लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित, त्रिविको परीक्षा पनि स्थगित

काठमाडौं ः कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ । आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएको लोक सेवा आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।

देशभर कोरोना संक्रमणको दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरुमै पनि संक्रमण पुष्टि भएपछि आयोग परीक्षा स्थगित गर्नुपर्ने दबावमा थियो ।

त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा भने यथावत रहने छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘भोलि र पर्सिको इन्ट्रान्स परीक्षा हुन्छ । त्यसपछिका परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय गरेका छौं ।’ त्रिविले शुक्रबार बीएस्सी र शनिबार बीबीए र बीसीए कार्यक्रमको प्रवेश परीक्षा हुनेछ । तीन वर्षे एलएलबीको तेस्रो वर्षको माघ १० गतेदेखि र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी गरेको थियो ।





error: Content is protected !!