नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह सुरु (तस्बिरहरू)

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह सुरु भएको छ । राजधानीको कमलादीमा सो पार्टीको महाधिवेशन उद्घाटन समारोह सुरु भएको हो । माओवादीले यसअघि राष्ट्रिय सम्मेलन भने पनि अन्तिम समयमा आएर सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको हो ।

महाधिवेशनले केन्द्रीय कमिटीसहित पदाधिकारी र नयाँ नेतृत्व चयन गर्नेछ । माओवादीको पदाधिकारी १५ सदस्य रहने प्रस्ताव गरिएको छ । जसमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष तथा ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेछन् । यस्तै केन्द्रीय सदस्य २९९ सदस्यीय रहने भनिए पनि केही सङ्ख्या बढाउन आइतबार बसेको केन्द्रीय कमिटी कमिटी बैठकले प्रस्ताव गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

नेपालको संविधानमा नै उल्लेख गरिएको समाजवाद उन्मुख भन्ने प्रावधानलाई समेट्ने गरी नयाँ वैचारिक राजनीतिक कार्यदिशा र योजना समेत तय गर्ने माओवादीले स्पष्ट पारेको छ । महाधिवेशनमा देशभरका सातवटै प्रदेश र तीनवटा गैर भौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण सहभागी भएका छन् ।

५ दिनसम्म चल्ने महाधिवेशनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका लिखित दस्ताबेज पेस हुनेछन् । ती प्रतिवेदनमाथि विभिन्न २० वटा समूह बनाएर छलफल गर्ने कार्यक्रम तयार भएको छ । त्यसमा आवश्यकताअनुसार केही परिवर्तन पनि हुन सक्नेछ । माओवादीले प्रज्ञा प्रतिष्ठानका सबै हल र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सामूहिक छलफलको व्यवस्था मिलाएको छ ।

उद्घाटनसत्र सकिए लगत्तै राजनीतिक प्रतिवेदन, विधानमाथि छलफल सुरु हुनेछ । त्यस्तै नेतृत्व चयनको कार्यक्रमसमेत रहेको छ । आठौँ महाधिवेशन हलमा आयोजकले नयाँ नेतृत्वका लागि केन्द्रीय समिति को प्यानल पेस गर्ने छ । सोही प्यानलमध्येबाट केन्द्रीय पदाधिकारी छनोट गरिनेछ । यदि सर्वसम्मत नभएमा निर्वाचन प्रक्रिया अपनाइनेछ ।

सम्मेलनमा कूल एक हजार ६३१ को प्रतिनिधित्व रहेको छ । नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनीत १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहेको माओवादीको भनाइ छ । माओवादीले यसभन्दा अगाडि पाँच प्रतिशत प्रतिनिधि मात्रै मनोनयन गर्ने बताएको थियो । त्यसलाई शुक्रबारको बैठकले १० प्रतिशत बनाएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!