प्रतिफलमा आधारित कामको प्राथमिकीरण गर्नुस्ः मन्त्री सिंह

जाजरकाेट , कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले प्रतिफलमा आधारित कामको प्राथमिकीकरण गर्न निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाबाट योजना सिफारिस गर्न आज जाजरकोट खलंगामा आयोजित विषयगत कार्यालयहरुको बैठकमा बोल्दै मन्त्री सिंहले प्रतिफलमा आधारित कामका लागि योजना र काममा प्राथमिकीकरण गर्न जिल्लास्थित कार्यालय प्रमुखहरुलाई सुझावात्मक निर्देशन दिनुभयो । चालु आर्थिक वर्ष २०७९ /०८० साउन महिना सकिन लागेको जनाउँदै उहाँले पहिलो चौमासिकमा वित्तिय तथा भौतिक प्रगति देखिने काम गर्नुपर्नेमा जोड दिनुभयो ।

“मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तरगत कर्णालीका दश जिल्ला गरी ५८४ योजना छन,” मन्त्री सिंहले भन्नुभयो, “यसमा साविक कर्णालीका पाँच जिल्लाका प्रत्येक वडामा रु.२०/ २० लाख र बाँकी पाँच जिल्लाका वडाहरुमा रु.१५÷१५ लाख बजेट विनियोजन गरिएको छ ।” उहाँले असारलाई पेश्की फछ्र्यौटको महिनाका रुपमा स्थापित गर्न र अन्य महिनामा सम्पूर्ण काम गर्ने हिसाबले अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार यो महिनाको मसान्तसम्म प्रदेश सरकारको बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वनयका गर्न मुख्यमन्त्री र मन्त्री, मन्त्री र सचिव, सचिव र महाशाखा प्रमुख तथा जिल्लास्थित कार्यालय प्रमुखबीच कार्यसम्पादन सम्झौता गरिने छ ।

आजको उक्त बैठकबाट मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तरगत शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र सिंचाईका योजनाहरु प्रदेश सरकारलाई सिफारिस गरिएको सामाजिक विकास कार्यालय जाजरकोटका कार्यालय प्रमुख खेमप्रसाद ढकालले जानकारी दिनुभयो ।





error: Content is protected !!