तुइनबाटै खाद्यान्न वारपार ः एक ट्रक सामान तुइनबाट तारेको ७ हजार

कर्णाली करिडोर अन्तर्गत हुम्लाको सल्लीसल्ला खण्डको नदीमा पुल निर्माण नहुँदा तुइनबाट खाद्यान्न तार्ने गरिएको छ । हिल्सा सिमकोट सडक योजनाको ढिलासुस्तीका कारण कर्णाली नदीमा पक्की पुल निर्माण नभएपछि तुइनबाट खाद्यान्न तार्ने गरिएको हो ।

पुल निर्माणको लागि टेन्डर आह्वान त भयो तर निर्माणको सुरसार छैन । पुल निर्माणमा ढिला सुस्ती भएपछि दैनिक नेपालगञ्ज, सुर्खेतबाट ढुवानी हुँदै आएका ट्रक, ट्रयाक्टरलाई समस्या भएको छ । पुल निर्माण नभएकाले दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामाग्रीहरु तुइनबाट तानुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । स्थलगत ढुवानी गरिएको खाद्य व्यवस्था व्यापार कम्पनीको चामल कर्णाली नदीमा तुइनबाट तार्ने गरिएको छ ।

एक ट्रक सामान तुइनबाट तारेको ७ हजार

कर्णाली नदीमा निजी लगानीबाटै तुइन निर्माण गरिएको छ । एक ट्रक सामान तुइनबाट तारेबापत तुइनवालालाई ७ हजार तिनुपर्छ । ‘एक ट्रक सामान तुइनबाट तारेपछिको ७ हजार तुइनका मालिक र हामी कामदारले बाँडिचुँडि खान्छौँ,’ मजदुर चन्द बुढाले भने ‘दिनभर घाममा सामान लोडअनलोड गरेर तुइनबाट सामान तार्नुपर्छ हामीलाई फाइदा छैन ।’

ुदैनिक दुईदेखि तीन ट्रकसम्म सामान तुइनबाट तार्ने गरेका छौं’ उनले नयाँ पत्रिकासँग भने, ुपक्की पुल नभएपछि सुर्खेत नेपालगञ्जबाट ढुवानी गरिएका दैनिक उपभोग्य सामाग्री, विकास निर्माणका सामान र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल सल्लीसल्लामै थन्किन बाध्य भएको छ ।ु

तुइनबाट तारिएका चामल हेलिकोप्टरबाट हुम्लाको सदरमुकाम सिमकोट ढुवानी हुने गरेको छ । विकास निर्माणका सामानहरु ट्रयाक्टरबाट सर्केगार्ड गाउँपालिका र चंखेली गाउँपालिका ढुवानी हुने गरेको छ । पक्की पुल निर्माण हुने कुनै सुरसार नभएपछि व्यापारी र स्थानीयबासीले सास्ती खेप्दै आएका छन् ।





error: Content is protected !!