ओलीका अपराधहरू जनतामाझ लैजानुपर्छ – माधव नेपाल

काठमाडौँ ः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीका अपराधहरु जनतामा लैजानुपर्ने बताएका छन् ।

काठमाडौंमा बुधबार भएको पार्टीको वाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले ओलीका अपराधहरुलाई जम्मा गरेर जनतासमक्ष लैजानुपर्ने बताएका हुन् । केपी ओलीका अपराधहरु के के हुन् । जति छन् त्यो तयार गरेर हामीले जनताको माझमा लैजानुपर्छ । भ्रष्टाचार, राष्ट्रघात, जनविरोधी काम, अनुचित कामसँग जोडिएका, कम्युनिस्टहरुको आचरणसँग मेल नै नखाने, आदर्शसँग मेल नै नखाने, त्यस्ता खालका, उनले भने ।

उनले बैठकको क्रममा केपी ओलीलाई झुटो बोल्न माहिर रहेको र जे पनि भनिदिन सक्ने नेताको रुपमा चित्रित गरेका थिए । उनले भनेका थिए ,एउटा कुरा त हामीले बुझेका छौं, केपी ओली झुटो बोल्न माहिर छन् । उनले जे पनि भनिदिन सक्छन् ।’ अध्यक्ष नेपालले ओलीलाई विदेशीको आड रहेको आरोपसमेत लगाए ।

पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न पनि उनको आग्रह थियो । उनले आफ्नो शक्ति बलियो भएमात्र अरुसँगको तालमेलको अर्थ रहने भन्दै आफ्नो स्थिति कमजोर भएको बेलामा अनावश्यक कुरा सोच्नु नहुने बताए । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा समाज र पार्टीले चिनेको मान्छेलाई मात्रै उम्मेदवारीमा उठाउनु पर्ने बताए ।

अध्यक्ष नेपालले तत्कालीन नेकपामा ओलीले दाउपेच खेलेपछि आफूले पनि राजनीतिक दल विभाजनसम्बन्धी विधेयकमा २० प्रतिशतमा झारेर पार्टी दर्ता गराएको बताए । अध्यक्ष नेपालले भने, ‘४० पर्सेन्ट, ४० पर्सेन्ट भनेर कुरेर बसिरहेका थिए । हामीले पनि घटाएर २० प्रतिशतमा झार्‍यौं । उनले मात्रै जान्दछन् दाउपेच । १४ वर्ष जेल बसेका थिए, १४ वर्षपछि मात्रै केन्द्रीय कमिटीमा आएका हुन्, त्यस्ताले धेरै फूर्ती नदेखाए हुन्छ ।

अध्यक्ष नेपालले सबै गठबन्धन मिलेर चुनावमा प्रतिस्पर्धा गरेमात्रै नेकपा एमालेलाई पराजित गर्न सकिने बताए । उनले ओलीको घमण्डलाई चकनाचुर पार्ने कुरामा नेपाली कांग्रेस पनि सहमत रहेको दाबी गरे ।





error: Content is protected !!