कर्णालीमा कसले गुमायो , कस्ले थप्यो ,कस्को प्रभाव कति ?

हेमन्त केसी
सुर्खेट , ९ जेठ ः कर्णाली प्रदेशमा दलहरुको कुनै ठाउँमा प्रभाव क्षेत्र खस्किएको छ भने कत्तै बढेको छ । ७९ स्थानीय तहमा अग्रपंक्तीमा कांग्रेसले जित हात पारेको छ भने दोस्रोमा नेकपा (माओवादी केन्द्र) रहेको छ । नेकपा एमाले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । कर्णालीमा स्वतन्त्र उम्मेदवारले पनि विजय हात पारेका छन् । अन्य पदलाइ पछाडी पादै नेपाली कांग्रेसले स्थानीय तहको चुनावलाइ भरपुर सदुपयोग गरेको पाइएको छ ।
डोल्पामा प्रभाव नभएको कांग्रेसले अहिले ठुलिभेरी नगरपालिका जितेको छ । योे सदरमुकामको पालिकाको हो । त्यस्तै जाजरकोटमा दुइ पालिकामा सिमित कांग्रेस अहिले तीन पालिकामा फराकिलो भएको छ । रुकुम पश्चिममा एक पालिका नजितेको कांग्रेसले अहिले दुइ पालिकामा जित हात पारेको छ । २०७४ मा २४ पालिका जितेको कांग्रेसले अहिले अगाडी बढेर ३२ जित हात पारेको छ ।
कांग्रेसले रूकुम पश्चिमका दुई, सुर्खेतका चार, जाजरकोटका तीन, हुम्लाका तीन, कालीकोटका दुई, जुम्लाका पाँच, मुगुका दुई, डोल्पाका एक, सल्यानका पाँच र दैलेखका पाँच पालिकाको नेतृत्व जित्न सफल भएको छ । कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट प्रमुखमा १२, अध्यक्ष २०, उपप्रमुखमा १०, उपाध्यक्षमा १७, वडाध्यक्ष २५३, महिला सदस्य २५३, दलित महिला सदस्य २१७, वडा सदस्य ४६८ गरी कूल एक हजार २५० जना उम्मेदवार निर्वाचित भएका छन् ।
माओवादी केन्द्रले पहिला प्रभाव राखेका पालिकामा हार व्यहोर्नु परेको छ । जुम्लाको गुठिचौर , जाजरकोटको जुनिचाँदे , रुकुम पश्चिको बाँफीकोट , मुसीकोट लगाएतका छन् । २०७४ सालमा २६ पालिका जितेको माओवादी अहिले २३ स्थानमा नै चित बुझाउनु परेको छ । तीन पालिका गुमाउनु परेको छ । यहाँ प्रभाव क्षेत्र खस्किएको छ । माओवादी केन्द्रले रूकुम पश्चिमका चार, सुर्खेतका एक, दैलेखका दुई, जाजरकोटका एक, हुम्लाका तीन, कालीकोटका पाँच, जुम्लाका दुई, मुगुका एक, डोल्पाका दुई र सल्यानका दुई पालिकाको नेतृत्व लिएको छ। विसं २०७४ को निर्वाचनमा एउटा पनि पालिका नजितेको दैलेखमा यसपटक दुई र सुर्खेतमा एक पालिकामा विजय हासिल गरेको छ।
नेकपा (माओवादी केन्द्र) बाट प्रमुख पाँच, अध्यक्ष १८, उपप्रमुख ५, उपाध्यक्ष २०, वडाध्यक्ष २२३, महिला सदस्य २१५, दलित महिला सदस्य २२२, वडा सदस्य ४१५ गरी कूल एक हजार १२३ जना उम्मेदवार निर्वाचित भएका छन् । नेकपा (एमाले) बाट प्रमुख ६, अध्यक्ष नौ, उपप्रमुख आठ, उपाध्यक्ष १२, वडाध्यक्ष १८४, महिला सदस्य १९१, दलित महिला सदस्य १९२, वडा सदस्य ४३५ गरी कूल एक हजार ३७ जना उम्मेदवार निर्वाचित भएका छन् ।
त्यस्तै नेकपा एमालेलाइ सबै भन्दा ठुलो क्षेती भएको छ । विसं २०७४ को निर्वाचनमा २६ पालिकाको नेतृत्व लिएर पहिलो दल बनेको एमाले यसपटक तेस्रो स्थानमा खुम्चिएको छ । एमालेले भने कर्णालीका कालीकोट, हुम्ला, मुगु, जुम्ला र रुकुम पश्चिमका कुनै पनि पालिकाको नेतृत्व लिन सकेन। एमालेले यसपटक सुर्खेतका चार, दैलेखका चार, जाजरकोटका तीन, डोल्पाका दुइ र सल्यानका दुई पालिकाको मात्र नेतृत्व पाएको छ।
एकीकृत समाजवादीले डोल्पाका दुई, मुगु र सल्यानका एक÷एक पालिकाको नेतृत्व पाएको छ। नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष चार, उपप्रमुख दुई, उपाध्यक्ष चार, वडाध्यक्ष २९, महिला सदस्य ३८, दलित महिला सदस्य २८, वडा सदस्य ७४ गरी कूल १७९ जना उम्मेदवार निर्वाचित भएका छन् । नेपाल मजदुर किसान पार्टीबाट वडाध्यक्ष सात, महिला सदस्य सात, दलित महिला सदस्य ६, वडा सदस्य ११ गरी कूल ३१ जना उम्मेदवार निर्वाचित भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्ष एक, महिला सदस्य दुई, दलित महिला सदस्य एक, वडा सदस्य सात गरी कूल ११ जना उम्मेदवार निर्वाचित भएका छन् ।
यसपटकको निर्वाचनमा हुम्लाको चङ्खेली गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। जबकि विसं २०७४ को निर्वाचनमा सल्यानमा एक र डोल्पाका तीन पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए।
यो पटक स्वतन्त्रबाट प्रमुख पदमा दुई, अध्यक्ष तीन, उपाध्यक्ष एक, वडाध्यक्ष २०, महिला सदस्य नौ, दलित महिला सदस्य १०, वडा सदस्य २३ गरी कूल ६८ जना उम्मेदवार निर्वाचित भएका छन् । कर्णाली प्रदेशमा प्रमुख पदमा २५, अध्यक्ष ५४, उपप्रमुख २५, उपाध्यक्ष ५४, वडाध्यक्ष ७१७, महिला सदस्य ७१६, दलित महिला सदस्य ६७७, वडा सदस्य एक हजार ४३३ गरी कूल तीन हजार ७०१ जना उम्मेदवार निर्वाचित भएका छन् ।








