बेहुलीको शृंगार यसरी गरौँ

स्वाभाविकै हो, विवाहका दिन महिलाहरू अरू वेलाभन्दा आकर्षक देखिन चाहन्छन् । त्यस दिन हरेक दुलहीले सकेसम्म राम्री देखिने प्रयास गर्छन् । र त दुलहीको शृंगार विशिष्ट हुन्छ । विवाहको मेकअपमा विशेषगरी राता सौन्दर्य प्रसाधन प्रयोग गरिन्छ । यद्यपि, व्यक्तिको छालाको रंगअनुसार शृंगार गर्नुपर्ने हुन्छ । अनुहारको आकार, रंग एवं कदलाई केन्द्रित गरेर शृंगार गर्नुपर्छ । अनुहारमा गरिने शृंगारमा लिपिस्टिक, आइस्याडो र गाजलले विशेष भूमिका खेल्छ ।
अनुहार
सबै दुलहीलाई उस्तै किसिमको शृंगार सुहाउँछ भन्ने छैन । अनुहारको बनोटअनुसार फरक–फरक तरिकाले शृंगार गर्नुपर्छ । स्किन टोनअनुसार शृंगारका साधन पनि फरक–फरक हुन्छन् । गोरो स्किनका लागि रोजमेरी रंग उपयुक्त हुन्छ भने कालो वर्णका लागि प्राकृतिक रंग राम्रो हुन्छ । अनुहारको फेयरनेस हेरी पेनकेक वा फाउन्डेसन छनोट गर्नुपर्छ । स्किन टोनअनुसार बेस मिलेन भने शृंगार नराम्रो देखिन्छ ।
आँखा
आँखाको सेप हेरी गाजल पनि फरक–फरक तरिकाले लगाउनुपर्छ । ठूला आँखालाई सानो बनाउन, सानो आँखालाई ठूलो देखाउन तथा चिन्की आँखाको आकार मिलाउन गाजलले महत्वपूर्ण भूमिका खेल्छ । आइस्याडो पनि सोहीअनुरूप लगाउनुपर्छ । अनुहारको नमिलेको भागलाई मेकअपले मिलाउन सकिन्छ । केशको भोल्युम तथा निधारको आकार हेरी जुरो बनाउनुपर्छ । अनुहार सानो छ भने ठूलो जुरो सुहाउँदैन ।

दुलहीको अनुहारको छालाको प्रकृति हेरेर वाटरप्रुफ कस्मेटिक्स छनोट गर्नुपर्छ । त्यस दिनको मेकअप गाढा एवं नेचुरल हुनुपर्छ । पहिले अनुहारबाटै शृंगार सुरु गरेर केशलाई पोनिटेल गरी बाँध्नुपर्छ । त्यसपछि फेसवास वा कलेजिन मिल्कले एक मिनेट मसाज गरेर फेसियल फोमले पुछिदिनुपर्छ ।
नाक
यदि नाक छोटो वा डिल सानो भए नाकको दुवैपट्टि डार्क कलरको कन्सिलरले सेप दिनुपर्छ । त्यसपछि छालाको कलर हेरेर फाउन्डेसनमा थोरै क्रिम मिसाई अनुहार, घाँटी कान, नाक, ढाड र हातमा लगाउन सकिन्छ । यी सबैको कलर एकै किसिमको देखिनुपर्छ । त्यसमाथि लुज पाउडरको प्रयोग र आई मेकअप गर्नुपर्छ । आई मेकअप गर्दा सबैभन्दा पहिले आँखाको भागमा बेसकोट लगाउनुपर्छ । आइबलमा रेड वा ब्राउन कलरको स्याडो हाफ लगाएर बाँकी आइबलमा साडीको कलरअनुसार स्याडो लगाउनुपर्छ । अनि वाटरपु्रफ आइलाइनरले माथिबाट थोरै कोस तानेर मोटो गरी लगाउनुपर्छ । आँखाको तल्लो भागमा नबग्ने र आँखा सानो छ भने आँखाको साइडमा मोटो गरी गाजल लगाउनुपर्छ । त्यसपछि परेलामा वाटरप्रुफ मस्कारा प्रयोग गरी परेलालाई आइकलले च्यापिदिनुपर्छ ।
लिपस्टिकको चयन
लिपिस्टिक छान्दा रातो वा मरुन कलर राम्रो हुन्छ । ओठ पातलो भए जुन कलरको लिपिस्टिक छ त्यसभन्दा एक स्टेप डार्क कलरको आउटलाइन तान्नुपर्छ । यदि ओठ ठूलो भए इनलाइन तानेर लिपिस्टिक लगाइदिनुपर्छ ।
टीका
अनुहार लाम्चो भए गोलो टीका र अनुहार गोलो भए लाम्चो टीका लगाउनुपर्छ । टीकामा मोती वा स्टोन जडेको भए अनुहार अझै उज्यालो देखिन्छ । अनुहारको शृंगार सकिएपछि चिउँडोको भागबाट कानको भागसम्म माथिसम्म तानेर रोज लगाउनुपर्छ । रोज निधार, नाक, चिउँडो, घाँटीमा पनि लगाउनुपर्छ । अन्तिममा अनुहार चम्काउन गोल्डेन कलरको सिमरको धुलो ब्रसको सहायताले अनुहार एवं घाँटीसम्म लगाउनुपर्छ ।

जहिले पनि अनुहारको शृंगार गरेपछि केशशृंगार गर्नुपर्छ । दुलहीको हाइटअनुसार केशको ब्राइडल जुरो बनाउनुपर्छ । दुलही अग्ली भए अगाडि बफ नउठाई पछाडिको भागमा फ्लावर जुरो बनाउनुपर्छ । अगाडिको भागमा बफ उठाएर जुरो बनाई बफ उठाउँदा होचा दुलही पनि अग्ला देखिन्छन् । त्यसपछि रेड वा गोल्डेन कलरको साइड फ्लावर र मोती पिनले डेकोरेसन गरिदिनुपर्छ । अन्तिममा गोल्डेन र रेड कलरको ग्लेटर्स लगाइदिनुपर्छ । मेकअप पूरा भएपछि दुलहीलाई साडी एवं गरगहना लगाइदिनुपर्छ । त्यसपछि घुम्टी ओढाएर लाइट पर्फ्युम छर्कनुपर्छ । अनि मात्रै विवाहको शृंगारले पूर्णता पाउँछ ।





error: Content is protected !!