कर्णाली प्रदेशसभामा एमालेको अलमलः सरकारलाई साथ कि विरोध ?

कर्णाली प्रदेशमा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुख्यमन्त्री होउञ्जेलसम्म विभिन्न विषयलाई एजेण्डा बनाउँदै लगातार संसद चल्न नदिएको एमाले अहिले वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीप्रति भने लचिलो देखिन्छ । संसदमा न सरकारलाई रचनात्मक रुपमा सहयोग गरेको जस्तो देखिन्छ, न सरकारका गलत गतिविधिहरूको खरो रुपमा विरोध नै गरेको जस्तो देखिन्छ । यसरी कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष भूमिकामा रहेको नेकपा एमालेले दोहोरो चरित्र देखाइरहेको छ ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले पटक–पटक संसदमा भन्दै आएका छन्, ‘सरकार सहि बाटोमा हिँडे हाम्रो रचनात्मक सहयोग हुन्छ ।’ तर उनै कँडेलले अचेल संसदमा बोल्दा अस्पष्ट धारणा राखिरहेका हुन्छन् । उनको बोली सरकारलाई साथ दिएको जस्तो पनि देखिन्छ, विरोध गरेको जस्तो पनि ।

माघ १८ मा एमालेले सरकारसँग एक खालको सम्झौता गर्यो । उक्त सहमतिअनुसार प्रतिपक्षले सरकारलाई रचनात्मक सुझाव दिँदै संसद सञ्चालनमा सहयोग गर्ने भनिएको छ । तर प्रदेशसभाको नवौँ बैठकको १० औं बैठकमा एमालेले आफैले सम्झौता गरेको ७ बुँदेलाई हतियार बनाएर संसद अवरुद्ध गर्यो । लिखित धारणा नआएको भन्दै उसले संसद अवरुद्ध गरेको जिकिर गर्यो । त्यो दिन एमालेले संसद चल्न दिएन । जबकि सोही दिन मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले ७ बुँदै समझदारीको कार्यान्वयनमा भएको प्रगतिबारे मुख्यमन्त्रीले सरकारको धारणा सार्वजनिक गर्ने कार्यसूची रहेको बताएको थियो ।

सचिवालय स्रोतले भन्यो,‘सरकारको धारणा पछि चित्त नबुझे अवरोध गर्ने हो । धारणा नै राख्न नदिई सरकारले समझदारी कार्यान्वयन गरेन भनेर कसरी विपक्षी दलले संसद अवरुद्ध गर्न सकेको होला ? ’

तर बुधबार नवौं अधिवेशनको एघारौं बैठकमा एमाले संसदीय दलका नेता कँडेलले सुरुमै बोल्ने समय मागेर पूर्ण रुपमा सरकारको समर्थन मात्रै गरेनन्, मुख्यमन्त्री शाहीको प्रशंसा पनि गरे । झण्डै १५ मिनेट भन्दा बढी समय बोलेका उनले राजनीतिक परिदृश्यमा देखिएका घटनाक्रमको पात्र आफूहरु सबै भएको भन्दै सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको उद्घोष गरे । उनले वर्तमान मुख्यमन्त्रीको कार्यशैली सही र पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यशैलीको लगातार विरोध गरे । उनले भने,‘कर्णालीको परिचय फेरिएको छ । फरक परिचयको साथ सरकार अघि बढ्दै छ । विगतको सरकारको अयोग्यताका कारण चार बर्ष खेर गयो ।’

‘कँडेलको प्रायः मन्तव्य पूर्व मुख्यमन्त्री लक्षित विरोधी, वर्तमानको प्रशंसा गरेर आफू जहिले सहि मार्गमा उभिएको जस्तो हुन्छ । तर उनको यस्तो शैलीले न सरकारलाई रचनात्मक सहयोग पुगेको जस्तो देखिन्छ, न सरकारका गलत कामकारबाहीको विरुद्धमा खरो रुपमा उत्रिएको जस्तो नै देखिन्छ,’ नेकपा माओवादी केन्द्रका एक सांसदले भने,‘वर्तमान मुख्यमन्त्रीले प्रतिपक्षसँग साँठगाँठ गरेर पूर्व मुख्यमन्त्रीलाई असक्षम देखाउने खेल भइरहेको छ । तर पनि हाम्रो संसदीय दलका नेताको कुनै प्रतिक्रिया छैन ।’

कँडेलले यस अघिको सरकार, सरकारमा रहेका व्यक्तिले नभई अन्त कतैबाट चलाइरहेको भन्दै खरो टिप्पणी गरेका थिए । तर, अहिले भनिरहेका छन्,‘सभामुख महोदय, हामी सरकारलाई रचनात्मक सहयोग गर्न तयार छौं।’ यसरी प्रतिपक्षले साथ दिन्छौं भनेपछि सभामुख राजबहादुर शाहीले बुधबारको बैठकको कार्यसूची अघि बढाएका थिए ।





error: Content is protected !!