सदरमुकाम भित्र फोन गर्न रुख चढ्नुपर्ने ?

सुर्खेत /  सूचना प्राविधिको भरपुर विकास भएको भनि जती हल्ला गरेपनि मुगुको सदरमुकाम भित्रका बस्तीहरुमा सञ्चार सेवा नहुँदा रुख चढ्नु परेको छ ।

सदरमुकाम रहेको छायाँनाथ रारा नगरपालिका–१३, लुमगाउँ र १४ वडाको बामगाउँका स्थानीयबासीहरु फोन गर्नका लागि मोवाइल लिएर अग्ला रुख चढ्न बाध्य हुनुपरेको स्थानीयबासी राजेन्द्र बुढाले बताए । दैनिक आफन्तसँग कुरा गर्नका लागि अग्ला रुख नै चढ्नपर्ने बाध्यता आएको उनले गुनासो गरे । सदरमुकाम भित्रका गाउँमा यस्तो हाल छ भने गाउँमा के अवस्था होला उनले प्रश्न गरे ? मुगुमा चारवटा स्थानीय तह रहेको छ । अधिकांश ठाउँमा सञ्चार सेवा उपलब्ध नहुँदा सर्वसाधारणहरु हैरान भएको बताएका छन् ।

नेपाल टेलिकम मुगुका निमित्त कार्यालय प्रमुख गणेश डीसीले गाउँमा सञ्चार सेवा पुर्याउनका लागि टावर निर्माण कार्य जारी रहेपनि निर्माण कम्पनीले सामग्री ढुवानीमा विलम्व गरेका कारण टावर सञ्चालनमा आउन नसकेको बताए ।

नागरिक समाजका अगुवा रुपबहादुर मल्लले सरकारले फोरजीबाट फाइभ जी विस्तार गरे पनि दुर्गमका सर्वसाधारण नागरिकले फोन गर्नैका लागि रुख र डाँडामा चढ्नुपर्ने बाध्यता बारेमा ध्यान नदिएको गुनासो गरे । राज्यबाट दिन प्रतिदिन प्रविधिमैत्रीपूर्ण विकासका कुरा गरे पनि नागरिकले बास्तविकास रुपमा अनुभूति नभएको उनको भनाइ छ ।

नागरिकको समस्या समाधानका लागि नेपाल टेलिकम संवेदनशील भई निर्माण सामग्री छिटो ढुवानी गर्नुपर्ने उनको दबाब छ । गफ लगाएर होइन सेवा प्रदान गरेर मात्र नागरिकले विकास भएको अनूभव गर्ने बताए । गाउँ ,गाउँबाट आफन्तलाइ फोन गर्नका लागि घण्टै हिड्नुपर्ने बाध्यताको अन्त्य सरकारले छिटो गर्नुपर्ने सर्वसाधारणको तर्क छ ।





error: Content is protected !!