेको मतभन्दा गठबन्धनको मत दोब्बर बढी देखिन्छ । स्थानीय तहको मत परिणामअनुसार एमालेका शाहलाई चुनाव जित्न निकै कठिन हुने देखिन्छ । शाह–अधिकारीबीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ । यहाँ अहिले एमालेको सांगठनिक अवस्थासमेत कमजोर छ ।अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन पाँचौंमा आबद्ध भएर राजनीतिमा होमिएका एमाले नेता शाह पार्टीका पोलिटब्युरो सदस्यसमेत हुन् । उनी ०५७ सालमै एमालेको सल्यान सचिव भएका थिए । गठबन्धनका उम्मेदवार अधिकारी भने ०४७ सालदेखिनै कांग्रेसको राजनीतिमा आबद्ध भएर होमिएका थिए ।

अधिकारी र शाह दुवैले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । ‘यहाँ गठबन्धनविरुद्ध नै गठबन्धन छ, माथि जे–सुकै भए पनि जनतामा गठबन्धन हुँदैन,’ शाहले भने, ‘यही नै मेरो जित्न सक्ने आधार हो । म अहिले चुनावी अभियानमै छु भने उहाँहरू गठबन्धन मिलाउन व्यस्त हुनुहुन्छ ।’

अधिकारी भने गठबन्धन घटकको राम्रो प्रभाव रहेको कारण पनि आफूले जित्ने दाबी गर्दछन् ।

सो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणकुमार शर्मा, राष्ट्रिय जनमुक्ति पार्टीका डण्डवीर पुन, जनता समाजवादी पार्टी नेपालका अशोक रेउले र स्वतन्त्रबाट निर्मल सिंह उम्मेदवार बनेका छन् ।





error: Content is protected !!