प्रत्येक महिना प्रगति विवरण पठाउन मन्त्री सिंहको निर्देशन

सुर्खेत ः बजेट खर्च न्यून भएपछि कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जिल्लास्थित कार्यालय प्रमुखलाई प्रत्येक महिनाको प्रगति विवरण पठाउन निर्देशन दिएका छन्।
१० जिल्लाका कार्यालय प्रमुखसँग छलफल गर्दै मन्त्री सिंहले प्रत्येक महिना खर्चको विवरणसँगै प्रगति विवरण पेश गर्न आग्रह गरेका हुन्। बजेट कार्यन्वनमा समस्या देखिएपछि के कारणले समस्या भएको हो वा किन भएन भन्ने कुरासमेत अवगत गराउन मन्त्री सिंहले निर्देशन गरेका हुन्।
अहिलेसम्ममा मन्त्रालयको विकास खर्च ७ प्रतिशत मात्र भएको छ। १५ लाखभन्दा तलका योजनाहरू कार्यान्वन नगर्न सरकार र प्रमुख प्रतिपक्ष दल बीच भएको सहमतिअनुसार काम गर्नसमेत मन्त्री सिंहले आग्रहसमेत गरेका छन्। परिणाम नआउने खालका योजनाहरू जथाभावी बाँडेपछि त्यसको कार्यन्वनमा प्रश्न चिन्ह खडा गरिएको थियो।
१० जिल्लाका खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, नेपाल विद्युत् प्राधिकरणका १० जिल्लाका प्रमुख र नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख र वन निर्देशनालय छलफलसमेत गरिएको छ।
विकास निर्माणका काम गर्दा बाधा अड्चन आएमा तुरुन्तै आफूलाई सम्पर्क गर्न मन्त्री सिंहले आग्रह गरे।
त्यस्तै, मन्त्री सिंहले सुर्खेतको वीरेन्द्रनगर १२ शिवनरमा विद्युतीकरण नआएका कारण समस्या देखिएको गुनासो मन्त्रालयमा आएपछि मन्त्री सिंहले नेपाल विद्युतीकरण आइतबार नै गर्न तुरुन्तै काम गर्न नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशलाई निर्देशन दिएका छन्।








