ठूलीभेरी बन्यो जीविका

रुकुम पश्चिम ः आठबीसकोट नगरपालिका–९ राडीज्युलास्थित बादी बस्तीका १८ वर्षीय मदन बादीको दैनिकी ठूलीभेरी नदी आउजाउ गर्नमै बित्छ । बेलुका गएर ठूली भेरीमा जाल र पासा हाल्छन् । बिहानै चिसो पानीमा पसेर जाल र पासा निकाल्छन् । आसपासका गाउँका अधिकांश युवा भारत र खाडी मुलुक गएका बेला उनी भने ठूलीभेरी नदीका कारण जीविकोपार्जन सहज भएपछि कतै जान मानेका छैनन् ।

वैशाखको अन्तिमसम्म जाल हानेर माछा मारेर जीविकोपार्जन गर्ने मदन जेठबाट ठूलीभेरीले बगाएर ल्याउने काठदाउरा समाउँछन् र त्यही बिक्री गरी परिवार पाल्छन् । उनले साउनदेखि असोजसम्म भने ठूलीभेरी नदीमै बालुवा निकाल्ने गरेका छन् । सानैमा बाआमा बितिसकेका मदनको बिहे भइसकेको छ । उनको दम्पती पालिने मुख्य स्रोत नै ठूलीभेरी नदी हो । जसले उनलाई बाहिर जानबाट रोकेको छ ।

उनी मात्र होइन बादी बस्तीका १९ घरपरिवार नै यसरी पालिन्छन् । सिजनअनुसार ठूलीभेरी नदीले नै उनीहरूलाई पालेको छ । जोखिमका साथ नदीमा पस्ने, काठदाउरा, बालुवा संकलन गर्ने र माछा मारेर त्यही बिक्रीबाट आएको पैसाले परिवार पाल्नुपर्ने बाध्यता सबै परिवारको छ । सरकारले किनिदिएको ७६ देखि ८३ वर्गमिटर क्षेत्रफलमा फैलिएको जग्गामा घर बनाइएको छ । त्यसैमा एउटा शौचालय पनि । बाँकी जग्गा र अरू आम्दानीको स्रोत नभएको बादी परिवारको ठूलो स्रोत भनेकै ठूलीभेरी नदी बनेको हो । ‘यो नदी नभएको भए हामी हाम्रै देशमा हुन्नथ्यौं होला,’ मदनले भने, ‘अरू उपाय नै नभएपछि यही कामका लागि भारत जानु पर्थ्यो ।’

नदीमा बगेर आउने काठपात, नदीले खोँचखोँचमा थुपार्ने बालुवा र नदीमा पौडने माछा जीवन जिउने मुख्य आधार बनेको स्थानीय कलिभान बादीले बताए । ‘पहिलाको जस्तो मादल र ककड खाने सुल्पा बिक्री हुँदैनन्,’ उनले भने, ‘नदीकै सहारामा हामी बाँचेका छौं ।’ बादी समुदायका बालबालिका नजिकको विद्यालयमा पढ्छन् ।

एक टुक्रो जग्गा नभएपछि नदीको भर पर्नुबाहेकको विकल्प आफूहरूसित नभएको निर्मला बादीले बताइन् । ‘माछा लागेपछि भात खान र केटाकेटीलाई खुवाउन पाइन्छ, माछा नै नमरेपछि त भोकै बस्नुपर्ने पुरानै बाध्यतामा छौं,’ उनले भनिन्, ‘जग्गा नहुँदा र आम्दानीका लागि अरू व्यवसाय नभएकै कारण ठूलो समस्या छ ।’ बादी बस्तीमा यो सिजनमा हरेकका हातमा नदीमा हान्ने पासा हुन्छन् । बिहानैदेखि केटाकेटी र वृद्धवृद्धासम्मले पासा बनाइरहेका हुन्छन् । बेलुका नदीमा राखिने पासामा निर्भर रहन्छ भोलिको खाना । पासामा माछा परेपछि त्यो परिवारले सजिलै खाना जुटाउन सक्छ । अन्यथा भोकै बस्नुपर्ने अवस्था पनि आउने डिलबहादुर बादीले बताए । ‘माछा मारेपछि बिक्रीको समस्या छैन,’ उनले भने, ‘माछाको मूल्य पनि राम्रै छ । तर पछिल्लो समय खास माछा मर्दैनन् ।

बादी अगुवा कपिल बादीले आसपासका गाउँका सबै युवा विदेशमा भए पनि आफूहरू ठूलीभेरी नदीकै कारण भारत पस्नु नपरेको बताए । ‘माछा नै नपाइने, बालुवा नभेटिने र दाउरा पनि भेरीमा बगेर नआउने भएपछि बस्ती नै रित्तो हुन्थ्यो,’ उनले भने, ‘अरू गाउँमा युवा नै भेटाउन मुस्किल छ, हाम्रा युवाहरू भने ठूलीभेरी नदी किनारमै रमाइरहेका छन् ।’ उनका अनुसार राडीका अधिकांश युवा मजदुरीका लागि भारतको सिमला गएका छन् ।





error: Content is protected !!