यी हुन् माओवादी केन्द्रीय समितिमा अटाएका भाग्यमानी जोडी

काठमाडौँ ः – नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनमा १२ जोडी श्रीमान श्रीमति केन्द्रीय समितिमा निर्वाचित भएका छन् । पूर्वमन्त्री वर्षमान पुनका श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा अटाएका छन् । पुन खुल्लातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचत हुँदा पूर्व सभामुख समेत रहेकी ओनसरी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी छन् ।
यस्तै पूर्वमन्त्री शक्ति बस्नेत र उनकी श्रीमती सत्या पहाडी पनि पार्टीको केन्द्रीय सदस्य भएका छन् । बस्नेत खुल्लातर्फबाट केन्द्रीय समितिमा आउँदा उनको श्रीमती सत्या पहाडी खस आर्य महिलाबाट केन्द्रीय सदस्य भएकी हुन् ।
त्यस्तै देवेन्द्र पौडेल र उनकी पत्नी बलावती शर्मा पनि केन्द्रीय सदस्य भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पौडेल खुल्लाबाट केन्द्रीय सदस्य हुँदा बलावती खसआर्य महिलाबाट केन्द्रीय सदस्य भएकी छन् ।
नेता लीलामणि पोखरेल र उनकी पत्नी भूमि सुधारमन्त्रीसमेत रहेकी शशी श्रेष्ठ दुवै केन्द्रीय सदस्य बनेका छन् । पोखरेल खुला तर्फबाट र श्रेष्ठ जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन् ।
कुलप्रसाद केसी र उनकी पत्नी ताराकुमारी घर्ती पनि केन्द्रीय सदस्य बनेका छन् । केसी खुल्लाबाट केन्द्रीय सदस्य बने भने तारा जनजाति महिलाबाट केन्द्रीय सदस्य भइन् ।
त्यस्तै कृष्णध्वज खड्का र उनकी पत्नी रेखा शर्मा पनि एकै घरबाट केन्द्रीय समिति सदस्य बने। खड्का र शर्मा दुवै जना खुल्लातर्फबाट केन्द्रीय सदस्य भएका हुन् ।
खुला तर्फबाट केन्द्रीय सदस्य बनेका हितमान शाक्यका पतिपत्नी नै केन्द्रीय समितिमा छन् । शाक्य खुल्लाबाट केन्द्रीय सदस्य बन्दा उनकी श्रीमती अमृता थापा जनजाति महिलाबाट पहिलो नम्बरमा केन्द्रीय सदस्य बनेकी हुन् ।
त्यसैगरी गणेशमान पुनको श्रीमान् श्रीमती नै केन्द्रीय समितिमा समेटिएका छन् । गणेशमान खुल्लाबाट केन्द्रीय सदस्य हुँदा उनकी श्रीमती कमला रोका जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन् ।
नेता देव गुरुङ र उनकी श्रीमती यशोदा गुरुङ सुवेदी पनि केन्द्रीय सदस्य बनेका छन् । त्यसैगरी दिलीप प्रजापति र उनकी पत्नी प्रतिमा श्रेष्ठ पनि केन्द्रीय सदस्यमा अटाएका छन् ।
साथै अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष देवेन्द्र पराजुली र उनकी पत्नी कल्पना धमला पनि केन्द्रीय सदस्य बनेका छन् । पराजुली खसआर्यका तर्फबाट र धमला खसआर्य महिलाबाट केन्द्रीय सदस्य भएका हुन् । यस्तै सूर्य सुवेदी र ज्ञानु बस्नेत दम्पती पनि केन्द्रीय सदस्य बनेका छन् ।
माओवादीको आइतबार सकिएको महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो । बाँकी ६६ जना केन्द्रीय सदस्य अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मनोनित गर्नेछन् ।



