दुर्गमको पीडा ः सेना ,प्रहरी र स्वास्थ्यकर्मीकै भरमा रक्तदान

हेमन्त केसी
जाजरकोट ,  ब्लड बैंक नहुँदा कर्णालीका दुर्गम जिल्लामा अधिकांश सुत्केरी महिलाको ज्यान चिकित्सक, सेना र प्रहरीले रगत दिएर बचाउने गरेका छन् । ब्लड बैंक नहुँदा विरामीको जीवन तत्काल बचाउनका लागि रक्तदानसमेत गर्दै आएका छन् ।
गत गत भदौ १० गते रक्तअल्पता भएर स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा जीवनमरणको दोसाँधमा छटपटाइरहेकी छेडागाड नगरपलिका–११ झाप्रा औलाकाटियाकी २२ वर्षीया लक्ष्मी चदाराको स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा कार्यरत डा भूपेन्द्रप्रकाश मल्ल एक पिन्ट रगत दिएपछि लक्ष्मीको ज्यान बचेको थियो ।

मल्लले योसहित दुईपटक रगत दिएर सुत्केरीको ज्यान बचाएका छन् । लक्ष्मीका आफन्तले रगत जताततै खोजे पनि नपाएपछि अन्तिममा चिकित्सक आफैँले रगत दिएर ज्यान बचाउनुपरेको थियो । त्यस्तै स्वास्थ्य सेवा कार्यालयमा कार्यरत नेप्लिजा पुनले पनि अर्की सुत्केरीलाई रगत दिएर ज्यान बचाएको बताइन । नेप्लिजाजस्तै जाजरकोट स्वास्थ्य सेवा कार्यालयमा दर्जनौँ सुत्केरीको स्वास्थ्यकर्मी, नेपाली सेना र प्रहरीले रगत दिएर ज्यान बचाएका छन् ।

रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाका नन्दराम खड्काले बाबु मोतीरामका लागि रगत चढाउन बुधबार हारगुहार गर्नुप¥यो । ‘ओ’ पोजिटिभ रगतका लागि उनले धेरै व्यक्तिसित सम्पर्क गर्नुप¥यो । खोजेको झन्डै २४ घण्टापछि मात्र उनले बाबुलाई रगतदान गर्ने व्यक्ति भेटे ।

जिल्ला अस्पतालमै सुत्केरी हुन आएकी सिस्ने गाउँपालिका–८ की कमला महतका लागि रगत खोज्न उनका श्रीमान् सुवास करिब ७ घण्टा भौंतारिनुप¥यो । उनीहरू दुवैलाई नेपाली सेनाका जवानहरूले रगत दिएका हुन । जिल्लामा ब्लड बैंक नहुँदा बिरामी र उनीहरूका आफन्तले लामो समयदेखि सास्ती भोग्नुपरेको छ । हरेक दिनजसो जिल्ला अस्पतालमा ब्लड खोज्नेहरूको दौडधुप भइरहन्छ । जिल्लामा ब्लड बैंक स्थापनाका लागि पटकपटक प्रयास गरिए पनि सफल भएको छैन ।

 

५ वर्षअघि रेडक्रस सोसाइटीले ब्लड बैंक बनाउने तयारी पनि गरेको थियो तर त्यो पूर्ण कार्यान्वयनमा जान सकेन । रेडक्रसले कोठाको व्यवस्थापन गरी केही सामग्रीसमेत जोडेको थियो । तर त्यो सामग्रीले पर्याप्त भएन । रगत अभावमा रहेका गम्भीर बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुको विकल्प नभएको अस्पतालका महिला तथा स्त्रीरोग विशेषज्ञ डा. केहलविक्रम जीसीले बताए । ‘हरेक अप्रेसनमा ब्लडको पूर्वतयारी गर्नुपर्ने हुन्छ, तर त्यो सम्भव छैन,’ उनले भने, ‘कहिलेकाहीं अप्रेसन गर्दागर्दै आफैंले ब्लड दिनुपर्ने बाध्यता छ ।’

जिल्ला अस्पतालमा नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्यकर्मी र अरू सर्वसाधारणबाट रगतको आपूर्ति भइरहेको छ । रक्तदातासमेत बिरामीले खोज्नुपर्ने बाध्यता भएको त्रिवेणीका कमल खड्काले बताए । ‘उपचारका लागि अस्पताल पुग्यो, रगत चाहियो भने अर्को तनाव व्यहोर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यसको अन्त्यका लागि ब्लड बैंक स्थापनाको विकल्प छैन ।’
विशेषगरी गर्भवतीको शल्यक्रिया गरेर सुत्केरी गराउनुपर्दा बढी रगत खोजिन्छ । अहिले जिल्लाका सबै अस्पताल तथा स्वास्थ्य संस्थाले ग्रुप मिल्ने व्यक्तिहरूको खोजी गरेरै रगतको आपूर्ति गर्ने गरेका छन ।

मिसन अस्पताल चौरजहारीका प्रशासक दिलबहादुर गिरीका अनुसार ८० भन्दा बढी स्वास्यकमर््ीले रगत दिएर बिरामी बचाएका छन् । बिरामीलाई अस्पतालका कर्मचारी तथा सुरक्षा निकायका व्यक्तिले रगतदान गरेर बिरामीको ज्यान बचाउँनु पर्ने बाध्यता हप्तै पिच्छे हुँदै आएको छ ।

त्यस्तै नेपाली सेना र प्रहरीले समेत रगत अत्यधिक मात्रामा दिने गरेको उनले बताए । त्यस्तै दुर्गम जिल्ला डोल्पामा समेत पछिल्लो समयमा शल्यक्रिया सेवा शुरु भएको छ । शल्यक्रिया शुरु भएसँगै रगतको अभाव हुँदा चिकित्सकले दिने गरेको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख अमरसिंह शाहीले जानकारी दिए । घरमै असुरक्षित सुत्केरी भएर सालनाल अड्किएपछि स्वास्थ्य सेवा कार्यालय डोल्पा दुनैमा ल्याइएकी ठूलीभेरी नगरपालिका–२ की २५ वर्षीया कमला रोकायलाई स्वास्थ्यकर्मी, शिक्षक तथा स्थानीयवासीले रगत दिएर ज्यान बचाएका छन् । सोमबार राति सुत्करी भएकी रोकायको साल अड्किएपछि मङ्गलबार दुनैस्थित स्वास्थ्य सेवा कार्यालयमा पु¥याएको थियो ।

अत्यधिक रक्तश्राव भइ अचेत अवस्थामा पुगेकी रोकायलाई ड्युटीमा खटिएका डा रमेश रोका, स्थानीय धनलक्ष्मी रोकाय, शिक्षक जयकृष्ण हमाल, ट्रेकिङ गाइड नोर्बु लामा र सुत्केरीका श्रीमान् भूपेन्द्र रोकायले रक्तदान गरी ज्यान बचाएको प्रमुख शाहीले जानकारी दिए ।

त्यस्तै गत मङ्सिर २१ मा ठूलीभेरी नगरपालिका–११ की तीला कार्कीलाई स्वास्थ्य सेवा कार्यालयमा शल्यक्रिया गर्दा रगत अभाव भएपछि नर्स दिलकुमारी बुढा, पुष्पा ओली रोकाय र ल्याब टेक्निसिएन प्रेमप्रकाश बुढाले रगत दिएर ज्यान बचाउनुभएको थियो । वर्षेनी यसरी ब्लड बैंक नभएको कर्णालीका अधिकांश जिल्लामा स्वास्थ्यकर्मी, सेना र प्रहरीले रक्तदान गरेर ज्यान बचाउने गरेको पाइएको छ ।

जाजरकोटमा ब्लड बैंक स्थापना गर्ने भनिएको रकम समेत गायब बनाएको छ । सो रकम को सँग छ भन्ने सम्मा थाहा हुन सकेको छैन ।




सम्बन्धित समाचार


error: Content is protected !!