बलात्कार मुद्दामा बयान बदल्ने महिलालाई ३ महिना कैद

दैलेख ः बलात्कार गरेको भन्दै उजुरी दिएकी एक २२ वर्षीया महिलाले बयान बदलेपछि जिल्ला अदालत दैलेखले उनलाई तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको छ।
प्रहरीमा दिएको उजुरीको बेहोरा विपरीत अदालतमा उजुरीकर्ता महिलाले बयान फेरेपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले बिहीबार उनलाई तीन महिना कैद र पाँच हजार जरिवाना तोकेको हो ।
महिलाले गाउँको रिसिबीका कारण उजुरी दिएको भन्दै अदालतमा बयान फेरेको जिल्ला अदालत दैलेखका सूचना अधिकारी टिकाराम न्यौपानेले बताए ।
राज्यका श्रोत, साधन, र जनशक्तिलाई अनुत्पादक काममा खर्च गराएको भन्दै उक्त सजाय गरिएको फैसलामा उल्लेख छ। बलात्कारको आरोप लागेका भगवतीमाई गाउँपालिका–५ का २३ वर्षीया दीपेन्द्र चन्दले सफाइ पाएका छन् ।
चन्द चार महिनादेखि जिल्ला कारागार दैलेखमा थुनामा रहेका थिए ।



