प्रतिपक्षीको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

सुर्खेत ः प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद चल्न नदिने चेतावनी दिएसँगै आइतबार देखि अवरुद्ध कर्णाली प्रदेशसभा बैठक अझै सञ्चालनको हुन सकेको छैन । एमालेले आफूसँग भएका सहमति कार्यान्वयन नभए संसद चल्न नदिने अडान लिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले ०७८ माघ १८ मा प्रतिपक्षसँग ७ बुँदे सम्झौता गरेका थिए । एमालेले सोही सम्झौता कार्यान्वयन नभएको भन्दै फेरि संसद अवरुद्ध गर्न थालेको हो ।
आइबार प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता यामलाल कँडेलले सरकारलाई सहमति कार्यान्वयनका लागि सचेत गराए । एमालेका सांसदहरु आफ्नो आसनबाट उठेर विरोध जनाइरहेपछि सभामुख राजबहादुर शाहीले सोमबार तीन बजे बस्नेगरी बैठक स्थगित गरेसँगै बैठक सञ्चालन हुन नसकेको हो ।
सोमबार बोलाएको वैठक स्थगित भएपछि सूचना टाँस मंगलबार बोलाएको प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले बताए । एमाले सचेतक गुलाबजंग शाहले सरकार नै भद्रगोल हुनुका साथै हामीलाइ सरकारले टेरेन । जबसम्म सरकारले प्रतिपक्षसँग गरिएको सम्झौता कार्यान्वयन गर्दैन, तबसम्म संसद चल्न दिइनेवाल छैन ।’
शाहले सम्झौतामा १५ लाखभन्दा तलका टुक्रे योजना नल्याउने सहमति भएको तर सरकारले प्रतिपक्षको कुरा लत्याएर सयौं टुक्रे योजना समावेश गरेको दाबी गरे । सरकारले असारमा आएर धमाधम बजेट रकमान्तर गरिरहेको एमालेको आरोप छ । शाहले प्रतिपक्षसँग गरिएको सम्झौता सरकारले कार्यान्वयन नगरे निरन्तर संसद अवरोध गरिराख्ने चेतावनी समेत दिए ।
तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यकालको अन्तिमतिर पनि एमालेले लगातार प्रदेशसभा अवरुद्ध गरेको थियो । महेन्द्र बहादुरपछि सरकारको नेतृत्व सम्हालेका जीवनबहादुर शाहीले भने प्रमुख प्रतिपक्षी दलसँग ७ बुँदे सम्झौता गर्दै संसदको गतिरोध हटाएका थिए ।








