ठेकेदारले काम नगर्दा विद्युतबाट सञ्चालन हुँने सबै काम ठप्प

हेमन्त केसी
जाजरकोट  /  तोकिएको समयमा विद्युतको लाइन विस्तार नहुँदा विद्युतबाट हुने सबै कामहरु बाधा पुग्दै आएको छ । संघीय तथा प्रदेश सरकारले पठाएका बिभिन्न विद्युतबाट हुने विकासे काममा बाधा पुग्दै आएको हो । ११ केभी प्रशारण लाइनको पोल गाडेको तीन वर्ष सम्मा काम नहुँदा विद्युतबाट हुने कामहरुमा बाधा पुग्दै आएको हो ।

खलंगा –बाहुनथाना, पाँचकाटिया हुँदै कुशे गाउँपालिकाको बिभिन्न ठाउँमा लाइन विस्तारका लागि ३ वर्ष देखि काम नहुँदा विद्युतबाट हुने काममा बाधा पुगेको हो । त्यस्तै खलंगा हुँदै नलगाड नगरपालिका र बारेकोट गाउँपालिका जोड्ने मुख्य लाइन नलगाडको कालीमटी भन्दा अगाडी बढ्न नसकेपछि अर्को समस्या थपिएको छ । लाइन विस्तारका लागि कामको जिम्मेवारी लिएका ठेकेदारले समयमा काम नगर्दा विकास निर्माणमा समेत बाधा पुगेको हो ।

विद्युत नहुँदा रु २० लाखमा स्थापना गर्न लागेको प्रि फयाब प्राविधिको कोल्ड स्टोर स्थापनामा चुनौती थपिएको छ । कृषि विकास कार्यालय , जाजरकोटले फलफुललाइ सुरक्षित बनाउका लागि सहकारी संस्थाबाट प्रस्ताव गत भदौमा मागेको थियो । कार्यालयले मागेको मापदण्डमा फेज लाइन वा विद्युत सञ्चालन हुने क्षेत्र भनि उल्लेख गरेपछि पहिलो पटकको प्रस्ताव अस्वीकृत भएका थिए । फेरी कार्यालयले सोही मापदण्ड राखेर पुस ७ गते दोस्रो पटक सूचना प्रकाशित गरेको छ । दोस्रो पटकको पनि फलफुल उत्पादन हुने क्षेत्रमा विद्युत नपुगेकोले असफल हुने हो कि भन्ने चिन्ता बढेको कुशे गाउँपालिकाका अगुवा कृषक शक्तीबहादुर ओलीले बताए ।

विद्युत नभएको ठाउँमा दिन सकिदैन , कृषि विकास कार्यालयका प्रमुख रविन धितालले भन्नुभयो ,‘ पहिला पनि प्रस्ताव माग गरिएको रहेछ , तर मापदण्ड नपुगेर काम हुन सकेन । फेरी पनि प्रस्ताव माग गरेका छौँ , मापदण्ड पुगे काम हुन्छ । नत्र बजेट फ्रिता जान्छ ।’

त्यस्तै अघिल्लो वर्ष दुध डेरी स्थापना गर्ने भन्दै पन्चासे सहकारी संस्था नलगाड नगरपालिकाको कालीमटीले १६ लाख रुपैयाँमा खरिद गरेको चिलिङ भ्याड मेसिन विद्युतकै अभावमा सञ्चालन गर्न सकेको छैन । पशु अस्पताल तथा पशु सेवा कार्यालयको अनुदानमा उक्त मेसिन सहकारीले खरिद गरिएको थियो । दुध उत्पादनका लागि राम्रो क्षेत्र मानिएको नलगाडको लहँ , डाडागाउँ लाइ केन्द्रमा राखेर उक्त मेसिन जडान गरिएपनि काम विहिन भएको छ । सहकारीले आफ्नै लगानीमा जेनेरेटर खरिद गर्न समस्य भएको भन्दै अब केही दिनमा जसरी पनि उक्त मेसिन सञ्चालन गर्नका लागि पहल सुरु भएको प्रवन्धक किशोर रावलले बताए ।

विकासे कार्यालयले विद्युतबाट सञ्चालन गर्नका लागि बिभिन्न प्राविधि अनुदानमा दिने गरेपनि विद्युत नहुँदा सबै कार्यक्रमहरु असफल हुँदै आएका छन् । यि त उदाहरण मात्र भए , जिल्ला भरी स्थानीय तहले समेत बिभिन्न प्राविधिसँग जोडिएका कृषक मैत्री कार्यक्रम सञ्चालन गर्न खोज्दा मापदण्ड नपुगेको भन्दै बजेट फिर्ता हुने गरेको गुनासो गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले निर्माण व्यवसायीलाइ कारबाही गर्नुको ठाउँमा संरक्षण गर्दै जाँदा जाजरकोटमा अहिले सम्मा सबै ठाउँमा भइसक्ने विद्युतीकरण रोकिएको छ । ठेक्का दिदा कार्यक्रतालाइ फाइदा हुने गरि जिम्मेवारी दिदा जिल्लाको विद्युतीकरणमा बाधा पुगेको सर्बसाधाणहरुले बताएका छन् । शिवालय , जुनिचाँदे , नलगाड र बारेकोटमा लाइन विस्तारको ठेक्का लागेको चार वर्ष पछि बल्ल काम गर्ने भन्दै दुइ दिन अघि निर्माण व्यवसायी तथा नेपाली कांग्रेस जाजरकोटका उपाध्यक्ष तेजविक्रम शाह र निर्माण व्यवसायी शान्तबहादुर बस्नेतले सामग्री बुझेर लिएको जाजरकोट वितरण केन्द्रका प्रमुख अविशेक राजले बताए ।

ठेकेदारले केही सामग्री तीन वर्ष अघि बुझेर लिएपनि जथाभावी फाँक्दा पहिरो तथा खोलाले बगाइसकेको छ । लाइन विस्तारका लागि सबै सामग्री आइसकेकोले अब बहानाबाजी बनाएर काम रोक्ने अधिकार कसैलाइ नभएको प्रमुख अविशेकले बताए । त्यस्तै जिल्लाका बडावन , समाइला , चौखामा निर्माण गर्ने भनिएका सव स्टेशनको काम समेत धिमा गतीमा भएकाले जिल्लाको विद्युतीकरणमा समस्या देखिएको हो ।