दसैंमा के गर्दैछन् शीर्ष नेता

काठमाडौँ –  दसैं नेपालीहरूले विशेष रुपले मनाउँछन् । सर्वसाधारणले पारिवारिक जमघट गर्ने, टीका लगाउने, विभिन्न परिकारहरू बनाएर खानपिन गर्ने, आफन्तबीच प्रेम र सद्भाव साटासाट गरेर दसैं मनाउँछन् । दसैंमा सरकारले सार्वजनिक बिदा दिन्छ । त्यही कारण पनि कतिपयले दसैं बिदालाई घुमफिर गर्ने अवसरका रुपमा लिन्छन् भने कतिपयले लेखन र अध्ययनको ।

दसैंमा सहरमा अस्थायी बसोबास गर्नेहरू गाउँ गइसकेका छन् । संघीय राजधानी काठमाडौंसहित ठूला सहर सुनसान बन्दैछन् । दसैंमा राजनीतिक गतिविधि पनि कम हुन्छन् । दिनहुँजसो राजनीतिक कार्यक्रम, भेटघाट र राज्य सञ्चालनका काममा व्यस्त रहने नेताहरूले पनि पारिवारिक भेटघाट, टीका र आशीर्वाद ग्रहण गरेर दसैं मनाउँदैछन् । यस वर्ष सबैजसो नेताहरूले काठमाडौंमै दसैं मनाउने भएका छन् ।

शेरबहादुर देउवा

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौंमै दसैं मनाउने भएका छन् । उनको पुर्ख्यौली थलो र स्थायी निवास भने डडेलधुरा हो । उनका बुवाआमा छैनन् । देउवाले दसैंमा टीका लगाउने र अरुलाई लगाइदिने कार्यक्रम भने छन् । ‘दसैंमा खास त्यस्तो कार्यक्रम छैन, यतै हुन्छ । पारिवारिक भेटघाट र टीका लगाउने हुन्छ,’ स्वकीय सचिव भानु देउवाले भने, ‘अरु खासै कार्यक्रम बनिसकेको छैन ।’ उनले धेरै भीडभाड हुन सक्ने भएकाले प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाइदिने वा नलगाइदिने भन्नेबारे निर्क्योल भइनसकेको बताए ।

केपी ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष केपी ओलीले भक्तपुरको बालकोटस्थित निवासमै दसैं मनाउनेछन् । तर, पारिवारिक शोकका कारण उनले यो वर्ष टीका लगाउदैनन् । नवमीका दिन भने झापा जाने कार्यक्रम छ । ‘झापामा नेता कार्यकर्ताहरूको सहभागितामा जलपान समारोह छ, नवमीका दिन विहान गएर बेलुका फर्किने कार्यक्रम छ,’ ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंले भने, ‘अरु दिन बालकोटमै रहनुहुन्छ । फेरि कोभिडका कारण धेरै भीडभाड गर्ने कुरा पनि भएन ।’

पुष्पकमल दाहाल

पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले पनि ललितपुरको खुमलटारस्थित निवासमै दसैं मनाउने भएका छन् । उनले पारिवारिक भेटघाट गरेर मनाउने स्वकीय सचिब जोखमबहादुर महराले जानकारी दिए । युद्धकालमा माओवादीले दसैं टीका नलगाएको भए पनि केही वर्षयता टीका लगाउन थालेका छन् । उनले नातेदार र निकट कार्यकर्तालाई टीका लगाइदिने छन् ।

माधवकुमार नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले पनि काठमाडौंमै दसैं मनाउँदैछन् । उनले काकीका हातबाट टीका लगाउने उनका सहयागी मोहन गौतमले जानकारी दिए । ‘पारिवािरक भेटघाट हुन्छ । उहाँले काकीबाट टीका थाप्नुहुन्छ, यसबाहेक खास कार्यक्रम छैन,’ उनले भने । नेपालले पनि नेता कार्यकर्ता र आफन्तजनलाई टीका लगाइदिनेछन् ।

बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पनि यस वर्षको दसैं काठमाडौंमै मनाउनेछन् । उनले बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका थाप्नेछन् भने नेता कार्यकर्ताहरूलाई पनि टीका लगाइदिनेछन् । ‘कोरोनाको जोखिम छदैछ । घरैमा बुबाबाट टीका थाप्नुहुन्छ । बचेको समय लेखपढ, अध्ययन र कार्यकर्ता भेटघाटमै बिताउनुहुन्छ,’ प्रेस सल्लाहकार विश्वदीप पाण्डेले भने ।

रामचन्द्र पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल दसैं अवधिमा काठमाडौंको बोहराटारस्थित निवासमै रहनेछन् । यो वर्ष शोक परेका कारण उनले टीका लगाउँदैनन् । उनका माइला भाई गोविन्दराज पौडेलको गत ३० चैतमा निधन भएको थियो । ‘उहाँ दसैं अवधिभर काठमाडौंमै रहनुहुन्छ । तर, यसपालि दसैं छैन । पार्टीको महाधिवेशन नजिकिएकाले त्यही विषयमा नेता कार्यकर्ताहरूसँग छलफल गर्ने, फोन गर्ने यस्तै गरेर बिताउनुहुन्छ,’ पौडेलका प्रेस सल्लाहकार खिला कार्कीले भने ।

कोइराला परिवार पनि शोकमा

कोइराला परिवारलाई पनि शोक परेका कारण नेताहरूले टीका भने लगाउने छैनन् । कोरोनाका कारण निरञ्जन कोइरालाको मृत्यु भएका कारण यो वर्ष कोइराला परिवारले पनि दसैंमा टीका नलगाउने भएको हो । उनी शेखर काइरालाका सहोदर दाई हुन् । कांग्रेसको आसन्न महाधिवेशनलाई लिएर कोइराला परिवारको दसैं भेटघाटलाई महत्वका साथ लिइएको थियो । तर, दसैंमा पनि नेतात्रय शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाको जमघट नहुने भएको छ । दसैंअघि नै शेखर विराटनगर गइसकेका छन् । दसैंअवधिमा शशांक काठमाडौंमै रहनेछन् । ‘टीका छैन । पारिवारिक जमघट र भेटघाटको कार्यक्रममात्रै हो,’ शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले भने । आसन्न महाधिवेशनमा शशांक र शेखर दुवै जना सभापतिका आकांक्षी छन् । एकल उम्मेदवार चयनका सन्दर्भमा कोइराला परिवारको दसैं जमघट महत्वपूर्ण हुनसक्ने अनुमान निकट नेताहरू बताउँछन् ।

प्रकाशमान सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौंस्थित चाक्सीबारीमै दसैं मनाउने कार्यक्रम छ । उनले विजया दशमीका दिन घरमा पूजाआजापछि वसन्तपुरमा कुमारीको हातबाट टीका ग्रहण गर्नेछन् भने दाजु पीएल सिंहबाट टीका ग्रहण गर्नेछन् । त्यसपछि निवासमै नेता कार्यकर्ता र आफन्तहरूलाई टीका लगाइदिनेछन् । ‘पारिवारिक जमघट हुन्छ । २–३ दिनसम्म टीका लगाउनुहुन्छ,’ सहयोगी युपी लामिछानेले भने ।





error: Content is protected !!