दलहरू चुनावी तयारीमा

एमालेले सातै प्रदेशमा चुनावी तयारीका कार्यक्रम सार्वजनिक गरिसकेको छ, कांग्रेसले कार्यसम्पादन समितिको बैठकका लागि एजेन्डा तय गर्न पदाधिकारीहरूसँग परामर्श गरेको छ, माओवादी र एकीकृत समाजवादीलगायत दलहरूले बैठक बस्ने निधो गरेका छन्

सरकारले ३० वैशाखका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै प्रमुख राजनीतिक दलहरू त्यसको तयारीमा केन्द्रित हुन थालेका छन् । संविधान र स्थानीय निर्वाचनसम्बन्धी ऐन बाझिएको भन्दै संशोधन गर्नुपर्ने विषय उठेपछि केही समय अलमलमा परेको निर्वाचन मिति सोमबार घोषणा भएसँगै दलहरूले तयारी थालेका हुन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले मंगलबार नै सातै प्रदेशमा गर्ने गरी चुनावी तयारीका कार्यक्रम सार्वजनिक गरिसकेको छ । प्रमुख सत्तारुढ दल कांग्रेसले कार्यसम्पादन समितिको बैठकका लागि एजेन्डा तय गर्न मंगलबार पदाधिकारीहरूसँग परामर्श गरेको छ । माओवादी र एकीकृत समाजवादीलगायत दलहरूले बैठक बस्ने निधो गरेका छन् ।

२७ माघमा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन तयारी कांग्रेसको एजेन्डा बन्ने भएको छ । निर्वाचन घोषणा हुनुपूर्व नै तय भएको उक्त बैठकका लागि एजेन्डा तय गर्न मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले चुनावको एजेन्डा पनि थप गर्ने र त्यसका लागि पार्टी सभापति शेरबहादुर देउवासँग बुधबार छलफल गर्ने भएको छ ।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले २७ माघमा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा चुनावलाई एजेन्डा बनाउनेबारे पदाधिकारीबीच छलफल भएको बताए । ‘अहिले नै चुनावकै लागि भनेर कुनै छलफल र कार्यक्रम तय भएको छैन । २७ माघमा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा एजेन्डा बनाएर छलफल गर्नेबारे सभापतिसँग भेट गरेर छलफल गर्छौँ,’ सहमहामन्त्री पाण्डेले भने, ‘कार्यसम्पादन समिति बैठकमा छलफल गरेर अगाडि बढ्छौँ ।’

मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले मधेस प्रदेशलाई लक्षित गरेर विशेष अभियान थाल्ने विषयमा समेत छलफल गरेको छ । त्यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा विस्तृत छलफल हुने अर्का एक पदाधिकारीले जानकारी दिए । यसअघि कांग्रेसले विज्ञप्तिमा म्याद समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थाहरू, पार्टीको अधिवेशन हुन बाँकी रहेका जिल्लाका विषयमा छलफल गर्ने एजेन्डा बैठकका लागि तय गरेको थियो ।

निर्वाचनको मिति घोषणा भएपछि सबभन्दा बढी मतदाता भएको र निर्वाचन क्षेत्रसमेत रहेको हुनाले मधेस प्रदेशकेन्द्रित अभियान चलाउने विषयमा कांग्रेस पदाधिकारी बैठकमा छलफल भएको छ । पहिलेदेखि नै पार्टीभित्र यस विषयमा छलफल गरिरहेको कांग्रेसले निर्वाचनको मिति घोषणा भएसँगै यसलाई अगाडि बढाउने सम्भावना छ । यसपछि देशव्यापी अभियान लिएर जाने गरी कार्यक्रम बनाउने कांग्रेसको तयारी छ ।

त्यस्तै, माओवादीले २७ र २९ माघका लागि यसअघि नै केन्द्रीय समिति बैठक बोलाएको छ । यसअघि बैठकमा पार्टी पदाधिकारी चयन, अमेरिकी सहयोग परियोजना एमसिसी, संसद् बैठक सुचारु र स्थानीय तह निर्वाचनमाथि छलफल गर्ने एजेन्डा तय गरेको थियो । सोमबार सत्तागठबन्धनलगायत सरोकारवाला पक्षसँगको छलफलमा सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै त्यसको तयारीबारे समेत छलफल हुने माओवादीका नेता हरिबोल गजुरेलले नयाँ पत्रिकासँग बताए । ‘यसअघि तय भएका एजेन्डाहरूमाथि स्वाभाविक हिसाबले छलफल हुने नै भयो,’ नेता गजुरेलले भने, ‘त्यससँगै सोमबार स्थानीय तहको निर्वाचन घोषणा भएको अवस्थामा पार्टीले त्यसका लागि गर्नुपर्ने तयारीलगायत विषयमा पनि छलफल हुन्छ । तर, अहिलेसम्म एजेन्डाका रूपमा निर्वाचनको तयारी भनेर राखेका छैनौँ ।’ उनले निर्वाचन घोषणा भएको विषयमा सबै केन्द्रीय सदस्य जानकार रहेको र बैठकका लागि केही समय बाँकी रहेकाले एजेन्डा थप हुन सक्ने बताए ।

माओवादीको हालै सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको पदाधिकारी चयन नभइसकेको अवस्थामा त्यसलाई टुंग्याउने मुख्य एजेन्डासहित केन्द्रीय समिति बैठक बस्ने पूर्वनिर्धारित कार्ययोजना थियो । यसबीचमा एमसिसी, संसद् अवरोध, स्थानीय निर्वाचनलगायत विषय थपिएपछि माओवादीले केन्द्रीय समितिबाट ती विषयमा पनि छलफल गर्ने भएको हो । निर्वाचन घोषणा भइसकेको अवस्थामा यसको तयारीको विषय पनि मुख्य हुने नेताहरूको भनाइ छ ।

त्यस्तै, एकीकृत समाजवादीले पनि निर्वाचनका विषयमा पार्टीको औपचारिक धारणा र मातहतका पार्टी कमिटीले गर्ने गतिविधिका विषयमा बुधबार निर्णय सार्वजनिक गर्ने भएको छ । एकीकृत समाजवादीको मंगलबार बसेको सचिवालय बैठकले चुनाव घोषणापछिको परिस्थितिको समीक्षा गर्दै दुवै चुनौतीलाई एकैसाथ सञ्चालन गर्ने विषयमा छलफल अगाडि बढाएको हो ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले मंगलबार बसेको सचिवालयको बैठकले निर्वाचनबारे सामान्य छलफल गरेको र बुधबार थप निर्णय गरेर सार्वजनिक गर्ने बताए । ‘निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा हाम्रो पार्टीको सचिवालय बैठक केही समयका लागि बसेको थियो । हामीले बुधबारसम्म थप गृहकार्य गर्ने र पदाधिकारीको बैठक बसेर यस विषयमा आफ्नो धारणा र पार्टीका कमिटीलाई गर्ने निर्देशनका विषयमा केही निर्णय सार्वजनिक गर्छौँ,’ खतिवडाले भने । कोभिडलगायत विभिन्न कारणले अहिले नै केन्द्रीय समिति नै बस्न सक्ने अवस्था नभएको भन्दै पदाधिकारी र सचिवालय पनि भएको हुँदा निर्णय गरेर चुनावलगायत सम्पूर्ण विषयमा पार्टी सक्रियतापूर्वक लाग्ने बताए ।

एमाले विभाजनबाट बनेको नवगठित एकीकृत समाजवादीले संगठन विस्तार र चुनावी प्रचार अभियान समानान्तर रूपमा अगाडि बढाउने भएको छ । देशका सबै जिल्लाका स्थानीय तहमा संगठन विस्तार नहुँदै सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि दुवै चुनौतीलाई समानान्तर रूपमा प्राथमिकतामा राखेर एकीकृत समाजवादीले चुनावी प्रचार अभियान अगाडि बढाउने गरी गृहकार्य सुरु गरेको हो ।

एकीकृत समाजवादीले एमाले र माओवादी दुवैतिर रहेका असन्तुष्ट नेता–कार्यकर्ता तानेर संगठन विस्तार गर्ने कोसिस गरिरहेको छ । यसबीचमा दुवै पार्टीका असन्तुष्टहरू एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । ‘हामी संगठन निर्माण र स्थानीय तहको चुनावी प्रचारको दुवै कामलाई सँगसँगै जोडेर अगाडि बढ्ने तयारीमा छौँ,’ खतिवडाले भने, ‘अब छिटोभन्दा छिटो स्थानीय तहका वडा कमिटीहरूको गठन र विस्तार गर्छौँ र त्यही क्रममा चुनावी प्रचार पनि गर्छौँ ।’ एकीकृत समाजवादीले स्थानीय चुनावमा सत्तारुढ दलहरूसँग गठबन्धनलाई जोड दिएर चुनाव लड्ने तयारी गरेको छ ।

अर्को सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)ले भने निर्वाचनको तयारीका लागि बैठक बस्नेबारे अनौपचारिक छलफल थालेको छ । जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य नवराज सुवेदीका अनुसार छिटै बैठक बस्ने तयारी भइरहेको छ । ‘हामी सात सय ५३ वटै निर्वाचन तहमा चुनावका लागि तयारी अवस्थामा छौँ । हामीले संगठन सुदृढीकरण र जनपरिचालन अभियान अहिले पनि सञ्चालन गरिरहेका छौँ,’ सुवेदीले भने, ‘त्यसलाई निर्वाचनसम्म नै लैजान्छौँ । छिटै कार्यकारिणी समिति वा केन्द्रीय समिति बैठक बसेर यसबारे निर्णय गर्छौँ ।’ उनले यसबाहेक अहिलेसम्म बैठक बसेर निर्वाचनबारे निर्णय गरिनसकेको बताए ।

त्यस्तै, अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०को पनि चुनाव घोषणापछिको परिस्थिति र तयारीलाई लिएर छिटै बैठक बस्ने भएको छ । लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णका अनुसार निर्वाचनको तयारीस्वरूप पार्टीले संगठन परिचालनलाई अगाडि बढाइसकेको छ । ‘भर्खरै चुनाव घोषणा भएको छ, पार्टीको बैठक बसिसकेको छैन । छिटै पार्टीको बैठक राखेर यसलाई अगाडि बढाउँछौँ,’ कर्णले भने ।

एमालेले सातवटै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने
प्रमुख प्रतिपक्षी दल एमालेले मंगलबार नै प्रदेश कमिटीहरूलाई चुनावको तयारीमा लाग्न पत्रमार्फत निर्देशन दिएको छ । एमाले महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै निर्वाचनको आवश्यक तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

तयारीमै केन्द्रित रहेर एमाले केन्द्रीय कार्यालयले सातै प्रदेशमा पार्टी नेता–कार्यकर्ताका लागि १ देखि १७ फागुनसम्म प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ । दुईदिने कार्यक्रमको उद्घाटन २८ माघमा अध्यक्ष केपी ओलीले गर्नेछन् ।

पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारीसमेतका कारण सरकारले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेको एमालेले निष्कर्ष निकालेको छ । निर्वाचनको माहोललाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको परिपत्रमा उल्लेख छ ।

उद्घाटन कार्यक्रममा पार्टी केन्द्रीय पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरू सहभागी हुने जनाइएको छ ।

सहभागीलाई दशौँ राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा, सबल, गतिशील र अनुशासित पार्टी निर्माण, राजनीतिक, संगठनात्मक र शैलीगत विषयहरूमा प्रशिक्षण दिने गरी तय गरिएको महासचिव पोखरेलले जनाएका छन् । त्यस्तै, ‘स्थानीय तहमा हाम्रा पाँच वर्ष ः उपलब्धि र अनुभवहरू, स्थानीय तह निर्वाचनको तयारी ः राजनीतिक, कानुनी र व्यावहारिक पक्षहरू पनि विषयमा राखिएको छ ।

प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज र पदाधिकारीका साथै स्कुल तथा स्थानीय तह विभाग प्रमुख, प्रदेशअन्तर्गतका सबै जिल्ला कमिटी इन्चार्ज, सहइन्चार्ज, पदाधिकारी र सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुख, पार्टीबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख, पार्टीका तर्फबाट विजयी पालिका प्रमुख वा वा उपप्रमुख तथा पार्टी कमिटीका पालिका अध्यक्ष सहभागी हुनेछन् ।

त्यसका लागि एमालेले मितिसमेत तोकेको छ । जसअनुसार प्रदेश १ को प्रशिक्षण विराटनगरमा १ र २ फागुनमा, ३ र ४ फागुनमा जनकपुरमा मधेस प्रदेशको प्रशिक्षण एमालेले तय गरेको छ । त्यस्तै, बागमती प्रदेशको प्रशिक्षण ६ र ७ फागुनमा काठमाडौंमा, ८ र ९ फागुनमा पोखरामा गण्डकी प्रदेशको प्रशिक्षण राखिएको छ । त्यस्तै, ११ र १२ फागुनमा बुटवलमा लुम्बिनी प्रदेश, १४ र १५ फागुनमा सुर्खेतमा कर्णाली प्रदेश तथा १६ र १७ फागुनमा धनगढीमा सुदूरपश्चिम प्रदेशको प्रशिक्षण राखिएको एमालेले जनाएको छ ।





error: Content is protected !!