२५ किलो चामललाई ६ हजार

डोल्पा ः माथिल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शे फोक्सुन्डो गाउँपालिकाका अधिकांश बस्तीमा उवा मात्र फल्छ, त्यो पनि वर्षमा एक बाली । केही गाउँमा गहुँ हुन्छ, तीन महिना धान्दैन । बर्सेनि खाद्यान्न अभाव भइरहेको उपल्लो डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल नपठाउँदा जिल्लावासी बोराको २५ किलो चामल ६ हजार रुपैयाँसम्म किन्न बाध्य छन् ।

कम्पनीले चामल नपुर्‍याउँदा माथिल्लो डोल्पाबासी लामो समयदेखि महँगीको मारमा छन् । तीन गाउँपालिकाका खाद्य डिपोमा चीनको बाटो भएर खाद्यान्न ढुवानी हुँदै आएको थियो । तर अघिल्लो चैतदेखि चीनले नाका बन्द गरेको छ । खाद्यान्न अभाव भएपछि सरकारले गत वर्ष दुनैबाट केही चामल पुर्‍याएको थियो । यो वर्ष हिमपात सुरु भइसक्यो, चामल पुगेको छैन ।

‘हिमपातको बेला उवाको सातु खाने हो, तर त्यसले धेरै दिन धान्दैन,’ डोल्पोबुद्धको धो गाउँका पेमा छेवाङले भने, ‘अनुदानको चामल नआउँदा बजारको महँगोमा खानुको विकल्प छैन ।’ दुनैमा २२ सयदेखि २५ सय रुपैयाँमा पाइने एक बोरा चामल गाउँमा कम्तीमा ६ हजार रुपैयाँमा किन्नुपर्ने उनले गुनासो गरे ।

डोल्पोबुद्ध गाउँपालिकाका प्रवक्ता क्याल्पो थापा भोटेले ढुवानी महँगो हुँदा स्थानीय महँगीको मारमा परेको बताए । ‘घोडा, खच्चडको ढुवानी भाडामात्रै प्रतिकिलो ८० रुपैयाँसम्म पर्छ, त्यसमा व्यापारीले थप नाफा जोड्छन्,’ उनले भने, ‘त्यसैले दुनैमा ८८ देखि एक सय रुपैयाँ पर्ने चामल प्रतिकिलो २ सय ४० रुपैयाँसम्ममा खरिद गर्नुपर्ने बाध्यता छ ।’ खाद्यको चामल ३ वर्षयता एकपटक मात्रै प्राप्त भएको उनले बताए । हिमपात सुरु भएकाले हेलिकोप्टरमार्फत चामल ढुवानीको व्यवस्था गरिदिन संघीय सरकारलाई आग्रह गरिएको उनको भनाइ छ ।

डोल्पामा यो वर्ष ढुवानी अनुदानको चामलको कोटा २२ हजार क्विन्टल तोकिएको छ । उपल्लो डोल्पाका ३ स्थानीय तहमा ५/५ सयका दरले १५ सय क्विन्टल कोटा निर्धारण गरिएको खाद्य व्यवस्था कम्पनीका शाखा प्रमुख कमलराज पाण्डेले बताए । अहिलेसम्म सदरमुकाम दुनैमा एक हजार क्विन्टल मात्र पुगेको छ । उपल्लो डोल्पाका लागि यो वर्ष १ सय ८० क्विन्टल चामल ढुवानी भएको उनले जानकारी दिए । ‘शे फोक्सुन्डोको साल्दाङमा उक्त चामल वितरण भयो,’ उनले भने ।





error: Content is protected !!