पहिरोबाट बस्ती बचाइदिन उम्मेदवारसँग मतदाताको आग्रह

जाजरकोट  ः जाजरकोट बारेकोट –४ का रमिता बस्नेतले गाउँको तलबाट गएको पहिरोका कारण मैना बस्तीमा क्षति पुग्न लागेको भन्दै बचाइदिन प्रतिनिधिसभा उम्मेदवार शक्तिबहादुर बस्नेतसँग आग्रह गरिन्।

बर्सेनी खोलाको कटानका कारण मैनागाउँका ५० भन्दा बढी घरमा जोखिम निम्तिएको भन्दै रमिताले बस्नेतसँग अनुरोध गरेकी हुन्। सडक निर्माण गर्दा आएको माटोले यहाँको बस्ती नै जोखिममा परेको उनको गुनासो छ।

जाजरकोट–जुम्ला सडकको बिचमा पर्ने यो गाउँ लगायत बारेकोटका अधिकांश ठाउँमा सडकका कारण बस्ती जोखिममा परेपछि मतदाताले बचाइदिन उम्मेदवारसँग हारगुहार गरेका हुन्। यो सडक ल्याउन पहल गरेका पूर्वमन्त्री तथा माओवादी केन्द्रका उम्मेदवार बस्नेतसँग अब बस्ती बचाउन बजेटको पहल गर्न यहाँका सर्वसाधारणले माग गरे।

बस्नेतले अहिले वर्षा सकिएकाले जोखिम कम भएको भन्दै अर्को वर्षाअघि नै पहल गर्ने प्रतिबद्धता जनाए। चुनावी गतिविधिका लागि पूर्वी जाजरकोटको बस्ती बस्तीमा पुगेका बस्नेतसँग सर्वसाधारणले अहिलेसम्म गरेका कामको धन्यवाद दिँदै बाँकी गर्ने कामको बारेमा समेत ध्यानाकर्षण गरेका छन्।

सबै पालिकाको सडकमा पिच र गाउँमा पुर्याएका सडकको स्तरोन्नति र विद्युतीकरण लागि पहल गर्न सबैले साझा एजेण्डा उठाएका छन्। ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीका लागि पहल लिन समेत पूर्वमन्त्री बस्नेतलाई आग्रह गरिएको छ।

नलगाड नगरपालिका–८ स्थित पञ्च भयार माविका शिक्षक वीरबहादुर खत्रीले केन्द्र सरकार, प्रदेश सरकारले पठाएको बजेट सदुपयोग गरी समयमै काम गर्ने वातावरण मिलाए जिल्लाको विकासका लागि ठूलो दुःख गर्नुनपर्ने बताए।

त्यस्तै अर्का उम्मेदवार तथा कांग्रेस जाजरकोटका सभापति वेदराज सिंहलाई स्थानीय तहमा राखिएका कर्मचारीलाई हटाउने प्रयास भएको भन्दै बारेकोट गाउँपालिकाप्रति लक्षित थियो।

सिंहलाई ग्रामीण सडक भरपर्दो बनाउनका लागि पहल गर्न आग्रह गरिएको थियो। मतदाताले खानेपानी, विद्युत्, सडकको स्तरोन्नति, टेलिफोन र इन्टरनेटको सहज उपलब्धता लगायतलाई मुख्य माग बनाएर उम्मेदवारको ध्यानाकर्षण गरेन्। स्वास्थ्य क्षेत्रमा भवन निर्माण भएपछि चिकित्सक नबस्ने समस्या भएको भन्दै व्यस्थापन गर्न आग्रह गरे।

मतदाताले नलगाड जलविद्युत् आयोजनाको डीपीआर कहिले सकिन्छ भनेर पनि पूर्वमन्त्री बस्नेतलाई मतदाताले भनेर प्रश्न गरे। बस्नेतले जिल्लामा अर्बभन्दा बढी बजेट आएर धेरै कामको सुरुवात गरिएको भन्दै पाँच वर्षमा मतदाताले उठाएका सबै कुराको आपूर्ति हुने विश्वास दिलाए।

साविकको कर्णालीभन्दा पछि परेको जाजरकोटलाई मूलधारमा ल्याउन धेरै कामको सुरुवात भएको भन्दै बस्नेतले विश्वास मान्न आग्रह गरे। बस्नेतले यो पटक भोट माग्ने काम मात्र नभएर विकास निर्माणको अनुगमन गर्नेसम्मका काम सँगै भएको बताए। ‘हामीले पठाएको अर्ब बजेटबाट यहाँ के के काम भएरु कामको गुणस्तर के भन्ने कुराको अनुगमण तथा निरीक्षण समेत भएको छ’, उनले भने।

बसनेतले जिल्लामा चार ठाउँमा निर्माणाधीन अवस्थामा रहेका विद्युतका सब स्टेशन, बारेकोटको सौर्य मिनिग्रेट, तीन ठाउँबाट जुम्ला जोड्नका लागि भएका सडकको काम, जाजरकोट जुम्लास्थित सुरुङ मार्ग, नलगाड जलविद्युत आयोजनाको बाटो, कामको अवस्था युद्धस्तरमा अघि बढाउने प्रतिबद्धता जनाए।





error: Content is protected !!