कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल, गठबन्धनमा असन्तुष्टि बढ्यो

यज्ञ खत्री
सुर्खेत ः कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको दुई महिना पुग्यो । तर उनी नेतृत्वको मन्त्रिपरिषद् भने अझै अधुरै छ ।
मुख्यमन्त्री शाहीको प्राथमिकता सरकारका महत्वपूर्ण काम भन्दा पार्टीको महाधिवेशन, उदघाटन र भेटघाट पर्न थालेपछि गठबन्धनभित्रैबाट उनको आलोचना हुन थालेको छ ।
माओवादी केन्द्र संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीको आलोचना गर्दै भने, ‘मन्त्रिपरिषद बिस्तार गर्न ढिलाइ हुनुमा मुख्यमन्त्री नै जिम्मेवार हुनुहुन्छ, गठबन्धन दलहरूबीच कुनै समन्वय र छलफल नगरी उहाँ एकलौटी तरिकाले हिँडिराख्नु भएको छ ।’
सरकारको नेतृत्व पाइसकेपछि बढी जवाफदेही बन्नुपर्नेमा कांग्रेसले त्यसो नगरेको नेता शाहीको आरोप छ । मुख्यमन्त्रीकै उदासिनताले गठबन्धनमा समस्या आइरहेको शाही बताउँछन् । सरकारले सत्ता गठबन्धनको मर्म र भावना बुझ्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको उनले बताए ।
कांग्रेसभित्रै पनि असन्तुष्टि
गठबन्धन दलका नेताहरुबाट मात्र नभइ कांग्रेसभित्रैबाट पनि मुख्यमन्त्रीको आलोचना भएको छ । मुख्यमन्त्री शाहीले पहल नगर्दा कांग्रेसबाटै पनि मन्त्री बन्नेहरुको टुंगो लाग्न नसकेको सो पार्टीका सचेतक हिमबहादुर शाहीले बताए । ‘जीवन जीले अहिलेसम्म दलको बैठक नै बसाल्नु भएको छैन, हामीबीच पनि कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुनै पनि छलफल चलेको छैन,’ कांग्रेस सचेतक शाही भन्छन् ।
कांग्रेसका अर्का एक सांसदले पनि सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै आलोचना गरे । ‘हामीसँग समय थोरै छ, जनताका अपेक्षा धेरै छन् । तर, सोचेअनुरूप काम हुन सकेन,’ कांग्रेसका ती सांसदले भने, ‘कांग्रेस सरकारमा छ तर गर्व गर्नलायक केही काम भएको छैन ।’ उनका अनुसार मुख्यमन्त्री शाहीले गठबन्धनका नेताहरुसँग मात्र होइन, आफ्नै पार्टीका नेताहरुसँग पनि सरकारका कामकारबाही प्रभावकारी बनाउने र मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गरेका छैनन् ।
कांग्रेस संसदीय दलका नेता शाही दुई महिनाअघि मुख्यमन्त्री नियुक्त भएका थिए । कर्णालीमा तीन दलीय गठबन्धन (नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी० को सरकार छ । कुन पार्टीले कति र कुन मन्त्रालय लिने भन्नेमा दलहरुबीच विवाद छ । जसले गर्दा दुई महिना दिनसम्म पनि सरकारले पूर्णता पाउन सकेको छैन ।
यो अवधिमा दुई पटक सरकार विस्तार गरेर शाहीले दुई जना मन्त्री नियुक्त गरेका छन् । बाँकी पाँच मन्त्रालय लामो समयदेखि मन्त्रीविहीन छन् ।
शिलान्यास र उदघाटनमै व्यस्त
वडाध्यक्षले गर्ने सानातिना कार्यक्रममा मुख्यमन्त्री नै सहभागी हुने, शिलान्यास, उदघाटन र सामान्य भेटघाटमै समय धेरै खर्च गर्ने भएकाले सरकारले नयाँ ठोस कार्यक्रम ल्याउन नसकेको आरोप उनीमाथि लाग्ने गरेको छ ।
हुन पनि पछिल्लो समयमा मुख्यमन्त्री शाहीलाई विभिन्न संघसंस्थाका कार्यक्रम र भेटघाटमा सहभागी हुन भ्याइनभ्याई छ । कांग्रेसको राष्ट्रिय महाधिवेशन सकाएर पुस ७ गते कर्णाली फर्किएका मुख्यमन्त्री शाही भोलिपल्टै कार्यालय पुगे पनि पूरा दिन भेटघाटमै बिताए । निवासमै पनि उनी प्रायः भेटघाटमा व्यस्त देखिन्छन् । भेटघाट सकिएपछि मात्रै कार्यालय पुग्ने उनी मन्त्री, सचिव, कर्मचारी र अन्य बाहिरी व्यक्तिसँगै फेरि अर्को भेटघाटमा जुट्छन् ।
पछिलो साता उनी ‘क्रिसमस डे’का अवसरमा वीरेन्द्रनगरमा आयोजित शान्ति र्यालीमा सहभागी हुँदै कार्यक्रमस्थल पुगेका थिए । त्यही दिन ऋतिक फाउन्डेशनले आयोजना गरेको कर्णाली उत्सवको छलफलमा सहभागी भए ।
त्यसको भोलिपल्ट वीरेन्द्रनगरमै प्रथम प्रदेशस्तरीय तेक्वान्दो प्रतियेगिता उदघाटन गरे । सोही दिन मुख्यमन्त्री शाहीले प्रदेशको पहिलो गौरवको योजना प्रदेश रंगशाला र खेलकुद भवनको अनुगमन पनि गरे ।










