फ्ल्यास ब्याक ः १३ औँ महाधिवेशनमा देउवा, पौडेल र सिटौलाको यस्तो थियो शक्ति सन्तुलन

काठमाडौँ ः शुक्रबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशन उद्घाटन भएसँगै शनिबारबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री लगायत नयाँ कार्यसमितिका लागि नेताहरूले धमाधम उम्मेदवारी दर्ता गराइरहेका छन् ।

आगामी नेतृत्वका लागि संस्थापन पक्ष र इतर पक्षमा विभाजित भएर नेताहरू चुनावी मैदानमा उत्रिएका छन् । संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दिने तयारी गरेका छन् भने इतरपक्षबाट प्रकाशमान सिंह, शेखर कोइराला र विमलेन्द्र निधिले आकांक्षा देखाएका छन् ।

चार हजार सात सय ४३ महाधिवेशन प्रतिनिधि रहेको काँग्रेसमा सभापतिका आकाङ्क्षी नै धेरै भएकाले पहिलो चरणमै सभापति चयन हुने सम्भावना कम हुँदै गएको छ । २०७२ साल फागुनमा सम्पन्न १३ औँ महाधिवेशनमा पनि काँग्रेस सभापतिमा तीन जना उम्मेदवार थिए । शेरबहादुर देउवा, रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाबीच पहिलो चरणमा प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा कसैको पनि ५० प्रतिशत मत नकटेपछि दोस्रो चरणमा देउवा र पौडेलबीच पुनः चुनाव भएको थियो ।

पहिलो चरणमा कसले कति मत पाएका थिए ?

१३ औँ महाधिवेशनमा पहिलो चरणको मतदानमा ३ हजार १४८ मत खसेको थियो । यो निर्वाचनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १ हजार ५६४ मत ल्याउँदा रामचन्द्र पौडेलले १ हजार १५४ मत र कृष्णप्रसाद सिटौलाले ३२४ मत पाएका थिए । यो पटक १०६ मत बदर भएको थियो ।

सभापति पदमा तीन जना उम्मेदवार भए पनि ५० प्रतिशतभन्दा बढी मत कसैले पनि ल्याउन नसक्दा शीर्ष दुईमा रहेका देउवा र पौडेलबीच दोस्रो चरणमा प्रतिस्पर्धा भयो ।

पहिलो राउण्ड

देउवा–१५६४

पौडेल–११५४

सिटौला–३२४

खसेको मत–३१४८

दोस्रो चरणमा यस्तो आयो परिणाम

देउवा र पौडेलबीच दोस्रो चरणमा भएको चुनावमा ३ हजार १ सय २० मत खसेको थियो । जसमा देउवाले १ हजार ८२२ मत ल्याउँदै जित हासिल गरे । दोस्रो चरणमा पौडेलले पनि केही मत बढाउँदै १ हजार २९६ मत पाउन सफल भए । दोस्रो चरणको निर्वाचनमा पौडेललाई ५ सय २६ मतान्तरले पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका हुन् ।





error: Content is protected !!