बर्सेनि हिउँमा फस्छन् कर्णालीवासी

सुर्खेत ः हिउँमा फसेका जुम्लाको तातोपानी गाउँपालिका–८ का स्थानीय उद्धार नभएपछि आफै घर फर्कन थालेका छन् । झन्डै २ साताअघि सेतक चिनी जडीबुटी टिप्न गएका ३४ जना आइतबारदेखि हिउँमा फसेका थिए । त्यसमध्ये मंगलबार साँझसम्म २२ जना फर्किएका छन् । १२ जना पाटनमै छन् ।

उनीहरू फसेको खबर पाएपछि कर्णाली प्रदेश सरकारले आइतबार दिउँसो उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर अत्यधिक हिमपातका कारण हेलिकोप्टर बस्न नसकेपछि चाउचाउ, दालमोठ र बिस्कुट झारेर हेलिकोप्टर फर्किएको थियो ।

तातोपानीस्थित ग्राग्रामा ४ परिवारसहित १८, खोटेसल्लामा ७ र एडीओडारमा ९ जना अलपत्र परेका थिए । जाजरकोट र जुम्लाको सिमानास्थित धर्मशालामा भने २ जना सुरक्षित रहेको जानकारी स्थानीय प्रशासनलाई दिइएको थियो । पाटनमा जानेहरू पूर्वतयारीका साथ बन्दोबस्तीका सामग्रीहरू (लत्ताकपडा र खाद्यान्न) लिएर जाने भएकाले खासै ठूलो समस्या नभए पनि हिमपातका कारण आउजाउ गर्न नपाउँदा खाद्यान्न अभाव र स्वास्थ्य समस्या हुने उद्धारमा गएका आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायाले बताए । ‘बाक्लो हिउँ परेकाले त्यस दिन हेलिकोप्टर बस्न सकेन,’ उनले भने, ‘केही फर्किएको जानकारी आएको छ, अरू पनि आफैं फर्किने तयारीमा होलान् ।’

उनीहरू फसेका पाटनहरू गाग्रा, एडिओडार र खोटीसल्लामा झन्डै ४ फिट हिउँ जमेको अनुमान रहेको जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । तर हिमपातमै फसेका २ जनाको घर फर्किने क्रममा मृत्यु भएको थियो । स्थानीय बर्सेनि सेतक चिनी खोज्न ती पाटनहरूमा जान्छन् । कर्णालीका सबै हिमाली र उच्च पहाडी जिल्लामा सेतक चिनी पाइन्छ । गाउँमा ८० देखि १ सय रुपैयाँ किलो पाइने यसको मूल्य सुर्खेत र नेपालगन्जमा २ सय ५० देखि ३ सय रुपैयाँसम्म छ । जसका कारण पनि स्थानीयहरू जोखिम मोलेर विभिन्न पाटनहरूमा सेतक चिनी खोज्न जान्छन् । मंसिरदेखि सेतक चिनीको सिजन सुरु हुने तातोपानी–४ हाकुका लक्ष्मण पाण्डेले बताए । उनका अनुसार जडीबुटी टिप्न गएकाहरू अस्थायी टहरा र ओडारमा बसी झन्डै २ महिना बसेर सेतक चिनी टिप्छन् ।

२ साताअघि रुकुमको पुथाउत्तरगंगा गाउँपालिकाको पेल्मामा ५ दिनदेखि हिउँमा फसेका १४ मजदुरलाई सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको थियो । उनीहरू घोरेटो बाटो निर्माणमा खटिएका बेला हिउँमा अलपत्र परेका थिए । जुम्लाकै तातोपानीस्थित ताम्तीमा गत वर्ष पनि पुस अन्तिम साता सेतक चिनी टिप्न गएका २० जना हिउँमा फसेका थिए । त्यसबेला प्रदेश सरकारले हेलिकोप्टर पठाएर उनीहरूको उद्धार गरेको थियो ।

गत वर्ष नै माघ दोस्रो साता जाजरकोटको कुशे गाउँपालिका–९ कुसेपाटनमा सेतक चिनी खोज्न गएका जुम्लाका ७ जना हिउँमा फसेका थिए । उनीहरूलाई उद्धार गर्न हेलिकोप्टर गए पनि अवतरण हुन नसक्दा उद्धार हुन सकेको थिएन । ‘पछि हिउँ बिलाएपछि उनीहरू एक सातापछि घर फर्किए,’ कुशे गाउँपालिका उपाध्यक्ष रामछायाकुमारी शाहीले भनिन्, ‘हिमपात हुने सिजनमै सेतक चिनी पाइन्छ, त्यसैले जीविकोपार्जनका लागि उनीहरू ज्यानको बाजी राखेर जडीबुटी टिप्न बाध्य छन् ।’ उनका अनुसार स्थानीय भाषामा ‘खिरौलो’ भनिने सेतक चिनी जंगलमा आलु खनेजस्तै गरी निकालिन्छ । गर्मीयाम सुरु भएपछि सेतक चिनी खोज्न जाँदा नपाइने डरले स्थानीयहरू हिमपातकै बेला खोज्न जाने गरेको उनले बताइन् । उनले कुशे र बारेकोट गाउँपालिकाका लेकाली पाटनमा सेतक चिनी पाइने बताइन् । अरू पाटनहरू सुरक्षित भए पनि कुशेपाटन र चाखुरेलेकमा बढी हिमपात हुने भएकाले बर्सेनि स्थानीयहरू फस्ने उनको भनाइ छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार ३ आर्थिक वर्षमा १ सय ४४ जना हिउँमा फसेका छन् । हिमपातपछि कठ्यांग्रिएर १९ जनाको ज्यान गएको छ । गत वर्ष हिमपातपछि कर्णालीका विभिन्न जिल्लामा ३९ जना अलपत्र परेका थिए । हुम्ला, मुगु र कालीकोटका उच्च हिमाली बस्तीका बासिन्दाले भने हिउँ पर्नुअघि नै गाउँ छोड्ने भएकाले हिउँमा फस्ने समस्या कम छ । सबैभन्दा बढी हुम्लाको तातोपानी, जाजरकोटको कुशे र चाखुरे पाटनमा हिउँमा फस्नेको संख्या धेरै रहेको प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐरले बताए । ‘जडीबुटीको लोभले बर्सेनि स्थानीयहरू उच्च लेकाली पाटनमा जाने भएकाले हिउँमा अलपत्र पर्छन्,’ उनले भने, ‘हामीले तत्काल उद्धार गर्न नसकेका ठाउँमा प्रदेश सरकारले हेलिकोप्टर पठाउने गरेको छ ।’ ६ वर्षअघि डोल्पाको जगदुल्ला गाउँपालिकास्थित टाङटुङ लेकमा यार्सा टिप्न गएकाहरू पनि हिउँ पहिरोमा परेका थिए । जसमा १६ जनाको मृत्यु भएको थियो । झन्डै २ साताान करिब ३ हजार स्थानीय हिउँमा फसेका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जडीबुटी टिप्ने अधिकांश ठाउँमा हिमपात हुने भएकाले स्थानीयहरू फस्ने गरेको बताए । उनका अनुसार जुम्लामा हिउँमा फसेकालाई फेरि हेलिकोप्टर पठाएर उद्धार गर्न खोजिए पनि उनीहरू ३ दिनपछि आफैं घर फर्कन थालेका छन् । ‘धेरै जना फर्किएको कुरा आएको छ,’ उनले भने, ‘बुधबारसम्म सबै जना घर फर्किसक्छन् ।’





error: Content is protected !!