संगीत कक्षाले विद्यार्थीमा उत्साह
रुकुम पश्चिम ः आठबीसकोट नगरपालिका–९ स्थित बाल कल्याण माध्यमिक विद्यालयकी कक्षा १० की छात्रा शिवानी चन्द पढाइको साथमा विद्यालयका अतिरिक्त क्रियाकलापमा पनि अब्बल छिन् । सहिद स्मृति नमुना माविमा कक्षा ८ पढ्ने सौरव बुढा पनि अभिनय, नृत्य र गायनमा निरन्तर सहभागी हुन्छन् ।
नगरपालिकाका १८ वटै माध्यमिक विद्यालयका विद्यार्थीहरूले नियमित रुपमा नृत्य, अभिनय तथा गायनको नियमित कक्षा लिइरहेका छन् । विद्यालयमा हुने संगीत पढाइले विद्यार्थीलाई पठनपाठनमा पनि हौसला दिइरहेको छ । नगरपालिकाले विद्यालयहरूमा पढाउनका लागि ६ जना संगीत शिक्षक खटाएको छ । २ विद्यालयमा पूरा समय दिने संगीत शिक्षक नियुक्त छन् भने अरु विद्यालयमा सातामा पालैपालो संगीत विषयको पढाइ भइरहेको छ । दुवै विद्यालयमा दैनिक संगीतको पठनपाठन हुन्छ ।
सहिद स्मृति नमुना माविका शिक्षक लक्ष्मण अधिकारीले विद्यालयका सबै कक्षामा दैनिक एक पिरियड संगीतको मात्रै पढाइ हुने गरेको बताए । उनका अनुसार संगीत विषयअन्तर्गत कुनै दिन नाच, कुनै दिन गायन र कुनै दिन अभिनयका विषयमा विद्यार्थीलाई सिकाउने गरिएको छ । बाल कल्याण माविकी शिवानी चन्दले सुरुमा अठ्यारो लागे पनि अब भने सजिलो भइसकेको बताइन् । संगीतका विषयमा पढ्दै र अभ्यास गर्दै गर्दा बानी परिसकेको उनको भनाइ छ । ‘संगीतले पठनपाठनको साथमा अरु विषयको ज्ञान पनि बढ्दै गएको छ,’ उनले भने, ‘आफ्नो रुचीकै विषय भएकाले भविष्यमा संगीतमै केही गर्ने सोच छ ।’
बाल कल्याण माविका संगीत शिक्षक जयप्रकाश परियारले अरू विषयजस्तै संगीतलाई पनि नियमित पढाइमा राखिएको बताए । उनका अनुसार विद्यालयहरूमा सानादेखि ठूला विद्यार्थीमा संगीत सिक्ने रहर छ । ‘संगीत सिक्न पनि विद्यालय जानुपर्छ भन्ने भावना विद्यार्थीमा विकास भएको छ,’ उनले भने, ‘अरू विषय पढ्दा लागेको थकान विद्यार्थीले संगीतको पढाइबाट मेटेका छन् ।’ उनले विद्यालयहरूमा आधुनिक, मौलिक, हिपअपलगायतका नृत्य, गीत र गायनका विभिन्न विधामा सिकाइरहेको जानकारी दिए ।
नगरपालिकाको शिक्षा, युवा खेलकुद तथा शाखाका शिक्षा परीक्षक थलवीर ओलीले विद्यार्थीको चौतर्फी विकासका लागि संगीत शिक्षक नियुक्त गरी पठनपाठन गराइरहेको बताए । उनका अनुसार नगरपालिकामा १४ जना संगीत शिक्षकको दरबन्दी कायम गरिएको छ । अहिले ६ जना शिक्षकको पदपूर्ति भएको छ । ‘बेलाबेला गीत, नाच, अभिनयको आवश्यक्ता परेको पनि हुन्छ,’ उनले भने, ‘विद्यार्थीको रुची बढ्दै गएपछि संगीतको पढाइ सुरु गरेका हौं ।’