सव स्टेशन निर्माण भएको छ वर्ष पछि प्रशारण लाइनको बाटो खुल्यो

सुर्खेत / प्रदेश राजधानी बीरेन्द्रनगर भन्दा बाहिरको स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्दा यहाँका स्थानीयबासीहरु समस्यामा परेका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका, वराहताल गाउँपालिका र चौकुने गाउँपालिकाका सबै भू–भाग राष्ट्रिय प्रसारण लाइन नपुगेको हो । यहाँका स्थानीयबासीहरु खमारीखोला लघु जलविद्युत आयोजना, बाबियाचौर लघु जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युतबाट सेवा लिइरहेका छन् ।
पश्चिम सुर्खेतमा केन्द्रीय प्रशारण विद्युतको लाइन लिने उदेश्यका साथ वि.सं. २०७३ सालमा पञ्चपुरी नगरपालिका–६ मा विद्युत सवस्टेशन निर्माण भएपनि नेपाल विद्युत प्राधिकरणले तर हालसम्म पनि उक्त सवस्टेशन प्रसारण लाइनसँग जोड्न नसक्दा केन्द्रीय प्रशारण पुर्याउन चुनौति थपिदै आएको छ । प्रशारण लाइन लिनका लागि वन क्षेत्र प्रयोग गर्नुपर्ने भएपछि प्रशारण लाइन लिन नसकिएको प्राधिकरणको भनाइ छ । विद्युत प्राधिकरणले उक्त क्षेत्रमा पोलहरु समेत पु¥याइसकेको छ ।
२०७३ सालमा नेपाल विद्युत् प्राधिकरणले पश्चिम सुर्खेतमा बिद्युतीकरण गर्न भन्दै वावियाचौरमा सवस्टेसन निर्माण गरिएको थियो । तर सञ्चालनमा नआएपछि भने अहिले सवस्टेसनमा भएका संरचना समेत दिन प्रतिदिन बिग्रदो अवस्थामा छन् ।
सव–स्टेशनको काम पुरा भएपनि विद्युत लाईनका लागि सामुदायिक वन क्षेत्र प्रयोग गर्नपर्ने हुन्छ । लाइन विस्तारका क्रममा रुखहरु काटिने भएपछि प्रसारण लाइन विस्तार काम रोकिएको थियो । यता नेपाल विद्युत प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयले भने आयोजनाको काम चाडै सुरु हुने जनाएको छ । प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुख शम्भुकुसियत यादवका अनुसार भर्खरै मात्र अनुमति पाएकाले छिटै काम सुरु हुने बताउनुभयो । यत्ता जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले सुर्खेतमा विद्युतीकरणका लागि सबै खालको सम्पर्क समन्वय र कामको गतीलाइ ध्यान दिएको बताउनुभयो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले समेत विद्युतीकरणमा जलस्रोत तथा उर्जा विकास मन्त्रालयसँग सहकार्य गरिरहेको उहाँले बताउनुभयो ।
३३ केभी विद्युत विस्तारको काम शुरु गरिँदै
कोहलपुर–वीरेन्द्रनगर जोड्ने १३२ केभी प्रिारण लाइन विस्तारमा ढिला हुने देखिएपछि कैलालीबाट ३३ केभी विद्युत विस्तारको काम शुरु गरिएको छ । कोहलपुरबाट ल्याइएको विद्युतले सुर्खेतसहित अन्य जिल्लाको भार धान्न नसकेपछि थप लाइन वीरेन्द्रनगर ल्याउन लागिएको हो । वीरेन्द्रनगर ल्याउन लागिएको विद्युत लाइन कैलाली जिल्लाको चिसापानी–सोल्टा–बाबियाचौर–बड्डिचौर–बाँगेसिमल हुँदै वीरेन्द्रनगरस्थित बुदेबुदे सब–स्टेशनमा जोडिनेछ ।
मोहन्याल गाउँपालिकामा विद्युत विस्तारका लागि सोल्टासम्म ३३ केभी लाइन नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कैलालीले यसअघि नै विस्तार गरिसकेको छ । सोल्टाबाट बाबियाचौरसम्म लाइन विस्तारका लागि २४ किलोमिटरमा थप पोलिङ र तार विस्तार गर्न ठेक्का आह्वान गरिएको छ । यो क्षेत्रमा रुखहरु नपर्ने भएकाले असार १५ गतेसम्म सम्झौता गरेर दुई महिनाभित्र बाबियाचौरस्थित विद्युतको सब–स्टेशनमा विस्तार गरिएको लाइन जोडिनेछ । बाबियाचौरमा करिव तीन वर्ष अघि नै सब–स्टेशनमा आवश्यक विद्युतका सबै संरचना जडान गरिसकिएको छ ।










