देउवा सरकारको ६ महिना ः १७७ किमी सडक कालोपत्रे देखि तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ६ महिने कार्यकालमा १७७ किलोमिटर सडक कालोपत्रे भएको बताएका छन् ।

सरकार बनेको ६ महिना पुगेपछि शुक्रबार देशबासीलाई टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो सरकार बनेपछि भएका कामहरुको विवरण प्रस्तुत गरेका हुन् । उनले भनेका छन्, ‘संघको कार्यक्षेत्र अन्तरगत मुलुकभर १७७ किमी सडक कालोपत्रे भएको र २३ सडक पुल निर्माण भइ सञ्चालनमा आएका छन् ।’ ८२ झोलुङ्गे पुल निर्माण भएको र संघीय संसद भवन निर्माण सन्तोषजनक रुपमा भइरहेको उनले बताए ।
तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् ।

पाँच दलीय सत्तागठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको भन्दा पहिले प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव गरेका छन् । प्रचण्डको प्रस्तावका सम्बन्धमा उनले कुनै प्रतिक्रिया दिएनन् । तर, एक वर्षभित्र तीन वटै तहको निर्वाचन गर्नुपर्ने उल्लेख गर्दै उनले पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गरेका हुन् ।

दलीय सहमतिमा जोड

संसदमा जारी रहेको अवरोधतर्फ संकेत गर्दै प्रधानमन्त्री देउवाले संसदमा रहेका सबै राजनीतिक दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

संविधान कार्यान्वयन, विस्तृत सम्झौताको बाँकी कार्य पूरा गर्ने र नागरिकताको समस्यालाई सरकारले उच्च प्राथमिकता राखेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले संसदमा विचाराधीन सबै विषयमा सबै दलसँगको संवाद गरेर निष्कर्षमा पुगिने बताएका छन् ।

भैरहवा र पोखरा विमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुगेको समेत उनले बताए । यस वर्षभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने काम भइरहेको समेत प्रधानमन्त्री देउवाले जानकारी दिएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!