अनिलका बुवा भन्छन् ः ‘मेरो रगत देशले मागेको छ भनिरहन्थ्यो ’

सुर्खेत ः नेपाली सेनाको इटहरीस्थित कृष्णदल गणमा कार्यरत गुर्भाकोट नगरपालिका–१४ का ३२ वर्षीय अनिल गुरुङ गत पुस ७ मा अफ्रिकी मुलुक कंगो गएका थिए । १३ वर्षअघि सेनामा भर्ना भएका गुरुङ मिलनसार, कर्तव्यनिष्ट र युद्धकलामा निपुण सिपाही मानिन्थे । उनको मंगलबार कंगोमा हतियारधारी समूहको आक्रमणमा मृत्यु भएको छ ।

मृत्युको खबर सुनेदेखि उनका बुवा लालबहादुर विक्षिप्त छन् । लामो प्रयासपछि कान्तिपुरको सम्पर्कमा आएका उनी छोराको कुरा गर्दा पटकपटक भक्कानिए । ‘देशको सेवा गर्छु भनेर सेनामा भर्ती भएको छोरोले परदेशमा वीरगति पायो,’ उनले भने, ‘मेरो रगत देशले मागेको छ भनिरहन्थ्यो ।’

गुरुङसँगै सेनामा भर्ती भएका सुर्खेत, वीरेन्द्रनगरका कमल पुनले उनी बहादुर र मिलनसार सिपाही भएको बताए । ‘कसैसँग उसले नराम्रो व्यवहार गरेन,’ उनले भने, ‘कसैलाई नबिझाउने मानिसलाई भगवान्ले चाँडै लगे ।’ उनका अनुसार खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा पनि गुरुङ अब्बल थिए । गुरुङले काठमाडौं सोह्रखुट्टेकी विद्या महर्जनसँग १२ वर्षअघि विवाह गरेका थिए । विद्या ९ वर्षीय छोरासहित काठमाडौंमा बस्छिन् । लालबहादुरले मंगलबार नाति नाता पर्ने चन्द्रबहादुर गुरुङमार्फत छोराको खबर पाएका थिए । ‘दैवले बरु मलाई नै लगेको भए हुन्थ्यो,’ उनले भक्कानिँदै भने, ‘आफ्नो किरिया गर्ने छोरा मरेको पीडा कसरी सहने रु’

उनलाई छोराको शव एक साताभित्र नेपाल आइपुग्ने जानकारी आएको छ । सेनाको पश्चिम कमान्डले अनिल गुरुङको शव नेपाल ल्याउन पहल भइरहेको जनाएको छ । कमान्डपति उपरथी प्रेम शाहीले भने, ‘उनको कर्तव्यपालनको कदर गर्दै नेपाली सेनाका तर्फबाट राहतलगायत सहयोग गुरुङका परिवारलाई प्रदान गरिनेछ ।’





error: Content is protected !!