श्रीमतीको मृत्युपछि श्रीमान् पक्राउ

रुकुम पश्चिम ः रुकुम बाँफिकोट गाउँपालिका–९ का २५ वर्षीय दिपक खनाललाई पत्नीको हत्या गरेको आशंकामा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
श्रीमतीसित आफ्नै कोठामा रहेका दिपक श्रीमती २६ वर्षीया कमला खनालको मृत्युपछि पक्राउ परेका हुन् । शुक्रबार राति १० बजे कमला कोठामै सलले झुण्डिएको भनेर सबैतिर सूचन पुगेको थियो ।
श्रीमान तथा घरका अरु सदस्यले कमलाको झुन्डिएर मृत्यु भएको भनेर छरछिमेकी र प्रहरीलाई खबर गरेका थिए । बेलुकीको खाना खाएर दिपक र कमला सँगै कोठामा गएका थिए ।
श्रीमान कोठामै भएका बेला कमलाको मृत्यु भएको भन्दै यो घटना आत्महत्या नभई हत्या हुनसक्ने आशंका गरिएको छ । सोही आशंकाका आधारमा दिपक पक्राउ परेका हुन् । कमलाका माइती पक्षले भने दिपकले हत्या गरेको आरोप लगाउँदैआएका छन् । उनीहरूले दिपकविरद्ध किटानी जाहेरीसमेत दिएका छन् ।
दिपकलाई आइतबार प्रहरीले रुकुम जिल्ला अदालतले १० दिनको म्याद थप गरेको छ । मान्छे झुन्डिएको खबरपछि प्रहरी घटना स्थल पुगेको थियो । घटना शंकास्पद लागेपछि दिपकलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताए ।
घटनास्थल पुगेको प्रहरीले शनिबार पोष्टमार्टमका लागि कमलाको शव र दिपकलाई सँगै जिल्ला सदरमुकाम ल्याएको थियो । घटना अनुसन्धानको क्रममा रहेकाले सबै कुरा भन्न नमिल्ने प्रहरी निरीक्षक शर्माले बताए ।
‘कोठामा गइसकेपछि श्रीमान श्रीमतीबीच वादविवाद भएको देखिन्छ, अरु कुरा अनुसन्धानका क्रममा खुल्दै जाला अहिल्यै यही भन्ने अवस्था छैन,’ प्रहरी निरीक्षक शर्माले भने । उनीहरूको ४ महिनाको छोरा छ ।



