मुख्यमन्त्री शाही माओवादी माग सम्वोधन गर्न तयार

सुर्खेत,
सुर्खेत ः साउन ३ गतेदेखि अवरुद्ध कर्णालीको प्रदेशसभा सोमबारदेखि सञ्चालन हुने भएको छ।
आइतबार बसेको गठबन्धनका नेताहरूबीचको छलफलमा माओवादीले उठाएका विषय सम्बोधन गर्न मुख्यमन्त्री जीवनबहादुर शाही सहमत भएसँगै सोमबारदेखि सदन सुचारु हुन लागेको हो। प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्र र सरकारको नेतृत्व गरेको कांग्रेसबीच देखिएको असहमति पटक–पटकको छलफलपछि समाधान भएको हो।
मुख्यमन्त्री जीवनबहादुर शाहीको असहयोग गरेको भन्दै माओवादीले सदनमा सहभागी नहुने बताएको थियो। अहिले माओवादीको कर्णाली प्रदेशको संसदीय दलको बैठक बसिरहेको छ। आइतबार भएको सहमतिबारे आन्तरिक छलफल गर्न संसदीय दलको बैठक बसेको हो ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा सचेतक कृष्ण शाहका अनुसार माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समितिको नेतृत्व घोषणा गर्ने, शहीद स्मृति भत्ता, घाइते अपांगताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको योजना छानबिन गरेर कार्यान्वयन गर्ने सहमति भएको छ। यस्तै शान्ति पुनःस्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लगायतका महत्त्वका विधेयकको कुरामा मिलाएर जाने र मिलेर आएका पारित गर्ने सहमति भएको छ।
आइतबार अबेरसम्म बसेको गठबन्धनको बैठकमा काँग्रेसका तर्फबाट मुख्यमन्त्री जीवनबहादुर शाही, माओवादीका तर्फबाट पूर्व मुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्रबहादुर शाही, पूर्व मन्त्री एवं प्रदेश अध्यक्ष विमला केसी, एकीकृत समाजवादीको तर्फबाट संसदीय दलका नेता एवं कृषि मन्त्री चन्द्रबहादुर शाही, एकीकृत समाजवादी प्रदेश अध्यक्ष अम्मर बहादुर थापा सहभागी थिए।








