डोल्पा सदरमुकाम झण्डै एक महिनादेखि अँध्यारो

डोल्पा ः विद्युत आयोजना बिग्रिएपछि जिल्ला सदरमुकाम दुनैका बासिन्दा २५ दिनदेखि अँध्यारोमै बस्न बाध्य छन् । स्थानीय स्तरमा उत्पादित विद्युत आयोजना जैरीगाड जलविद्युतमा समस्या आएपछि दुनै र आसपासका उपभोक्ताले बत्ती बाल्न पाएका छैनन् ।

ठूलीभेरी नगरपालिकाको २ नम्बर वडास्थित जैरीगाड जलविद्युत आयोजनाबाट उत्पादित विद्युत बन्द हुँदा विद्युत सेवा अवरुद्ध भएको हो । दुई वटामध्ये एउटा डाइनामो पहिल्यै बिग्रिएको थियो ।

जसकारण सर्वसाधारणदेखि व्यवसायी, उद्योगी तथा सरकारी र गैरसरकारी कार्यालयको नियमित कामकाज पनि प्रभावित बनेको छ । २ सय किलोवाट विद्युत उत्पादन क्षमताको उक्त विद्युत आयोजनाबाट १ हजार ६ सय परिवार लाभान्वित थिए ।

तर विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ताहरू दैनिकी प्रभावित भएको गुनासो गर्न थालेका छन् । ठूलीभेरी नगरपालिका–२ की विमल रोकाय भन्छिन्, ‘झण्डै एक महिनादेखि बिजुली बलेको छैन । बिजुली अभावमा नियमित गतिविधि सजिलै भइरहेका छैनन् ।’ नेपाल विद्युत प्राधिरकणरले निर्माण गरेको यो विद्युत आयोजनाको सम्पूर्ण सञ्चालन पनि विद्युत प्राधिकरणले गरिरहेको छ ।

दुनैस्थित प्राधिकरणको वितरण केन्द्रले भने ओभर लोड बिजुली प्रयोग भएका कारण विद्युत आयोजनामा खराबी आएको जनाएको छ । वितरण केन्द्रका एक जना कर्मचारी जितकुमार सिङले थोरै विद्युतले धेरै उपभोक्तामा सेवा पुर्‍याइरहेका बेला ओभर लोड भएपछि समस्या आएको बताए । तर मेसिनमा देखिएको खराबी समाधान गर्ने प्रयास भइरहेको उनले बताए ।

विद्युत आयोजनामा खराबी आएपछि प्राधिकरणले यसको मर्मतमा प्रयास गरिरहेको जनाएको छ । यसअघि दुई पटक गरिएको प्रयास सफल हुन नसकेको बताइन्छ । अहिले तेस्रो पटक मर्मत प्रयास भइरहेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीले अबको केही दिनमा बिजुली बल्ने आशा गरिएको प्रतिक्रिया दिए । विद्युत अवरुद्ध भएपछि पटक पटक मर्मतको प्रयास गर्दा पनि समाधान हुन नसकेपछि प्राधिकरणको सुर्खेतका प्रमुख समेतको उपस्थितिमा अवस्था विश्लेषण भइसकेकाले अब छिटै बिजुली सुरु हुने प्रजिअ अधिकारीले बताए ।

विद्युत मर्मतका लागि ५ लाख बढी लगानी गर्नुपर्ने भएकाले पनि विद्युत मर्मतमा ढिलाइ भएको बताइएको छ । ५ लाख बढी लगानी गर्नुपर्ने अवस्थामा त्यसको मूल्यांकन र अनुगमन प्रदेश प्राधिकरणले गर्नुपर्ने भएकाले अनुगमनमा ढिला भएपछि समस्या भएको हो ।

उक्त आयोजनाबाट ठूलीभेरी नगरपालिकाका अधिकांश र त्रिपुरासुन्दरी नगरपालिकाका केही ठाउँमा विद्युतीकरण गरिएको छ । डोल्पामा हालसम्म केन्द्रीय प्रशारण लाइन जोडिएको छैन । त्रिपुरासुन्दरी नगरपालिकाको केही क्षेत्रसम्म पोल गाडिए पनि विद्युत सप्लाइ भने भएको छैन । २ वर्षभित्र राष्ट्रिय लाइनलाई सबै जिल्लामा पुर्‍याउने योजना सरकारको भएकाले त्यतिबेलासम्म केही न केही हुने आशा गर्न सकिने प्रजिअ अधिकारीले बताए ।





error: Content is protected !!