शक्तिको प्रतिक खड्क जाजरकोट दरवारमा

जाजरकोट / तत्कालिन गोरखा राज्यका राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरण अभियानका सिलसिलामा दुइ सय ५४ वर्ष अघि जाजरकोट राज्यलाई उपहार स्वरुप दिएको शक्तिको प्रतिक खड्क अर्थात तरवार बडा दशैको फुलपातीको अवसर पारेर शक्तिको प्रतिकको रुपमा जाजरकोट दरवारमा भित्र्याइएको छ ।
वडादशैंका अवसरमा फुलपाती भित्र्याउने कार्यक्रम अनुसार जाजरकोट राज्यको शक्तिको प्रतीकको रुपमा रहेको उक्त खड्क भेरी नगरपालिका ४ रानागाँउ स्थित कालिका मन्दिरवाट जाजरकोट दरवारमा भित्रयाइएको हो । स्थानीय सर्वसाधारणहरु, सरकारी कर्मचारी र सुरक्षाकर्मीहरुको व्यापक सहभागितामा शंख ध्वनी सहित भेरी नगरपालिका ४ गैरीखालीमा पुजाआजा र सलामी दिएर उक्त खड्कलाइ जाजरकोट दरवार लगिएको हो ।
विक्रम सम्वत १८२५ माघ ५ गते काँसीको मणिकर्णिकाघाटमा गोरखाका राजा पृथ्वीनारायण शाहले तत्कालिन जाजरकोटी राजा हरि शाहसंग नेपाल एकिकरण अभियान सफल पार्ने उदेस्यले धर्मसन्धी गर्दै उक्त खड्क (तरवार) जाजरकोट राज्यलाइ उपहार स्वरुप दिएका थिए । दुइ राज्यका बीचमा एक अर्कालाइ सहयोग गर्ने सम्झौता गर्दै दुवै राजाले मितेरी साइनो गाँसेर उपहार साटासाट गर्ने क्रममा उक्त खड्ग शक्तिको प्रतिकको रुपमा जाजरकोटी राजालाइ दिइएको जाजरकोट राज्यको इतिहासबारे जानकार राजेन्द्रविक्रम शाहले बताउनुभयो ।
उहाँले झन्डै ७ सय वर्ष अघि स्थापना भएको जाजरकोट राज्यको सुरुको राजधानी जगतिपुरमा राखिएको उक्त खड्ग १८५२ सालमा अहिलेको सदरमुकाम खलंगामा राजधानी सारिएपछि दशैंको फुलपातीका दिन विशेष पुजाआजा सहित जगतिपुरवाट खलंगा दरवारमा ल्याउने परम्परा सुरु भएको बताउनुभयो ।
फुलपातीका दिन विशेष पुजाआजा सहित बली दिएर जाजरकोट दरबारमा रहेको जमारा घरमा उक्त खड्ब भित्र्याउने परम्परा रहेको छ । बली दिन र खड्क भित्र्याउन लाग्ने रकम शूरुमा दरबारबाट र पछि गृहमन्त्रालयबाट आउने गरेपनि मुलुकमा गणतन्त्र आईसकेपछि रकम पठाउन छोडिएको छ । रकम अभावमा परम्परालाई निरन्तरता दिनै मुस्किल भएको स्थानिय प्रशासनले जनाएको छ । रकम अभावमा नबमीका दिन राँगाको बली दिने कार्य केही बर्ष यता हुन सकेको छैन । जाजरकोट दरबारमा हाल जिल्ला प्रशासन कार्यालय रहेको छ । पहिला राजाले गर्ने खड्ग पुजा २०१८ साल पछि राज्य रजौटा उन्मुलन सँगै प्रमुख जिल्ला अधिकारीले गदै आएका छन् ।
जगतिपुरमा रहेको जाजरकोट राज्य र देवताको शक्तिलाइ विस्तारै खलंगा स्थित दरवारमा सार्ने उद्देस्यले प्रत्येक वर्ष फुलपातीका दिन पुजाआजा सहित उक्त खड्कलाइ खर्के देउताको रुपमा पुज्दै ल्याउन थालिएको हो । फुलपातीका दिन जाजरकोट दरवारमा भित्रयाइएको उक्त खड्गलाइ दशैंको फुलपाती अर्थात सप्तमी, महाअस्टमी, महानवमी र विजयादशमीको दिन सम्म पन्चे वाचाको ध्वनीका साथ वोका, रांगाको वलि दिएर भव्य रुपमा पुजा आजा गरि दशमीकै दिन टीका लगाईसकेपछि जगतिपुरमै फर्काउने परम्परा रहे पनि मुलुकको १० वर्षे द्धन्दका क्रममा असुरक्षाका कारण उक्त खड्क १७ वर्ष अघि देखि जिल्ला प्रहरी कार्यालयको परिसरमै रहेको कालिका मन्दिरमै राख्ने गरिएको छ ।
अव शान्ति आइसकेकोले खड्गलाइ जगतिपुरको मन्दिरमै राख्नु पर्ने ५३ वर्ष देखि खड्क पुजा गर्दै आएका पुजारी सत्यप्रसाद शर्माले बताउनुभयो । जाजरकोट राज्यको उत्पति र खड्ग सुरुमा राखिएको मन्दिरको गरिमा र महत्व जोगाउनका लागि उक्त खड्कलाइ जगतिपुरमै राख्नुपर्ने पुजारी शर्माको भनाई छ । उहाँले तत्कालिन राजाका पुरोहित अर्थात खर्क देवताका पुजारी आफ्ना हजुरबुवाका बुवा रत्नदास शर्माले उक्त खडग जाजरकोट दरवारमा ल्याउन सुरु गरेको बताउनुभयो ।
जाजरकोटी शाह ठकुरीहरुले मुख्य जिम्मा लिएर मनाइने खर्के देउता पुजा अहिले ओझेल पर्दै गएको छ । विगतमा खर्के देउताको पुजाका वेला स्थानीयहरुको जाजरकोट दरवारमा ठुलो मेला लाग्ने गरेको स्थानीय दलबहादुर शाहले बताउनुभयो । जाजरकोटको इतिहास, सस्कृति र परम्पराको पहिचान झल्काउने खर्के देउता पुजा विगतमा स्थानीय जनता सरकारी कार्यालयको सक्रियतामा गर्ने गरिएपनि अहिले सवैले विर्सदै गएको उहाँले बताउनुभयो । prabha bata










