सभा हल देखि तटबन्ध माग गर्दै मन्त्रीलाई ज्ञापन पत्र

जाजरकोट / सदरमुकाम खलंगामा १ हजार सिट क्षमताको सभाहल र सार्वजनिक सभास्थल निर्माण गर्न माग गरिएको छ । जिल्ला स्तरिय सभाहल तथा सार्वजनिक सभास्थल नभएका कारण ठुला सभा तथा कार्यक्रमहरु गर्न समस्या पर्ने गरेकोले आवश्यक संरचना निर्माणका लागि शहरी विकास मन्त्रालयमा माग गरिएको हो ।
नेकपा (एकीकृत समाजवादी) जाजरकोटका अध्यक्ष एवम् केन्द्रीय सदस्य कृष्ण बहादुर विसीको नेतृत्वमा शहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई जिल्लाको विकासको विकासका सवालमा विभिन्न माग राखेर ज्ञापन पत्र बुझाइएको नेकपा (एकिकृत समाजवादी) जाजरकोटका सचिव गंगाबहादुर शाहीले जानकारी दिनुभयो । सचिव शाहीका अनुसार जिल्ला सदरमुकाममा शहरी विकासको मापदण्ड अनुसारको व्यवस्थित बसपार्क निर्माण, बजार क्षेत्र भित्रका सडकहरुको ढल निकास सहित स्तरोन्नती गर्नका लागि समेत आवश्यक बजेटको माग गरिएको छ ।
त्यस्तै भेरी नगरपालिका वडा नं. ७ स्याउली बजारलाई एकीकृत बजार व्यवस्थापन कार्यक्रम मार्फत विकास गर्न माग गरिएको छ । त्यसका लागि मध्यपहाडी सडकदेखि बजार जोड्ने बजार जोड्ने सडक, बजार संरक्षणका लागि तट्बन्धन तथा बृक्षारोपन, कृषि हाटबजार स्टल, २ सय ५० सिट क्षमताको सभाहल तथा बसपार्क निर्माण गर्नु पर्ने माग राखिएको छ ।
जिल्लाको प्रदेश सभा (ख) अन्तरगत छेडागाड नगरपालिकाको प्रस्तावित प्रशासनिक केन्द्र चखिलामा अत्याधुनिक सुविधा सहितको सभाहल, पश्चिम जाजरकोटको व्यापारीक केन्द्र थलह बजार संरक्षणका लागि तट्बन्धन तथा बृक्षारोपन, कृषि हाटबजार स्टल तथा बसपार्क निर्माण गरी उक्त बजारलाई एकीकृत बजार व्यवस्थापन कार्यक्रममा जोड्नु पर्ने माग गरिएको छ ।
पार्टी अध्यक्ष विसी सहित केन्द्रीय सदस्य एवम् जिल्ला सहईचार्ज रिता रावल र जिल्ला कमिटी सचिव शाही लगाएतका नेताहरु संग ज्ञापन पत्र बुझ्दै मन्त्री झाक्रीले माग पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन । केही समय अघि पार्टीको जिल्ला भेलाका लागि जाजरकोट पुग्दा सभाहलको अभाव आफैंले भोगेको भन्दै मन्त्री झाक्रीले आफ्नो कार्यकालमा जिल्लावासीलाई अनुभुती हुनेगरी कार्यक्रम तथा बजेटको व्यवस्थापन गर्ने आश्वासन दिएको अध्यक्ष विसीले जानकारी दिनुभयो ।
जाजरकोटमा सार्वजनिक कार्यक्रम गर्ने सभास्थल नहुँदा विद्यार्थीहरुको पढाई प्रभावित गरेर विद्यालयको प्राङ्गण प्रयोग गर्ने गरिएको छ भने ठुलो क्षमताको सभाहल नहुँदा जिल्लामा हुने कार्यक्रमहरु प्रभावित हुने गरेका छन ।