कांग्रेस–माओवादीले ‘स्पेश’ नदिएपछि समाजवादीको गाउँ कमिटी नै एमालेतिर


दैलेख ः दैलेखको ठाटीकाँध गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)को गाउँ कमिटी नै एमालेमा प्रवेश गरेको छ । गठबन्धनको निर्णय अनुसार नेपाली काँग्रेस र माओवादीले ‘स्पेश’ नदिएपछि कमजोर रहेको समाजवादी बुधबार एमालेमै फर्कीएको हो । प्रदेश स्तरिय गठबन्धनको निर्णय अनुसार ठाटीकाँधमा अध्यक्ष माओवादी, उपाध्यक्ष काँग्रेस र वडाहरुमा समाजवादीलाई भाग मिलाएको थियो । तर काँग्रेस–माओवादी नै एक्ला एक्लै चुनावी मैदानमा होमिएका छन् ।
एकीकृत समाजवादीका ठाटीकाँध गाउँ कमिटी अध्यक्ष नारायण जैशीले वैशाख १७ मा एक विज्ञप्ति सार्वजनिक गर्दै पाँच दलिय गठबन्धनको निर्णय आफु मान्न तयार रहेपनि काँग्रेस, माओवादीले गठबन्धनको मर्म र स्प्रीट विपरित गएको भन्दै विज्ञप्ति जारी गरेका थिए । जारी विज्ञप्तिमा भनिएको छ ,‘माओवादी केन्द्रसँगको तालमेल अनुसार फिर्ता गराइ आफ्नो उम्मेदवारी फिर्ता नलिने गरी अनैतिक कार्य गरेको हुँदा हाम्रो पार्टी घोर भत्सना गर्दछ । साथै कुनै पनि राजनैतिक दलसँग तालमेल नगरेको जानकारी गराइन्छ ।’ यद्यपि त्यसको ठिक चारदिनपछि कमिटीनै एमालेमा प्रवेश गरेको छ ।
बुधबार जारी विज्ञप्तिमा भनिएको छ ,‘ठाटीकाँध गाउँपालिकाको समृद्धि, उन्नती, प्रगती र नमूना गाउँपालिका निर्माणका लागि तथा भावी पुस्ताको सुन्दर भविष्यको लागि पार्टी एकताको विकल्प छैन । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तरगर्त समाजवादी पार्टीबाट उम्मेदवारी दिनुभएका उम्मेदवारहरुको उम्मेदवारी निस्किृय रहने र नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुलाई विजयी गराउने र परिणाममुखी भूमिका निर्वाह गर्ने जानकारी गराउँदै समाजवादी एमाले ठाटीकाँध गाउँपालिका कमिटिमा पार्टी एकतासहित समाहित भएको छ।’
एमाले निकट प्रधानाध्यापकले समाजवादी निकट शिक्षकलाई स्वागत गरेपछि..
पार्टी प्रवेश कार्यक्रममा रोचक त के छ भने एउटै विद्यालयका एमाले निकट प्रधानाध्याकले समाजवादी निकट शिक्षकलाई स्वागत गरेका छन् । श्री कृष्ण माध्यामिक विद्यालयकी प्रधानाध्यापक इलामल्ल शाही एमालेकी खुङ्खार कार्यकर्ता हुन् । उनी ठाटीकाँध गाउँपालिकाका वर्तमान अध्यक्ष धीरबहादुर शाहीकी श्रीमति समेत हुन् । पार्टी प्रवेश कार्यक्रममा उनै मल्लले सोही विद्यालयका समाजवादी निकट मानिने शिक्षक दिलबहादुर रावतलाई स्वागत गरेकी छन् । रावत शिक्षक भएपनि हरेक जसो राजनीति कार्यक्रममा नियमित सहभागि हुने गरेको विद्यालयका एक शिक्षकले रातोपाटीलाई जानकारी दिए । केही समयअघि माधवकुमार नेपाल सुर्खेत आउँदा समेत रावत कार्यक्रममा सहभागि हुन सुर्खेत पुगेका थिए ।
मल्ल पनि एमालेका हरेक जसो कार्यक्रममा सहभागि हुने गरेकी छन् । साथै उनले विद्यालयमा शैक्षिक सुधारात्मक कुरा भन्दा पनि बढ्ता राजनीति गर्ने गरेको विद्यालयकै शिक्षक विद्यार्थीहरुको आरोप छ । रावतले अझै पनि जागिर नछाडेको एमाले ठाटीकाँध गाउँ कमिटी अध्यक्ष कुमार विक्रम शाहीले बताए ।
पार्टी प्रवेश कार्यक्रममा शिक्षक रावत दोसल्ला ओडेर उभिएको देखिन्छ । उक्त कार्यक्रममा एमाले केन्द्रीय सदस्य राजबहादुर बुढा, कर्णाली प्रदेश कमिटि अध्यक्ष विनोदकुमार शाह, एमाले नेताहरु सुर्यबहादुर शाही, धीरबहादुर शाही, एमालेको तर्फबाट ठाटीकाँध गाउँपालिकाको अध्यक्षको उम्मेदवार लक्ष्मीदेवी शाह लगाएतको उपस्थिती थियो । उम्मेदवार शाह प्रदेश अध्यक्ष विनोद शाहकी श्रीमति हुन् । प्रदेश अध्यक्ष शाही यतिबेला आफ्नी श्रीमतिलाई जिताउनका लागि गाउँ अभियानमा सक्रिय छन् ।










