बर्सेनि २० हजारको निःशुल्क उपचार

‘रुकुम पश्चिम ः चौरजहारी अस्पतालले वर्षमा झन्डै २० हजार बिरामीको निःशुल्क उपचार गर्दै आएको छ । गत वर्ष मात्रै अस्पतालले १९ हजार ५ सय जनाको बिरामीको निःशुल्क उपचार गरेको छ ।

चौरजहारी अस्पताल सामुदायिक अस्पताल हो । अस्पतालमा रुकुम पश्चिम र पूर्वसहित सल्यान, जाजरकोट, रोल्पा, डोल्पालगायत जिल्लाका बिरामी विशेषज्ञ सेवा लिन आउने गरेका छन् । आर्थिक वर्ष २०७४/ ०७५ मा १९ हजार ३ सय ५३ जनाको निःशुल्क उपचार गरेको अस्पतालले २०७५/ ०७६ मा २० हजार १ सय ६२ जनालाई निःशुल्क सेवा दिएको थियो । अघिल्लो वर्ष १७ हजार ८ सय जनाको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले पैसा तिर्न नसक्नेबाट उपचारवापतको शुल्क त लिँदैन नै उनीहरूले अस्पताल रहँदा खाएको र बसेको रकमसमेत अस्पतालले नै तिरिदिने गरेको छ । २०५२ देखि सञ्चालनमा रहेको अस्पतालले हरेक वर्ष यसरी नै अति विपन्न बिरामीको उपचार गरिरहेको हो । अस्पतालमा वर्षमा उपचारका लागि झन्डै एक लाख आसपासको संख्यामा बिरामीहरू आउने गरेका छन् । त्यसमा झन्डै २० प्रतिशत बिरामीले हरेक वर्ष निःशुल्क उपचार पाइरहेका छन् । गत वर्ष १ लाख ९ हजार जना बिरामी अस्पतालमा उपचारका लागि आएका थिए ।

जाजरकोटका टीकाराम बाँठाले आफू झन्डै १८ महिनासम्म अस्पतालमा बसेको र त्यसबापतको उपचार शुल्क आफूले तिर्नु नपरेको बताए । खुट्टामा आएको समस्याको उपचारका लागि बस्दा उपचार खर्च, खाने र बस्ने रकमसमेत अस्पतालले बेहोरेको उनको भनाइ छ । उनी अस्पतालमा बसेकै बेला ९ र १० कक्षा पनि पढेका हुन् । अहिले उनी अस्पतालमै जागिरे छन् ।

अस्पतालका प्रशासक डिलबहादुर गिरीले पैसा नभएकै कारण कोही व्यक्ति उपचार सेवाबाट वञ्चित नहोऊन् भनेर अस्पतालले सहयोग गरिरहेको बताए । उनका अनुसार बिरामीले पैसा तिर्न सक्ने अवस्था देखिएमा त्यस्तो व्यक्तिको उपचार निःशुल्क हुने गरेको छ । ‘बिरामीले शुल्क तिर्न सक्दैन, अवस्था गाह्रो छ भन्ने कुरा भने पुष्टि हुनुपर्छ,’ उनले भने, ‘केही बिरामीलाई त विभिन्न तालिम र रोजगारी दिएर जीविकोपार्जनमा पनि सहयोग गरिरहेका छौं ।’

अस्पतालले विपन्न बिरामीको उपचारका लागि बर्सेनि झन्डै १ करोड रुपैयाँ खर्चिने गरेको जनाएको छ । गत वर्ष १ करोड ६९ लाख ६० हजार ६ सय ९८ रुपैयाँको निःशुल्क उपचार गरेको अस्पतालको तथ्यांक छ । चालु आर्थिक वर्षमा पुस मसान्तसम्म १२ हजार ७० जनाको उपचार निःशुल्क गरिएको गिरीले जानकारी दिए । अस्पताललमा ३ जना विशेषज्ञ र ३ जना मेडिकल अधिकृतसहित झन्डै १ सय स्वास्थ्यकर्मी कार्यरत छन् । दैनिक ४ सय जनासम्म बिरामी आउने गरेको अस्पतालमा दिनमा १० देखि १५ वटासम्म शल्यक्रिया हुने गरेको छ ।





error: Content is protected !!